अमेरिकामा कोरोना : २० हजारको मृत्यु, पाँच लाख संक्रमित- दुई लाखको ज्यान जाने अनुमान

विश्वव्यापी महामारी फैलाइरहेको अमेरिका यतिबेला कोरोना संक्रमणका कारण सबभन्दा बढी प्रभावित मुलुक बनेको छ । अमेरिकी सरकारले संक्रमणबाट १ लाखदेखि २ लाख ४० हजार नागरिकले ज्यान जाने अनुमान गर्दै आएको छ ।
शनिबार साँझसम्म त्यहाँ २० हजारभन्दा बढीको मत्यु भएको छ । शनिबार मात्र अमेरिकाभर २ हजार जनाको संक्रमणका कारण मृत्यु भएको छ । संक्रमणबाट अमेरिकामा एकैदिन यति धेरै जनाको मृत्यु भएको यो पहिलोपटक हो ।
कोरोना भाइरस कोभिड १९ बाट सबैभन्दा बढी नागरिक गुमाउने मुलुक पनि बनेको छ । अमेरिकाले यसअघि दुई साता संक्रमणले ल्याउने कठिन परिस्थितिका लागि तयार रहन आफ्ना नागरिकलाई चेतावनी दिएको थियो ।
हालसम्म अमेरिकामा ५ लाख २० जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा सबैभन्दा बढी संक्रमित न्यू योर्क राज्यमा भेटिएका छन् । त्यहाँ १ लाख ८० हजारबढी जनामा संक्रमण भेटिएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७ सय ८३ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।
यसबीच सङ्क्रमितको सङ्ख्या स्पेन (एक लाख ६१ हजार ८५२), इटली (एक लाख ४७ हजार ५७७), फ्रान्स (एक लाख २४ हजार ८६९) जर्मनी (एक लाख २२ हजार १७१), चीन (८१ हजार ९५३), बेलायत (७३ हजार ७५८), इरान (६८ हजार १९२), टर्की ४७ हजार २९ र बेल्जियममा (२८ हजार १८) रहेको छ । इटली र स्पेनमा पछिल्ला केही दिनदेखि सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या क्रमशः घट्दो रफ्तारमा देखिएको छ ।
नेपाली समय अनुसार शनिबार साँझसम्ममा विश्वभर १७ लाख १० हजार ५८१ सङ्क्रमित भएका छन् भने एक लाख तीन हजार ५१२ को मृत्यु भइसकेको छ । त्यस्तै तीन लाख ८२ हजार ५३ जना निको भएर घर फर्किएका छन् । विश्वभरि ४९ हजार ९१३ जनाले अझै जटिल सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् ।
पछिल्लो तथ्याङ्क अनुसार निको भएर घर फर्किनेको सङ्ख्या चीनमा सबैभन्दा बढी (७७ हजार ५२५) रहेको छ । चीनले आन्तरिक सङ्क्रमण रोकिएको भन्दै लामो समयदेखि बन्द रहेको व्यवसायिक कामकाजलाई सावधानीका साथ सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।
अमेरिका, इटली र फ्रान्समा निको भएर घर फर्किनेको सङ्ख्या न्यून रहेको छ तर चीन, स्पेन र जर्मनीमा निको भएर घर फर्किनेको सङ्ख्या अमेरिका इटली र फ्रान्समाभन्दा तुलनात्मक रूपमा केही बढी रहेको छ ।