कर्पोरेट/पर्यटन

खर्बपतिहरु आफूले गरेको सहयोगको विज्ञापन गरेर आत्मरतिमा रमाउँदैनन्

नेपालमा कोरोना संक्रमण देखिनासाथ यसको रोकथाम र उपचार सामग्रीको चर्चा एकाएक आउँदा विश्वका खर्बपतिहरुको सूचीमा सूचीकृत नेपालका एकमात्र उद्योगी-व्यवसायी विनोद चौधरीको चर्चा भयो । लक डाउनका कारण दैनिक गुजारा चलाउन मुस्किल भएकाहरुलाई चौधरी जस्ता खर्बपतिहरुले किन केही गरेनन् भन्ने आक्रोश पनि व्यक्त भए ।

तर सरकारलेभन्दा पहिला नै कोरोना रोकथामका लागि चौधरी फाउण्डेशनका तर्फबाट विभिन्न जिल्लामा स्वास्थ्य उपकरण वितरण गरिएको थियो । जब सरकारले ओम्नी समूहलाई चीनबाट स्वास्थ्य सामग्री आयात गर्न अनुमति दियो र यसको मूल्य तय भयो तब चौधरी ग्रुपले गरेको सहयोगको चर्चा सामाजिक सञ्जालहरुबाट बाहिर आए ।

चौधरी ग्रुपले विभिन्न जिल्लामा स्वास्थ्य सामग्री वितरण गर्दा उसले खरीद गरेको मूल्यसंग सरकारले खरीद गरेको मूल्यको तुलना भएर भ्रष्टाचार भएको भन्दै बिरोध भयो । मुलुकलाई कोरोनामुक्त गर्न चौधरी फाउण्डेशनको कस्तो योगदान रह्यो ? यस विषयमा विनोद चौधरीले आशावादी सोचसहित उहाँले यस विषयमा आफुनो फेसबुक पेजमा विवरण दिनुभएको छ ।

जुन यस प्रकार छ-

चौधरी फाउन्डेसनले कोरोनाभाइरस रोकथाम र उपचारका लागि तीन चरणमा मुलुकभरका ११९ स्थानमा सुरक्षा र उपचार सामग्री वितरण गरेको छ ।

केही महिनायता जब कोरोनाभाइरसलाई लिएर चिन्ता व्यक्त हुन थाल्यो, विश्वभर यसका प्रभाव टड्कारो देखिन थाले, नेपाल पनि यसबाट अछुतो रहन नसक्ने कुरा प्रष्ट थियो । त्योभन्दा पनि ठूलो चिन्ता हामी कोरोनासँग जुध्न कति तयार छौं भन्नेमा थियो । हाम्रा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था कति सबल र तयार छन् भन्नेमा थियो । र, हामीले यो विषयलाई कति गम्भीरताका साथ लिएका छौं भन्ने चिन्ता अझ ठूलो थियो ।

त्यतिबेला हामीलाई अनुभव भयो–– सबैभन्दा पहिलो प्राथमिकता स्वास्थ्यकर्मीको सुरक्षा हो । तर, यही पक्षमा ठूलो कमजोरी देख्यौं । हामीले विभिन्न क्षेत्र पुगेर सर्वेक्षण गर्‍यौं । स्वास्थ्यकर्मीका कुरा सुन्यौं । पूर्वाधार अभाव भएका कर्णाली, सुदूरपश्चिम र २ नम्बर प्रदेशका विकट स्थानमा कोरोना संक्रमणको जोखिम झनै उच्च थियो । किनकि यी क्षेत्रमा भारतबाट आएको ठूलो जनसंख्या बसोबास गर्दछ । ती प्रदेशका स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षा अवस्था कमजोर थियो । उनीहरूको आत्मबल बलियो बनाउनुपर्ने आवश्यकता थियो ।

अनि हामीले पहिलो चरणमा तत्काल पूर्वदेखि पश्चिमका ४८ वटा स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीका लागि सक्दो उपचार सामग्री र पीपीई उपलब्ध गरायौं । प्रदेश नम्बर १ अन्तर्गत अस्थायी कोरोना सेन्टर (विराटनगर), मेची अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, उदयपुर जिल्ला अस्पताल, कोशी अस्पताललगायत स्थानमा यी सामग्री बाँड्यौं ।

त्यस्तै, प्रदेश नम्बर २ का जानकी मेडिकल अस्पताल (जनकपुर), प्रादेशिक केन्द्र अस्पताल (जनकपुर), स्वाब परीक्षण प्रयोगशाला (जनकपुर), नारायणी अस्पताल (वीरगन्ज), कौडेना स्वास्थ्य केन्द्र (सर्लाही), मलंगवा अस्पताल (सर्लाही), राजबिराज अस्पताललगायत स्थानमा पनि सुरक्षा सामग्री वितरण गर्‍यौं ।

