जन सरोकार

गोकर्णेश्वर र कागेश्वरीका अपाङ्गता भएकालाई राहत मुखले ठीक्क, कामले दिक्क

– पूर्णप्रसाद मिश्र

काठमाडौंको पूर्वी क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तिले जीवन धान्न अप्ठ्यो परेको गुनासो गरेका छन् ।  कोभिड—१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा लकडाउनका कारण समस्यामा परेकाहरुलाई निर्वाहका लागि राहत दिने क्रम धुमधामसंग चलिरहेको सामाजिक सञ्जाल र समाचारहरुमा आइरहे पनि अवस्था भने त्यसको विपरीत छ ।

यस्तै समस्यामा परेका छन् काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नं २, ४, ५, ६ र ७ एवं कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ५ मा रहेका अपाङ्गता भएका व्यक्तिहरु । गोकर्णेश्वर नगरपालिकाको वडा नं २ मा अपाङ्ग सेवा सङ्घ–आशा केन्द्र, वडा नं ४ मा अपाङ्ग पुनःस्थापना केन्द्र छ भने वडा नं ६ मा नेपाल अपाङ्ग सङघले सञ्चालन गरेको खगेन्द्र नवजीवन केन्द्र रहेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ५ स्थित थली ओरालोमा पनि नेपाल अपाङ्ग सङ्घ छ । सो सस्थाले अपाङ्गता भएका ३५ जना बालबालिकालाई संरक्षण दिइएको छ । यी संस्थामा आवासीय रुपमा पनि अपाङ्गता भएकालाई राखिएको छ । यी संस्थाले स्वरोजगार लगायत कार्यक्रम समेत सञ्चालन गर्ने भएकाले पनि यस क्षेत्रमा धेरै अपाङ्गता भएकाको बसोवास रहेको हो ।

अपाङ्ग सेवा सङ्घ–आशा केन्दका अध्यक्ष तिलककुमार श्रेष्ठ संस्थाले आवासीय रुपमा राखेका अपाङ्गता भएका व्यक्तिलाई समस्या नभएपनि भाडामा कोठा लिएर बस्नेका लागि समस्या रहेको जानकारी दिनुभयो । अपाङ्गता भए पनि केही आयआर्जन गरी खानेका लागि बाहिर निस्कन नपाउँदा अप्ठ्यारो हुने भएकाले यस्ताका लागि स्थानीय सरकारले प्राथमिकतामा राहत दिनुपर्ने उहाँको भनाई छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ६ नारायणटारमा बसोवास गर्नुहुने दृष्टिविहीन दिवस विष्ट बन्दाबन्दीको १७ औँ दिनसम्म पनि नगरपालिकाबाट राहत पाउन नसकिएको गुनासो गर्नुहुन्छ । “नगर प्रमुखलाई भन्यो भने वडा अध्यक्षलाई भन्नुस् र वडा अध्यक्षलाई भन्यो भने नगर प्रमुखलाई भन्नुस् भन्ने गर्नुभएको छ, हामीले राहत भने पाउन सकेका छैनौँ”– उहाँले भन्नुभयो ।

नगरपालिकाले घरमा राहत पुयाएका छौँ, खाद्यान्नको अभाव भई किनेर खान चाहनेका लागि पनि घर घरमै ढुवानीको व्यवस्था गरिएको छ भनी प्रचारप्रसार गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको अपाङ्गता भएकाको भोगाइ छ । तीनै तहका सरकारले सञ्चारमाध्यममा सबै सेवा उपलब्ध गराएका छौँ भनी प्रचार गर्ने तर व्यवहारमा जनताले केही नपाउने अवस्था आएको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थलीमा बसोवास गर्दै आउनुभएकी सावित्री बस्नेतको गुनासो छ । “मुखले ठिक्क, कामले दिक्कको अवस्था तीनै तहका सरकारबाट हामीले भोगेका छौँ”–उहाँले भन्नुभयो ।

कागेश्वरी मनोहरा नगरपालिका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष राजाराम पुडासैनी राहत वितरणमा सुत्केरी, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, मिर्गौला र मुटुको रोग भएकालाई प्राथमिकतामा राखिएको बताउनुहुन्छ । अपाङ्गता भएकालाई आवासीय रुपमा राख्ने संस्थालाई पनि सहयोग दिने वचन दिएको उहाँले जानकारी दिनुभयो ।

