बिचार

संवत्सरको अनुक्रमिक परम्परा र वर्ष

वर्षको अनुक्रमिक परम्परालाई संवत् भनिन्छ । विक्रम संवत्लाई शास्त्रमा षष्टि संवत्सरको नाम दिइएको छ । यो षष्टि संवत्सर अर्थात् विक्रम संवत्को सेरोफेरोभित्र प्रकृति र जीवन जगत दुवै समेटिएको छ । विश्व ब्रह्माण्डको दृश्य–अदृश्य घटना प्रवाहमा स्वतः प्रवाहित हुँदै यो विक्रम संवत् निरन्तर सूर्यलाई केन्द्र मानेर युगयुगमा षष्टि संवत्सरका नामबाट प्रत्यावर्तन हुन्छ ।

कुनै जघन्य अपराध गरेमा “षष्टि वर्ष सहस्राणी विष्टायाम जायते कृमि” भनेर त्यस्ता अपराधीलाई ६० हजार वर्षसम्म गुहुको कीरो हुनुपर्ने उल्लेख भएबाट यो संवत्सर जीवन र जगतको नित्य, नैमित्य कर्मसंग समेत आबद्ध संवत्सर मानिन्छ ।

व्यक्ति विशेषका लहडवाजी वा राजा महाराजाका वीरता वा कुनै घटनामा, धनका तुजुकमा संवत्सर सीमित नभै प्रकृति र जीवनसंग प्रत्यक्ष सम्बन्धित हुने कार्यमै संवत्सरको परिभ्रमण हुनेगर्छ । यसरी अनादिकालदेखि सृष्टि संरचनालाई ऊर्जा प्रदान गर्दैआएको सूर्यको एउटा नाम विक्रम हो र यही विक्रम नामको संवत्सरबाटै यसलाई विक्रम संवत् भनियो ।

प्राच्यको सबभन्दा प्रचलित संवत् यही संवत् हो । शाके संवत्ले पनि मान्यता पाएको छ । यी दुवै संवत्सर चैत्रमै प्रारम्भ हुन्छन् । संवत्सर पडेवाबाट सुरू गरिने यी संवत्सरहरूमा वैशाख १ गतेदेखि नयाँ साल आरम्भ गरिने परम्परा छ ।

यी संवत्सर कुनै न कुनै प्रकारले आर्य धर्म परम्परा र संस्कृतिसंग आबद्ध छन् । यसका अतिरिक्त विदेशीहरूका सम्पर्कले प्रचलनमा आएको संवत्सरका नाम यस प्रकारका छन्– ईस्वीसन् । इसामसिहको जन्म अर्थात् विक्रम संवत्भन्दा ५६ वर्षपछि ।

यसरी नै यहुदी संवत् जलियन संवत् ओलिपिदेरू सन्, रोमन संवत, चिनिया संवत, नुहका संवत्, आदम संवत्, तुर्कया कुस्तुन्तु निया संवत्, परिगणित संवत्, आदिल शाही संवत्, इलाही या अकवरी संवत्, अमली संवत्, फसली संवत्, बंगला संवत्, साहु संवत्, पारी संवत्, हिजरी सनवालिका संवत्, जावाका संवत् लगायतका अनेक संवत्को वृहत सूची तयार हुन्छ ।

यस्तै भारतीय उपमहाद्वीपको शासन गर्ने अनेक राजा महाराजाहरूले पनि संवत् फिराउने उद्देश्यमा अनेक संवत्को स्थापना गरे तापनि सबै प्रचलनमा आउन सकेनन् । तथापि अकबर, जहागिर, शाहजहा, औरंगजेव, शाह आलम, फर्रूम शियर, रफी अद्दर जात, महमम्द शाह, अहमद शाह, आलमगीर द्वितीय, शाहजहाँ अकशत द्वितीयका नामहरू यस सन्दर्भमा बढी लिइन्छ ।

कालचक्रको घुमाइमा घुम्दै गरेका साम्राज्य र ती साम्राज्यमा शासक बनेकाहरू बिलाउँदै, अस्ताउँदै र हराउँदै गए पनि नयाँ वर्षका रूपमा नयाँ दिन भने उदाइ नै रहेका छन् । पूर्वीय परम्परामा नयाँ वर्ष मनाउने क्रममा संवत्सर प्रतिपदालाई संवत्सर फेर्ने दिनका रूपमा लिइए तापनि नयाँ वर्ष प्रवेशको दिन वैशाख १ गतेलाई नै मानिएको छ ।