त्यसैगरी प्रदेश नम्बर ३ का कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, मनमोहन मेमोरियल हस्पिटल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, माइती नेपाल, कोरोना उपचार केन्द्र (भक्तपुर), चितवन अस्पताल, हेटौंडा अस्पताल, सशस्त्र प्रहरी बल मुख्यालय, शिर अस्पताल (काभ्रे) लगायत स्वास्थ्य संस्थामा पीपीई उपलब्ध गरायौं । त्यस्तै, प्रदेश ४ अन्तर्गत नलवपरासीका मध्यबिन्दु अस्पताल, दुम्कौली स्वास्थ्य चौकी, पिताउन्जी स्वास्थ्य केन्द्र, प्रगतिनगर स्वास्थ्य केन्द्र र सहज अस्पताल, पोखराको मातृशिशु मितेरी अस्पताल, पर्वत/बागलुङ/गोरखा जिल्ला अस्पताललगायत स्थान पुगेर सुरक्षा सामग्री वितरण गर्‍यौं । प्रदेश नम्बर ५ का भीम अस्पताल (भैरहवा), लुम्बिनी प्रादेशिक अस्पताल (रुपन्देही) आयुर्वेद अस्पताल (दाङ), प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज), पाल्पा जिल्ला अस्पताल, रेउघा अस्पताल (रोल्पा), बर्दिया जिल्ला अस्पताल, देवदह क्वारेन्टिन सेन्टर (रुपन्देही), सहस्त्र प्रहरी अस्पताल (कोहलपुर) लगायत स्वास्थ्य केन्द्रमा पनि यी सामग्री उपलब्ध गरायौं ।

यो पूर्ण नभए पनि स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न यसले केही मद्दत पुर्‍यायो भन्ने हाम्रो विश्वास छ । सीमित स्रोत-साधनका बीच जीवनको जोखिम मोल्दै अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरू नै चौधरी फाउन्डेसनका लागि प्रेरणाका स्रोत हुन् ।

दोस्रो चरणको सबैभन्दा ठूलो चुनौती थियो–– परीक्षण किटको । विभिन्न क्वारेन्टिन, आइसोलेसन सेन्टरमा बसिरहेका र कोरोनाका लक्षण देखिएका नागिरकलाई तत्काल परीक्षण गरी उपचार नथाल्ने हो भने विकराल रूप लिन सक्ने सम्भावना थियो । हामीले सर्वेक्षणका क्रममा थाहा पायौं कि मुलुकभर दुईवटा केन्द्रमा मात्रै ‘पीसीआर रिएजेन्ट’ मार्फत परीक्षण सम्भव थियो । त्यसमाथि ती केन्द्रको क्षमता अत्यन्त न्यून थियो । ‘पीसीआर रिएजेन्ट’ उपलब्ध थिएन । साथै, एन-९५ मास्कको अभाव पनि उत्तिकै थियो । अनेक कसरतका बीच हामी विदेशबाट यी सामग्री ल्याउन सफल भयौं । यसै क्रममा सरकारले ५ वटा मुख्य स्वास्थ्य केन्द्रमा हाम्रा ‘पीसीआर रिएजेन्ट’ सँग सामञ्जस्य (compatible) मिल्ने उपकरण जडान गर्‍यो । त्यसपछि हामीले माननीय स्वास्थ्यमन्त्री भानुभक्त ढकालज्यूलाई १ हजार ‘पीसीआर रिएजेन्ट’ उपलब्ध गरायौं ।

तेस्रो चरणअन्तर्गत हामीले अतिसंवेदनशील कर्णाली, सुदूरपश्चिम र प्रदेश नं. २ मा ध्यान केन्द्रित गर्‍यौं । सुदूरपश्चिम प्रदेशका सेती अस्पताल (कैलाली), डडेलधुरा/दार्चुला/बैतडी जिल्ला अस्पताल, महाकाली नगरपालिकालगायत तथा कर्णाली प्रदेशअन्तर्गत प्रादेशिक अस्पताल (सुर्खेत), चौरजहारी अस्पताल (पश्चिम रुकुम)लगायत अन्य स्थानमा उपचार र सुरक्षा सामग्री उपलब्ध गरायौं । प्रदेश नम्बर २ का जनकपुर, वीरगन्ज, सप्तरी, महोत्तरी, रौतहट, सर्लाही, सिरहा लगायत जिल्लाका अस्पताल तथा अन्य स्वास्थ्य केन्द्रमा पनि यी सामग्री हस्तान्तरण गर्‍यौं । तेस्रो चरणसम्म आइपुग्दा हामीले सामग्री वितरण गरेका स्वास्थ्य केन्द्रको संख्या ११९ पुगेको छ ।

