लकडाउनपछि नेपाल टेलिकमको सीम लिएका २० हजारजनाको खोजी
सरकारले कोरोना भाइस संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन सुरु गरेपछि नेपाल टेलिकमको नयाँ सीमकार्ड लिएका २० हजार जना विदेशबाट फर्किएका हुनसक्ने आशंकामा सरकारले उनीहरुको खोजी सुरु गरेको छ ।

यसैका लागि चैत २६ गतेदेखि कल सेन्टर स्थापना गरिएको छ । नेपाल टेलिकमले उपलब्ध गराएको २० हजार नयाँ सीम पहिचान गरी उनीहरुलाई सम्पर्क गरिएको र पहिचान गर्ने काम भइरहेको छ । हालसम्म एक हजार ७५६ जनलाई कल सेन्टरले सम्पर्क गरेको छ । हालसम्म सम्पर्कमा आएका सम्भावित कोभिड–१९ सक्रमणका लक्षण भएका व्यक्तिलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिइएको छ ।
कलसेन्टरसमेत नेपाली सेनाको छाउनीमा स्थापना गरिएको छ । सम्पर्क गरिएका व्यक्ति स्वास्थ्य संस्थामा गए नगएको समेत अनुगमन गरिएको छ । यस्तै विभिन्न स्रोतबाट तथ्यांक संकलन गरी जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यक कारवाहीको लागि सिसिएमसीअन्तर्गत अन्य कार्य समूहलाई उपलब्ध गराइएको छ । यस्तै कोभिड–१९ मोबाइल एप्समार्फत पनि एकीकृतरुपमा सूचना संकलन भइरहेको छ ।
प्रदेश, जिल्ला र स्थानीय तहलाई पिपिईको प्रयोगसम्बन्धी कार्यविधि, क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका, बिरामी ल्याउने कार्यविधि, कोभिड–१९ का बिरामी ल्याउने एम्बुलेन्स तथा शव बाहन सम्बन्त्री कार्यविधि, एम्बुलेन्स प्रयोग गरेर ल्याउने बिरामीको अवस्थासम्बन्धी कार्यविधि, फिबर क्लिनिक, द्रूत नमूना परीक्षणसम्बन्धी कार्यविधिसमेत तयार गरी लागू गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्