जानेलाई व्यागतम् आउनेलाई स्वागतम् अहिलेसम्मको यही परम्परा हो । साम्राज्यहरूको उत्थान, पतन र सभ्यता, संस्कृति, जीवनशैली लगायत कला, साहित्य र वाङ्मयका विविध विधामा संवत्सरको भूमिका यस्तै रहेको छ । यसरी नयाँ वर्ष अथवा संवत्सरको महिमा गाइएका अनेक प्रसंगको साथै हितोपदेशको यो श्लोकको साथ यो कालचक्र पनि यसरी घुम्दै आएको छ ः

“काब्यशास्त्रविनोदेन कालो गच्छति धीमताम्
व्यसनेन च मूर्खाणां निद्रया कलहेन वा” ।

यो वर्षपछि पनि वर्षौंवर्ष बित्ने नै छन् । पवित्र भावनाका साथ सर्वे भवन्तु सुखिनमै यस्ता वर्ष विते हुन्थ्यो । काव्यशास्त्रको विनोदमा मानिस रमाउँदै आफ्नो समय बिताउन । हिंसा, उत्तेजना, शोषण, प्रदूषण र अन्याय अत्याचारका अतिरिक्त झूट तथा बेइमानीलाई प्रोत्साहित नगरियोस्, भ्रष्टाचार, अनाचार, अत्याचार, विपन्नताको अन्त्य होस् । प्रत्येक वर्ष यही शुभकामना दिइन्छ ।

तर यताका वर्षहरूमा मानवीय सम्वेदनशील भावना नै मूच्र्छित हुँदैछ । मानिसले धेरै उन्नत प्रविधि र स्तरीय जीवनशैली पायो तर संवेदनशील मानवीय भावनात्मक पक्ष गुमायो । आत्म विस्मृतिमा प¥यो । नक्कली मयूर बन्यो र उत्ताउलो अभिनयमा रमाउन थाल्यो ।

समय क्रम, संवत्सरको गति र संस्कृति

श्रीमद्भगवतगीतामा कृष्णले मार्ग महिनालाई सर्वोत्तम महिनाको रूपमा उद्घोष गरेका छन् । ‘मासानाम् मार्गशीर्षोऽहम्’, यो उक्तिले यही पुष्टि गर्छ । पुस, माघ, फागुन पनि सांस्कृतिक महत्वको उत्तिकै महिमा भएका महिना हुन् । यी तीन महिनाभरि नै नयाँ वर्षकै रूपमा ल्होसार मनाउने चलनले पनि संस्कृतिकै रूप लिएको छ । सबै ल्होसार षष्टि संवत्सरको तिथिमा आधारित छन् ।

यसरी स्रोतकेन्द्रको खोजी गर्दा नयाँ नयाँ संवत्सर अर्थात् नयाँ वर्षको रूपमा कार्तिक, मंसिर, पुस, माघ, फागुन, चैत्र र वैशाख आदि महिनाहरू धर्म, सम्प्रदाय, व्यक्ति विशेषका नाममा समेत उत्तिकै विशेषतायुक्त छन् । महत्वका साथ लिइने र सांस्कृतिक रूपले हेरिने यस्ता महिनाको गणना गर्ने पद्धति पनि आ–आफ्नै तरिकाले विकसित गरिएको छ ।

ईस्वीसन् होस् वा हिजरी संवत् यसरी नै सबै अन्य संवत् ऐतिहासिक कालखण्डमा घटेका घटना र राजनीतिक–प्रशासनिक वा धार्मिक–साम्प्रदायिक कारणबाट सुरू गरिएको संवत्सर हुन् ।