हामीलाई थाहा छ–– माग र आपूर्तिको अनुपात हेर्ने हो भने हामीले उपलब्ध गराएका सामग्री थोरै हुन् । हामीले आफ्नो क्षमताले भ्याएसम्म थोरै भए पनि प्रयास गर्‍यौं । यस कुरामा हामीलाई सन्तोष लागेको छ ।

हामीले देखेका छौं–– २०७२ को महाभूकम्प, पटक-पटक सताउने बाढीपहिरो, आगलागीजस्ता आकस्मिक प्राकृतिक विपत्तिसँग जुध्न सक्ने हाम्रो क्षमता अत्यन्त कमजोर छ । यस्ता दुर्घटना भएपछि मात्र हामी चनाखो हुन्छौं । पूर्वाधार, उपकरण र जनशक्ति जुटाउन लागिपर्छौं । विपत्तिको कहर सकिएपछि हामी चुपचाप सेलाउँछौं । यी दुर्घटनासँग जुध्न आवश्यक पूर्वाधार, उपकरणको जोहो गर्न बिर्सिन्छौं । त्यसैले मुलुकका सातै प्रदेशमा सरकारी/गैरसरकारी निकाय र निजी क्षेत्रको सहभागितामा Disaster Response Centre (DRC) स्थापनाका लागि प्रयास थालिनुपर्छ । यस्तो DRC, जसले यस्ता विपत्ति आउनासाथ तत्काल आफूलाई ती क्षेत्रमा पुर्‍याउन सकोस् । त्यहाँका पीडितलाई सुरक्षित स्थानमा ल्याउन सकोस् । र, उनीहरूलाई तत्काल उपचार गर्न सकोस् ।

DRC का दुईवटा पाटा छन् । एउटा–– संक्रमण फैलिने कोरोना, बर्डफ्लु, स्वाइनफ्लु जस्ता रोग, जसको उपचारका लागि छुट्टै खाले पूर्वाधार आवश्यक पर्दछ । यो अत्यन्त संवेदनशील काम हो । यसका लागि विशिष्टकृत पूर्वाधार चाहिन्छ । अर्को भनेको भूकम्प, बाढीपहिरो, आगलागीजस्ता प्राकृतिक विपत्तिसँग जुध्ने संरचना हो । हाम्रा भगिनी संस्था, फाउन्डेसनका साझेदारसँग मिलेर यो क्षेत्रमा के गर्न सकिन्छ भनेर योजना र रणनीति तय गर्ने काममा जुटेका छौं ।

हामीलाई खुशी छ–– कोरोनासँग जुध्न राष्ट्रले आफूलाई धेरै हदसम्म सक्षम बनाएको छ । विभिन्न स्थानमा क्वारेन्टिन खुलेका छन् । त्यहाँ आवश्यक सामग्री पुग्न थालेका छन् । परीक्षण केन्द्र पनि ठाउँ-ठाउँमा सञ्चालन भइरहेका छन् । परीक्षणको रफ्तार बढेको छ । पिछडिएका ठाउँहरूबाट समेत स्वाब संकलन गरी केन्द्रहरूमा पुर्‍याउन स्वास्थ्यकर्मी, नेपाली सेना/हेलिकोप्टर परिचालन भएका खबर सुन्न थालेका छौं । यसबाट थाहा हुन्छ–– कोरोनासँग लड्न अब हामी सक्षम हुन थालेका छौं ।

हामीले तीन चरणको अभियानमा मुलुकभरिबाट अपार माया, सदभाव र सहयोग पायौं । कतिका माग पूरा गर्न नसकेको दु:ख हामीलाई छ । हाम्रो सीमितता बुझेर उहाँहरूले देखाउनुभएको धैर्यप्रति आभारी छौं । हाम्रो अभियानलाई साथ दिने नेपाल सरकार, प्रदेश सरकार, मुख्यमन्त्री, स्वास्थ्यकर्मीसँगै अहोरात्र देशभर खटिएका चौधरी फाउन्डेसनका सहकर्मीहरूलाई ह्रृदयदेखि धन्यवाद दिन चाहन्छु । #FightAgainstCOVID19

सम्बन्धित खबर

Back to top button