सरकारले अपाङ्गता भएकालाई चार वर्गमा विभाजन गरेको छ । पूर्णरुपमा अपाङ्गता भएकालाई ‘क’ वर्गमा राखिएको छ । ‘क’ वर्गमा राखिएकालाई सामाजिक सुरक्षा स्वरुप मासिक भत्ताको समेत व्यवस्था गरिएको छ । आंशिक रुपमा अपाङ्गता भएकालाई ‘ख’ वर्गमा राखी मासिक रुपमा आधा भत्ता दिइन्छ ।

‘ग’ र ‘घ’ वर्गकाको भने सामान्य अपाङ्गता मात्र हुने भएकाले भत्ता दिइँदैन । कागेश्वरी नगरपालिकामा ‘क’ वर्गका २०० र ‘ख’ वर्गका ६० जना रहेको नगरपालिकाले जनाएको छ ।

दृष्टिविहीनलाई खानेपानीको समस्या

बन्दाबन्दीका कारण खानेपानी समेत पाउन नसकिएको दृष्टिविहीन विष्टको गुनासो छ । “आँखा देखिने भए मूल खोज्दै गएर खानेपानी ल्याइन्थ्यो, एक हातले लट्ठी समातेर कसरी पानीको मूल खोज्दै हिँड्नू, वडा कार्यालय जान लाग्दा समेत बाटामा प्रहरीले रोक्ने गरेको छ”–बन्दाबन्दीको पीडा सुनाउँदै उहाँले भन्नुभयो ।

गोकर्णेश्वर नगरपालिका वडा नं।–६ का अध्यक्ष रमेश अर्यालय राहत आएपछि पहिलो प्राथमिकता नै अपाङ्गता भएका व्यक्तिलाई दिई राहतको शुरुमै १४ बोरा चामल खगेन्द्र नवजीवन केन्द्रमा झारिएको बताउनुहुन्छ । अपाङ्गता भएकालाई अन्यत्रबाट केही हुन सकेन भने आफूले व्यक्तिगत रुपमा भएपनि राहत दिने उहाँको प्रतिबद्धता छ ।

वडा र नगरपालिकामै खानेपानीको समस्या रहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पटकपटक पानीको व्यवस्था गर्न भनेपनि खोल्ने मानिसको अभाव भएर पाउन नसकिएको वडा अध्यक्ष अर्यालले बताउनुभयो । वडामा छ हजार परिवारका करिब ३० हजार मानिस बसोवास गर्ने भएकाले पानीको समस्या समाधान गर्नु चुनौतीपूण रहेको वडा कार्यालयले जनाएको छ ।

गोकर्णेश्वर पानीको मुहान भएको नगरपालिका भएपनि यहाँ खानेपानीको समस्या जटिल छ । वाग्मतीको पानी नगरपालिकाको वडा नं।–१ सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि लगिएपनि नगरपालिकामै नपाएको नगरवासीको गुनासो छ । जसको प्रत्यक्ष मारमा परेका छन् दृष्टिविहीन, हात गोडाका अपाङ्गता भएका नागरिक ।

नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण २०७६ अनुसार नगरपालिकामा अपाङ्ता भएकाका २०० परिवार बसोवास गर्छन् । विभिन्न संस्थाको आवासमा बस्ने अपाङ्गता भएकाको सङ्ख्या यसमा समावेश नगरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा करिब तीन दर्जन सामाजिक संस्था यस क्षेत्रमा काम गर्ने गरी दर्ता भएका छन् ।

डेढ दर्जन संस्थाले आवासीय सुविधा सहित अपाङ्गता भएकालाई आश्रय दिएका छन् । लायन्स क्लब अफ ए वन ३२५ ले अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिई राहत वितरण गरेपनि सबैले पाउन सकेका छैनन् । सरकारले ज्याला गरेर जीवन यापन गर्ने मजदूर, अपाङ्गता भएका, विपन्न वर्गका परिवार लगायतलाई स्थानीय तहकै कोषबाट राहत दिन निर्देशन दिएको थियो । स्थानीय सरकारले राहत दिन सक्रियता देखाए पनि अपाङ्गता भएको पहुँच पुग्न सकेको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.