प्राच्य परम्परा अनुसार शाश्वत संवत्सरको स्रोत अर्कै छ । ६० वटा संवत्सर, घडी, पला, दिन, महिना, राशिचक्र तथा ऋतुहरूको परिवर्तनका साथ निरन्तर घुमिरहन्छन् । मकर, कुम्भ, मीन, मेष, वृष र मिथुन राशिमा सूर्य भएका बखत शिशिर, वसन्त र गृष्म ऋतु हुन्छ । माघ, फागुन, चैत्र, वैशाख, जेठ, असार यी ६ महिनाको तीन ऋतु शिशिर, वसन्त, गृष्ममा सूर्य उत्तरायण हुन्छन् ।

दिन लामा र रात छोटो हुने यो बखतमा गर्मीको प्रवलता हुन्छ । यसरी नै कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु राशिमा सूर्य पुगेका बखतलाई वर्षा, हेमन्त र शरद ऋतुको नाम दिइएको छ । श्रावण, भाद्र, आश्विन, कार्तिक, मंसिर र पुस महिनाका यस्ता दिनमा जाडो धेरै हुन्छ, दिन छोटा हुन्छन् र रात लम्बिन्छन् । सूर्य दक्षिणायन भएको प्रत्यक्ष देखिन्छ ।

प्राच्य परम्परामा गतेको कुनै खास महत्व नभएर तिथिको विशेष महत्व रहेको हुन्छ । औंसी पक्ष र पूर्णिमा पक्षका दुई छुट्टाछुट्टै नाममा कृष्णपक्ष र शुक्लपक्षको १ महिना हुन्छ । यस्ता दुई महिना बित्दा एउटा ऋतु वदलिन्छ । यस्ता ३ ऋतु अर्थात् ६ महिना बितेपछि सूर्यको दिशा पनि बदलिन्छ । यसैलाई सूर्य दक्षिणायन वा उत्तरायण भन्ने चलन छ । यसरी दुई अयन अर्थात् १२ महिना बितेपछि स्वतः एउटा संवत्सर फिर्छ । प्राच्य परम्परामा प्रचलित भएका संवत्सर यिनै षष्टि संवत्सर हुन् र संवत्सरको स्रोत सूर्य तथा तिथिसंग आबद्ध हुँदै आफ्नो वार्षिक चक्र पूरा गर्दछ ।

तिथिपात्रो र मितिपात्रो

प्रतिवर्ष संवत्सर स्वतः बदलिन्छ । संवत्सर बदलिने तिथिलाई संवत्सर पडेवा भनिन्छ । तिथि, व्रत, पर्व, उत्सव, जयन्ती आदिको समय निर्धारण गर्न पूर्वका मनीषीहरूले यस्तै ६० वटा संवत्सरको समयचक्रमा आफ्नो दिव्यदृष्टि र समयको तालमेल मिलाएर यो समयमा यो काम यसरी गरे यस्तो फल हुन्छ वा मिल्छ भनेर तदनुरूपको काम गर्ने गर्थे ।

त्यस्ता कर्मबाट बहुजनहिताय, बहुजनसुखायको साथै सर्वजनसुखाय, सर्वजनहिताय कर्म गर्नेहरूका नाममा कीर्तिपताका गाँसेर दिगदिगान्तरसम्म फैलाउने गरिन्थ्यो । कुनै व्यक्ति विशेषले गरेको अभूतपूर्व कर्मको सम्झनामा प्रचलित संवत्सरसंग उसकै नाम समेत समाविष्ट गरेर अर्को संवत् फिराउने चलन यसरी चल्यो । तर ६० संवत्सरको प्राच्य परम्परालाई उनीहरूले मेटेर आफ्नो नाममा संवत्सर चलाएका होइनन् ।

त्यस्तो दिनको स्मृतिका रूपमा संवत्सर नामाकरण गरेर तत्कालीन समाजले आभार प्रकट गरेको मात्र हो । ६० वटा शास्त्रीय संवत्को महिमा यसबाट गौण हुँदैनथ्यो । सम्प्रदाय विशेष र व्यक्ति विशेषका नाममा संवत्सरको नामाकरण गर्ने गर्दा शास्त्रीय यस्ता संवत्सरको विशेषता र तिनका तात्पर्य गौण हुँदैनथे । तर कालान्तरमा संवत्को परिभाषा नै अज्ञात कारणले बदलियो । व्यक्ति, देश वा सम्प्रदाय विशेषका नाममा संवत्सरलाई संकुचन गरियो ।

