बिचार

सर्वदलीय संयन्त्र खानकै लागि ! समस्या हल गर्ने भए विज्ञ संयन्त्र बनाऊ

यादब देवकोटा

मुलुकमा झण्डै दुई तिहाई बहुमतको सरकार छ । यो सरकारलाई कुनै पनि काम गर्न कसैको कुनै अबरोध छैन र गर्दै सक्दैन तर अहिले कोरोना भाइरस संक्रमणको सामना गर्न सर्वदलीय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने धारणा विपक्षी दलका एक नेताले राखेपछि सत्तारुढ दलकै एक अध्यक्षबाट पनि यस्तो प्रस्ताव आयो । यो प्रस्तावपछि विपक्षी दल लगायत साना दलहरु खुसी भएका छन् ।

के राजनीतिक दलका नेताहरु सबै कुरामा जानकार छन् र स्वास्थ्य र अर्थतन्त्र अनि समाजमा परेका असरहरुको हल उनीहरुले गर्न सक्छन् ? सक्छन् भने अहिलेको सरकार इतिहासमै सबभन्दा बलियो सरकार छ र यसलाई काममा कुनै अबरोध छैन भने सर्वदलीय संयन्त्र कसका लागि केका लागि ?

सरकारलाई नतिजामुखी काम गर्न कुनै कुराले अबरोध गरेको छ भने त्यो दृष्टिकोण र कामगर्ने इच्छाशक्तिको अभावले हो । यदि दृढ इच्छाशक्ति र इमान्दार भएर काम गर्ने हो भने हरेक समस्याको हल निस्कन्छ । अहिलेको आवश्यकता राजनीतिक दलका नेताहरुको मात्र हैन विज्ञहरुको हो । कुनै सम्वेदनशील घडीमा विज्ञहरुको राय, परामर्श र मार्गचित्र अनुसरण गर्नुपर्छ तर यो सरकारमा यति दम्भ छ कि उ अरुका कुरा सुन्नै चाहँदैन ।

अहिलेको आवश्यकता कोरोना संक्रमण फैलिन नदिने सबभन्दा महत्वपूर्ण पाटो हो भने यसपछिको अर्को पाटो सम्भावित आर्थिक संकटबाट पार पाउने उपाय हो । यसका लागि राजनीतिक संयन्त्र हैन विज्ञहरुको संयन्त्र आवश्यक छ । देशको समस्या समाधान नै गर्ने हो भने नेताहरुलाई सुविधा र भत्ता खुवाउने मेसो मात्रै हैन कि विज्ञहरुको टोली बनाएर काम गर्नुपर्दछ ।

यो देशमा विज्ञहरुको कमी छैन, कमी छ त अवसरको । राजनीतिक दलका झोला बोक्ने, नेताको गुणगान गाउनेलाई मात्र विज्ञ ठान्ने र उनीहरुले मात्रै अवसर पाउने अवस्था रहेकाले यहाँ बौद्धिक पलायन भैरहेको छ । संकटको यो क्षणमा इमानदार राजनीतिक प्रयास गर्ने हो भने यो सानो मुलुकमा समस्या पनि चाँडै समाधान हुनेछ र देशको अर्थतन्त्र पनि संकटमा पर्नबाट जोगाउन सकिन्छ । यसका लागि चाहिन्छ विज्ञहरुको सुझाव र कार्यक्रम । यसका लागि सर्वदलीय संयन्त्र हैन सर्वविज्ञ समूह चाहिन्छ ।

अहिले कोरोना संक्रमण मानिस हुँदै जनावरमा र जनावरबाट जनावर हुँदै हावामा फैलने स्थिति सिर्जना भएको छ । अहिलेसम्म कोरोना संक्रमण तेस्रो चरणमा रहेकोमा अब चौथो चरणमा त जाने हैन भन्ने चिन्ता छ । विश्व स्वास्थ्य संगठनले नै हावाबाट कोरोना सर्ने भन्दै चिकित्सकहरुलाई शतर्क रहन सुझाव दिएको छ । यस्तो स्थितिमा नेपालले गर्नसक्ने काम भनेको विज्ञहरुको समूह हो ।

यस्तो समूहमा जनस्वास्थ्य विज्ञ, पशुस्वास्थ्य विज्ञ, वातावरण विज्ञ, राजनीतिज्ञ, समाजशास्त्री, अर्थशास्त्रीहरुलाई समेटनु पर्दछ । जसले कोरोना संक्रमण नियन्त्रणदेखि समाजमा यसबाट परेको मानसिक असर तथा अर्थतन्त्रलाई उकास्ने उपायहरुको सुझाव दिनेछ । विज्ञहरुको यस्तो राय, सुझाव, योजना कार्यान्वयन गर्न अहिलेको सरकारलाई कसैले छेकबार लगाउन सक्दैन । किनभने यो सरकार बलियो जनमतमा अडेको छ । सिंहदरबादेखि गाउँगाउँका अधिकांश सिंहदरबारमा एउटै दलको पकड छ भने सर्वदलीय संयन्त्र किन ? काम नै गर्ने हो भने विज्ञहरुको टोली बनाउ ।

