जन सरोकार

खुला सीमाको दुरुपयोग- नेपाल हुँदै तेस्रो मुलुक जाँदै भारतीय नागरिकहरु

साभार तस्बिर- काठमाडौंस्थित भारतीय दूतावासमा ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिन मंगलबार लामबद्ध भारतीय नागरिक ।

भारतमा कोरोना महामारी फैलिएपछि त्यहाँबाट तेस्रो मुलुक जान गाह्रो हुने भएपछि नेपालको बाटो हुँदै अन्य मुलुक जान चाहने भारतीयहरुको काठमाडौंस्थित भारतीय दूताबासमा दैनिक निकै भीड हुने गरेको छ । विदेश जान आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा भारतीयको घुइँचो लाग्ने गरेको हो ।

दूतावासले कोरोना संक्रमण बढेसँगै भारतीय नागरिकलाई एनओसी आवश्यक परे दूतावासको वेबसाइटमा रहेको इमेल ठेगानामा सम्पर्क गर्ने र त्यसपछि क्रमिक रूपमा बोलाउने एडभाइजरी जारी गरेपछि भीड बढेको छ । उनीहरु एनओसी लिएर नेपालबाट हवाई मार्ग हुँदै तेस्रोा मुलुक जाने गरेका छन् ।

भारतीय दूतावासका प्रवक्ता नवीन कुमारका अनुसार एडभाइजरी वेबसाइटमा हालेपछि धेरै मान्छे नबोलाइकनै आइरहेको र एडभाइजरीको पालना नभएको बताउँदै एक दिनमा ५० जना आउनुपर्नेमा तीनदेखि चार सयसम्म आइरहेको जानकारी दिनुभयो । प्रवक्ता कुमारले एनओसी लिने भारतीय बढे पनि उनीहरू भारतबाट नेपाल हुँदै अन्य मुलुकमा उड्नका लागि नै हो भन्न नमिल्ने र ‘नेपालमै रहेका धेरै भारतीय पनि विदेश जान खोजेका हुन सक्छन् भन्नुभयो ।

कोभिड–१९ को बढ्दो संक्रमणका कारण भारतबाट विदेश उड्न केही भिसालाई अस्थायी रूपमा रोक लगाएको, केहीमा प्रक्रिया लामो भएको र संक्रमणकै कारण अन्य मुलुकमा गएपछि प्रक्रिया झन्झटिलो बन्न सक्ने भएकाले भारतीयले नेपालको बाटो रोजेको जानकार बताउँछन् । खुला सिमाना भएका कारण पनि उनीहरूलाई नेपाल आउन सहज भएको हो । कर्णाली प्रदेशबाहेक बाँकी ६ प्रदेशसँग नेपालको सीमा जोडिन्छ ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले नेपाल–भारत सीमा नाका खुला भएका कारण आउजाउ बढिरहेको बताउँदै क्रसबोर्डर अकुपेसनका कारण पनि ओहोरदोहोर दैनिक रूपमै भइरहेको र तोकिएका नाकाबाट हुने औपचारिक आवागमनलाई व्यवस्थित गर्न खटिएको जानकारी दिनुभयो ।

उता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जानेमा भारतीयको संख्या बढेको अध्यागमन विभागले पनि आँकलन गरेको छ । तर कोभिड–१९ कै कारण संख्या बढेको हो भन्ने विभागले ठहर गरेको छैन । अध्यागमनका महानिर्देशक रमेश केसीका अनुसार भारतमा पछिल्लो समय कोभिड–१९ संक्रमण बढेपछि भारतको अध्यागमनमा केही कडाइ गरिएको छ । ‘त्यसपछि नेपालको बाटो हुँदै अन्य मुलुकमा उड्ने भारतीयको संख्या बढेको देख्न सकिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.