६० वर्षको एक चक्र पूरा गरेपछि प्राच्यका मानिसहरू आफ्नो पूर्वाद्र्ध सकिएको र उत्तराद्र्धमा प्रवेश गरेको मान्दथे । अर्को ६० वर्षको चक्र पूरा हुँदा पूर्णायु भोग गरिसकेको ठानिन्थ्यो । त्यसैले मानिसको परमायु पूर्वाद्र्ध र उत्तराद्र्ध गरेर दुई संवत्सर चक्र अर्थात् १ सय २० वर्ष किटान भए । यसभित्र अझ विशेष रहस्य भरिभराउ छन् । ती सबैलाई यहाँ स्थान र समय दुवैले समावेश गर्न सकिंएन ।

यसरी ६० संवत्सरको यो चक्र प्रणाली युगयुगदेखि घुमिरहेको छ । यो प्राच्यको शास्त्रीय परम्परामा आधारित संवत्सरको स्वरूप हो । तर अहिले विभिन्न सम्प्रदाय र धर्मका आआफ्नै संवत्सर छन् । देशैपिच्छे फरक फरक संवत्सर प्रचलनमा छन् । पाश्चात्य संस्कृतिका मानिसहरू ईस्वीसन्लाई इशामसीहको नाममा मान्यता दिन्छन् ।

ईस्वीसनले त्योभन्दा पूर्वको र पछिको कुनै पनि संवत्लाई गणना गर्न चाहँदैन । अहिले आधार वर्ष नै ईस्वीसन् भएको छ । इशापूर्व पनि पृथ्वी थियो र काल गणनाको पद्धति थियो । चराचर प्राणी थिए । ६० वटा संवत्सर अवच्छिन्न घुमिरहन्थे । यस्ता कैयौं शताब्दी यसरी नै बिते । तर ईस्वीसन्ले यो सब विस्मृतिको गर्तमा हाल्यो । इशापश्चात्कै समयको मात्र गणना गरेर ईस्वीसन्लाई एक मात्र संवत्सरको रूपमा प्रचलनमा ल्याउने कोसिस ग¥यो ।

अहिले पाश्चात्य संसारको यही सिको गरेर पूर्वले पनि आफ्नो दिनचर्या व्यवस्थित गर्ने नक्कल अर्थात् जडौरी भिर्दैछ । यावत् ईश्वरीय सृष्टिको आधार वर्ष नै २१ औं शताब्दीको सेरोफेरोमा नै सीमित गरिंदैछ । प्राच्य संस्कृतिले २१ औं शताब्दीको आधार वर्षभन्दा भिन्न यो सृष्टिक्रमलाई अनादि मान्छ र त्यसैका आधारमा ब्रह्मसूत्र लगायतका लाखौं सूत्रमा विश्व ब्रह्माण्डका रहस्य समेटछ । षष्टि संवत् यस्तै एउटा सूत्र हो ।

यो सूत्रमा अन्तर्निहित पक्षमा प्राच्यको पञ्चाङ्गलाई तिथि पात्रोको संज्ञाले सम्बोधन गरिन्छ । पाश्चात्य तथा अन्य क्यालेण्डरहरू मिति पात्रो हुन् । तिथि पात्रो शाश्वत सत्य र षष्टि संवत्सरको स्रोतमा आधारित छ । अन्य क्यालेण्डरको स्रोत मिति एवं ऐतिहासिक खण्डेकालको घटनाक्रम र व्यक्ति विशेष राजाद्वारा प्रचलनमा ल्याइएको हो ।

जनजीवनमा तिथिपात्रो अनुसार जन्मोत्सव, जयन्ती र चाडपर्वहरू अद्यापि मनाइन्छन् । तिथि घट्छन् । तिथि टुटेको प्रक्रिया तिथिपात्रोमा स्पष्ट गरिन्छ । तिथि बढ्छ । षष्ठीया तिथि अर्थात् ६० घडीकै तिथि र तिथि नै टुट्ने यो क्रम तिथिपात्रो गणना गर्दा नै पात्रोकारले प्रामाणिक रूपमा उल्लेख गर्छन् ।

