नेपाली युवाहरुले बनाए कोरोना संक्रमितलाई खाना पुर्याउने रोबोर्ट
कोरोना भाइरसको संक्रमण रोक्ने एकमात्र उपाय व्यक्ति व्यक्तिबीचको सम्पर्क हुन नदिनु हो । यसै कारण देशमा लकडाउनको स्थिति छ र बिरामीदेखि संक्रमणको आशंका गरिएकाहरुलाई खाना पुर्याउने पनि संक्रमित हुने खतरा रहेका बेला नेपाली युवा वैज्ञानिकहरुले खाना पुर्याउने रोबोर्ट बनाएका छन् ।
कोरोना विरुद्ध लड्न विश्वव्यापी रुपमा नयाँ खोज र अनुसन्धान भैरहेका बेला केही नेपाली युवाले पनि संक्रमित विरामीसम्म खाना पुयाउने रोवोटको सफल परीक्षण गरेका छन् । उक्त रोबोटले एक सय मिटर टाढासम्म रहेर काम गर्नसक्ने बताइएको छ ।
रोबोटिक एशोसियशन नेपालको प्रयासमा तयार गरिएको सो रोवोटको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गरिएको सो एशोसियशनले जनाएको छ । साथै सो टोलीले उक्त रोवोटका बारेमा शिक्षण अस्पतालको आइसोलेशन कक्षमा कार्यरत नर्सहरूसँग पनि छलफल गरेको थियो ।
रोबोनट्स नामक सो रोवोट निर्माणमा संलग्न पृथ्वी चौधरीको नेतृत्वको टोलीले उक्त रोबोट कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्नुका साथै त्यसबाट आइसोलेशन वार्डमा रहेका विरामी राखिएका सबै शैयामा कसरी खान पुर्याउने भन्ने कुराको परीक्षण गरेका थिए । उक्त परीक्षण सफल भएको एशोसियशनले जनाएको छ ।
सो रोबोटको निर्माण लागत सामाग्रीका लागि मात्र ९६ हजार पाँचसय रुपियाँ लागेको र रोबोटिक एशोसियशन नेपालका अध्यक्ष विकास गुरूङले बताउनुभयो । उहाँले सो एशोसियशनसँग अहिले चारवटा रोबोट बनाउन पुग्ने सामाग्री रहेको र अन्य सदस्यहरूलाई पनि सो काममा जुट्न आग्रह गरिएको र अन्य सदस्यहरूसँग भएको सामाग्री र सहयोगबाट तत्कालका लागि ४० देखि ५० वटासम्म रोबोट तयार गर्न सकिने बताउनुभयो ।
सो रोबोर्टले कोभिड १९ भाइरस संक्रिमित विरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्य कर्मीलाई भारसरको संक्रमणबाट बचाउन सहयोग पुग्ने विश्वास लिइएको छ । एशोसियशनले कोरोनासंग सम्बन्धित अन्य ड्रोन र्यापिड रेस्पन्स टिम, एयर भेन्टिलेटर र नेपाल इनोभेशन म्यापर टिम बनाउने जस्ता काम गरी रहेको पनि जनाएको छ ।