सर्वदलीय संयन्त्रको माग गर्नु भनेको सरकार असफल भएको सिद्ध गर्नु पनि हो । यसबाट जतिसुकै बलियो सरकार बनाए पनि काम गर्न सक्दैन भन्ने सन्देश जानेछ भने व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न पनि हुनसक्छ । तसर्थ संकटको यो घडीमा जनताको अत्यधिक मत पाएर कायम रहेको सरकारलाई कामगर्न दिने वातावरण बनाइदिने काम सत्तारुढ दल र अन्य दलहरुले बनाइदिनुपर्छ । न कि भाग खोज्दै सर्वदलीय संयन्त्र ।

हो, सरकारले देशलाई संकटबाट द्रुतगतिमा पार लगाउने चाहना राख्छ भने यसका लागि सरकारले गर्ने कुनै पनि काममा सर्वदलीय सहमति लिंदा राम्रो । तर, राम्रो काम गर्ने वहानामा औषधि खरीदको जस्तो भ्रष्टाचारको दुर्गन्ध फैलाउन पाइँदैन । भ्रष्टाचारीलाई कारबाही गर्नेतिर कसैको ध्यान नजाने, कालोबजारी गर्नेलाई ठाउँको ठाउँ कडाभन्दा कडा दण्ड दिनेतिर चासो नदिने अनि खानकै लागि सर्वदलीय संयन्त्र चाहिन्छ भन्नुको पछाडि गम्भीर राजनीतिक षड्यन्त्र पनि लुकेको छ ।

दुई पार्टीको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अहिले पनि पूर्व माओवादी र पूर्व एमालेको धङधङी बाँकी छ । यही धङधङीका कारण शक्तिमा पूर्व माओवादीहरुको बढी सहभागिता वा पूर्व एमालेहरुको बढी सहभागिता चाहने शीर्ष नेताहरुको चरित्र पटकपटक प्रदर्शन भैरहेको छ । अनि सरकारको नेतृत्व पविर्तनको चाहना राख्नेहरु पनि नभएका हैनन् ।

सर्वदलीय संयन्त्र बनाउनुको अर्थ सरकार असफल हुनु हो र सरकार असफल हुनुको अर्थ नयाँ सरकार गठन हुनु हो । विश्वव्यापी महामारीको यो संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको एक सानो देश नेपालमा यही संकटलई भजाएर राजनीतिक अस्थिरता उत्पन्न गरेर आफ्नो स्वार्थ पूरा गर्ने चाहना राख्नेहरु पनि नभएका हैनन् । यदि काम गर्ने र मुलुकलाई समस्याबाट बाहिर निकाल्ने हो भने तुरुन्तै विज्ञहरुको संयन्त्र बनाएर काम सुरु गर्दा हुन्छ ।

हैन, संकटलाई अवसरको रुपमा लिएर नानाभाँती प्रस्ताव र योजना बनाइरहने हो भने लुट्नेले लुटिरहन्छन, जनता मरिरहन्छन्, देश हरिकंगाल हुनेछ अनि असफल राष्ट्रको सूचीमा दरिनेछ । त्यतिबेला नेताहरुले अर्थात् नेतृत्वमा रहेकाहरुले थाप्लामा हात राखेर रुँदैमा देशले निकास पाउँदैन ।

समय छँदै गरेको औषधिले मात्र काम गर्छ । समय रहुञ्जेल आआफ्नो स्वार्थपूर्तिका डम्फु बजाउने अनि समय घर्केपछि गोहीको आँसु बगाउने चरित्रले न व्यक्तिको हित गर्छ न त देशको नै ।

तसर्थ पुनः जोड दिएर भन्न चाहन्छु– देशलाई निकास दिने हो भने सर्वविज्ञहरुको संयन्त्र बनाउ, त्यस्ता विज्ञहरु राजनीतिक दलका कार्यकर्ता वा आईएनजीओले विज्ञको बिल्ला लगाइदिएका नभएर समाजमा भिजेर विज्ञता हाँसिल गरेकाहरु हुन् । सरकार र सत्तारुढ दलले यति गर्यो भने मुलुकले चाँडै निकास पाउनेछ ।

मानिसबाट जनावरमा कोरोना संक्रमण- चौथो चरणको जोखिमको संकेत ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.