कर्मकाण्डका विधिविधान सम्पन्न गर्न वा तिथि अनुसार सम्पन्न ग।िरने अन्य प्रयोजनका लागि तिथिकै उदयकालकै तिथिलाई लिइन्छ । गणना अनुसार केही घडी, पलामै भुक्तमान भएर एकैदिनमा दुईटा तिथि परेमा उदयकालको तिथि नै कार्य गर्न ग्राह्य तिथि मानिन्छ ।

तिथि पात्रो प्रचलनमा ल्याइए र मिति पात्रोलाई गौण गरी गतेलाई महत्व दिए पनि बुद्ध जयन्ती होस् वा राम नवमी, कृष्णाष्टमी होस् वा औंसी–पूर्णेका पर्वपार्वी एवं दशैं तिहार सबैजसो तिथिपात्रोकै अनुरूप मनाइन्छ । तिथिपात्रोको विकल्पमा मिति पात्रोले यो सबै प्रकरणलाई समेट्न सक्दैन । यो त तिथिमा आधारित जीवनशैलीमै आमूल परिवर्तन ल्याउनुपर्छ अन्यथा मितिपात्रोमा आधारित जीवनशैलीले नराम्रो द्वन्द्व पैदा गर्नेछ ।

संवत्का केही नाम

१. आर्य संवत, २. वैदिक संवत्, ३. कलि संवत्, ४. सप्तर्षि संवत्, ५. युधिष्ठिर संवत् (युधिष्ठिरको राज्याभिषेकबाट), ६. विक्रम संवत् (कलियुग सुरूवात भएको ३०४४ वर्षपछि), ७. बौद्ध संवत् या शाककाल (महात्मा बुद्धले बुद्धपद प्राप्त गरेबाट), ८. महावीर संवत् (जैन संवत् विक्रम संवत्भन्दा ४७० वर्ष पहिले), ९. मौर्य या चन्द्रगुप्तको संवत (विक्रमभन्दा ३१५ वर्ष पहिले, १०. मलयकेतु या सत्यकेतु संवत् (विक्रमभन्दा २५५ वर्ष पहिले), ११. पार्थियेन संवत् (वि.सं.भन्दा ३१५ वर्ष पहिले), १२. शाक्य वा शकाव्द (वि.सं भन्दा १३५ वर्षपछि), १३. परशुराम चक्र सहस्र संवत् (विक्रमभन्दा ११२ वर्ष पछि), १४. शताब्द (ग्रह परिवृत्ति चक्र) (विक्रमभन्दा ३३ वर्षपछि), १५. चेदिकलचुरी संवत् (विक्रमभन्दा ३०५ वर्षपछि), १६. गुप्त संवत् (विक्रमभन्दा ३७५ वर्षपछि), १७. बल्लभी संवत् (विक्रमभन्दा ३७६ वर्षपछि), १८. हर्षाद (विक्रमभन्दा ६६४ वर्ष पछि), १९. नेपाल संवत् (विक्रमभन्दा ९२७ वर्षपछि), २०. चालुक्य संवत् (विक्रमभन्दा ११३ वर्ष पछि), २१. सिंहि संवत् (विक्रमभन्दा ११७१ वर्ष पछि), २२. लक्ष्मणसेन वा बंगाली संवत् (विक्रमभन्दा ११७१ वर्ष पछि), २३. श्री चैतन्य संवत् (विक्रमभन्दा १४४३ वर्ष पछि), २४. शिव संवत् (शिवाजीको राज्याभिषेकबाट), २५. दयानन्द संवत् (विक्रमभन्दा १६४० वर्ष पछि), २६. ईस्वी संवत् (विक्रमभन्दा ५६ वर्षपछि), किराँत येले संवत्, गोरखनाथ संवत् लगायत त्रिभुवन संवत्, महेन्द् संवत् पनि आजकल नेपाली पात्रामा कताकति लेखिन्छन् ।

सनातन धर्मावलम्बीहरूले भने वैदिककालदेखि नै विक्रम संवत् प्रचलित भएको र यसैलाई शाश्वत संवत् मान्छन् ।

(प्रस्तुत सामग्री लेखक पन्तको षष्टि सम्वतसर नामक पुस्तकबाट लिइएको हो ।)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.