अर्थ

कालोबजारी गर्ने २६ व्यावसायिक फर्म कारवाहीमा, चार महिनाका लागि चामल मौज्दात

बजार अनुगमनका क्रममा चैतमा मात्र २६ व्यावसायिक फर्मलाई कारवाही गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार उपभोक्ता हित विपरीत कार्य गर्ने ती फर्मलाई कारवाही गर्दा रु १६ लाख २० हजार राजश्व संकलन भएको छ ।

बजारमा अत्यावश्वकीय वस्तुको आपूर्ति सहज गराउन तथा कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन बजार अनुगमनलाई तीव्रता दिइएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहाल बताउनुहुन्छ ।उहाँका अनुसार चैतभर १५७ पसल, भण्डारी तथा व्यवसायको अनुगमन गरिएको छ । लकडाउनका अवधिमा विभागका आएका उपभोक्ताका ७५३ गुनासोको सम्बोधन गरी समस्या समाधानसमेत गरिएको छ ।

चार महिनाका लागि चामल मौज्दात

सरकारी तथा निजी क्षेत्रका उद्योगसँग करीब चार महिनाको माग धान्न सक्ने चामल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । चामलसँग तीन महिनाका लागि पुग्ने दलहन र तीन महिनाको माग धान्नसक्ने तेलहन मौज्दात छ । प्रवक्ता दाहालका अनुसार एक लाख २५ हजार २९० मेट्रिक टन चामल, सात हजार २९४ मेट्रिक टन चिनी, एक लाख ५८ हजार ९९० मेट्रिक टन नुन, १६ हजार ८१ मेट्रिक टन गेडागुडी तथा दाल र १६ हजार ८६८ मेट्रिक टन तेल मौज्दात छ ।

मन्त्रालयले खाद्य पदार्थको दैनिक मौज्दात नियमित रुपमा अद्यावधिक गरी कुनै स्थानमा अभाव देखिए सञ्चिती भएको अर्काे स्थानबाट तुरुन्त ढुवानी गर्ने व्यवस्थासमेत गरिएको जनाएको छ । उहाँका अनुसार सबै जिल्ला प्रशासन कार्यालयबाट प्रत्येक जिल्लाको खाद्यान्न आवश्यकता, सञ्चितीको अवस्था र सम्भावित अभावको तथ्याङ््क संकलन भइरहेको छ । जिल्लागत उत्पादन, सञ्चिती, स्थानीय तहका वडास्तरसम्मको जनसंख्यासमेतका आधारमा खाद्य पदार्थको बढी समस्या हुने सम्भावना भएका स्थानमा आवश्यकतानुसार आपूर्ति गर्ने तयारीसमेत गरिएको छ ।

मन्त्रालयको तथ्यांकानुसार विभिन्न औद्योगिक कोरिडोरमा रहेका खाद्यान्न उद्योग ४१ , तेलहन उद्योग ६३, खानेपानी उद्योग ९० , दुग्ध उद्योग ५०, पशुपक्षीको दाना उद्योग ३३, औषधि उद्योग ७३ र इँट्टा उद्योग ४८ प्रतिशत क्षमतामा सञ्चालन भइहेका छन् ।

२४ प्रकारका औषधि आयात

भारत सरकारले नेपालमा लगाएको औषधि निर्यातको प्रतिबन्ध फुकुवा गरेको छ । यही चैत २४ गतेदेखि लागु हुने गरी भारत सरकारले २४ औषधिजन्य पदार्थको निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता दाहालका अनुसार लकडाउन शुरु भएको १७ दिनमा भारतबाट रु ५६ करोड ९७ लाख २७ हजार बराबरको तयारी औषधि आयात भएको छ । त्यस्तै लकडाउनका अवधिमा १० करोड ८७ लाख सात हजार बराबरको औषधिजन्य कच्चापदार्थको समेत आयात भएको छ ।

लकडाउनका अवधिमा ३७ हजार मेट्रिक टन खाद्यान्न, १४ हजार ५४ मेट्रिक टन गेडागुडी तथा दलहन, २१ हजार ६२६ मेट्रिक टन तरकारी, पाँच हजार ९६२ मेट्रिक टन फलफूल र ८० मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.