जन सरोकार

घरमै बसी नक्सा प्रिन्ट, राजश्व भुक्तानी गर्न सकिने 'मेरो कित्ता' शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले घरजग्गाको कारोबार, जानकारी लिनेदिने, राजश्व तिर्ने लगायतका काम घरबाटै गर्न सकिने गरी अनलाइन सेवा शुभारम्भ गर्नुभएको छ । घरमै बसेर जग्गाको नक्सा प्रिन्ट, राजश्व भुक्तानीलगायतका व्यवस्थासहितको ‘मेरो कित्ता’ अनलाइन सेवा बिहीबारबाट शुरु भएको छ ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घर जग्गाको नक्शा प्रिन्ट गर्न र त्यसवापतको शुल्क बुझाउन कार्यालय धाइरहनु नपर्ने विभागले जनाएको छ । ‘मेरो कित्ता डट डीओएस डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिने विभागका अधिकारीको भनाइ छ ।

सुरुमा काठमाडौं र भक्तपुरका दुई कार्यालयबाट शुरु भएको नेपाल सरकारको मेरो कित्ताको वेबसाइट लगइन गरेर यो सेवा लिन सकिन्छ । यो सेवा क्रमशः देशभरबाट पाइने नापी विभागले जनाएको छ ।

मेरो कित्ता सेवा शुरु भएपछि नापी कार्यालयमा हुने भिडभाड र होहल्ला कम हुनुका साथै सेवाग्राहीलाई सुविधा हुने विभागका अधिकारीहरू बताउँछन् । नापी विभागका सूचना अधिकारी दामोदर ढकालले अनलाइन सेवाबाट हुने लाभका विषयमा यसरी प्रष्ट पार्नुभएको छ ।

१. मेरो कित्ताबाट के गर्न मिल्छ ?

नापी कार्यालयबाट दुई प्रकृतिका सेवा प्रवाह हुन्छन् । एउटा मालपोतमा जानुपर्ने सेवा हुन्छ, अर्को सीधै नापी कार्यालयबाट लिन सक्ने सेवा हुन्छ । तीमध्ये मेरो कित्ताबाट ब्लुप्रिन्ट नक्सा, कित्ताकाट गर्दाखेरिको विवरण र फिल्डबुक प्रिन्ट गर्न मिल्छ । यसैगरी जग्गा धनीले प्राविधिकहरूलाई बोलाएर मेरो जग्गाको नापजाँच गर्दिनुस् भनेर अनुरोध गर्दै निवेदन पनि दिन सक्छन् ।

वित्तीय संस्था वा कुनै संस्थागत लगइनका लागि युजर नेम र पासवर्डको व्यवस्था गरिएको छ । नापी विभागले क्यूआर कोडको व्यवस्था गरेको छ ।

कुनै व्यक्तिले आफ्नो प्रयोजनका लागि अर्थात् घरमा राख्नका लागि पनि प्रिन्ट गर्न चाहन्छन् । उनीहरूले क्यूआर कोडमार्फत् गरे पनि त्यो भ्यालिड हुन्छ । कुनै संस्थामा पेस गर्नुपर्ने हो भने उहाँहरूले संस्थागत युजरको रूपमा दर्ता भएर आफैं लिनसक्नु हुन्छ ।

मेरो कित्ता सेवा शुरु भएपछि नापी कार्यालयमा हुने भिडभाड र होहल्ला कम हुनुका साथै सेवाग्राहीलाई सुविधा हुने विभागका अधिकारीहरू बताउँछन् ।
अनलाइनमार्फत् नै राजश्व तिर्न सकिन्छ । तोकिएको राजश्व (शुल्क) हामीले म्यासेजमार्फत् पठाउँछौं ।

२. आधिकारिक हुन्छ त ?

मानौं कुनै व्यक्तिले प्रिन्ट गर्नुभयो । त्यो लगेर कुनै संस्थामा पेस गर्नुभयो । उहाँहरूलाई आधिकारिकताको सम्बन्धमा केही समस्या भयो वा केही जिज्ञासा भयो भने उहाँले संस्थागत युजरको हिसाबले लगइन गरेर भेरिफाइ गर्ने व्यवस्था पनि गरिएको छ ।

संस्थागत युजर भए पनि संस्थाले नक्सा प्रिन्ट दिने होइन । संस्थाले पनि व्यक्तिकै लिने हो । नक्सा पास गर्न तपाईं–हामी पालिकामा गयौं भने पालिकाले पनि हाम्रै नक्सा खोज्ने हो । त्यो अवस्थामा राजश्व व्यक्तिले तिर्ने र संस्थाले आफ्नो लगइन, युजरबाट रिक्वेस्ट गर्न सकिने व्यवस्था छ ।

३. चार किल्ला प्रमाणित

चार किल्ला प्रमाणित गर्नका लागि सेवाग्राहीहरू कार्यालयसम्म धाइरहनु पर्दैन । राजश्व बुझाएर निवेदन सबमिट हुन्छ । त्यो निवेदन फस्ट कम, फस्ट सर्भको आधारमा कार्यालयमा दर्ता हुन्छ । निवेदन प्राप्त भएको मितिले १५ दिनसम्ममा फिल्डमा जानुपर्ने समय तोक्नुपर्ने छ भन्ने हाम्रो निर्देशिकामा भएको व्यवस्था बमोजिम हामीले सेवाग्राहीलाई यो मितिमा, तपाईंको क्षेत्रमा रेखांकनका लागि कार्यालयका प्रतिनिधि आउँदैछन्, तपाईं आफ्नो तयारी गरेर बस्नुहोला भन्ने सूचना प्रवाह गर्छौं । यसो हुँदा सेवाग्राही कार्यालयमा धाइरहनु पर्दैन, आफ्नै ठाउँमा तयारी गरेर बस्दा हुनेभयो ।

४. कहाँ–कहाँ लागू भयो ?

देशभर १२६ वटा कार्यालयहरू छन् । बिहीबारबाट सेवाग्राहीको बढी भिडभाड हुने डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयबाट यो सेवा प्रवाह भएको छ । यो हप्ताभित्र उपत्यकाभर र त्यसपछि बाँकी कार्यालयहरूमा क्रमशः कार्यान्वयन गर्दै जान्छौं ।

५. अन्य कार्यालयमा किन ढिलाइ ?

देशभरको डाटा केन्द्रको सर्भरमा राख्नुपर्ने हुन्छ । सर्भरमा डाटा क्लिनअपदेखि लिएर धेरै तयारी गर्नुपर्ने हुन्छ । हामीले सेवा अवरुद्ध गरेर यो काम गर्न सम्भव छैन । गर्नु पनि उचित हुँदैन । सेवा प्रवाह र डाटा क्लिनअपलगायतका काम सँगसँगै गर्नुपर्ने भएकाले पनि देशभर एकैपटक कार्यान्वयनमा ल्याउन नसकिएको हो । पहिलो कारण यही हो । दोस्रो कारण भनेको हाम्रो इन्टरनेट स्पिड, फाइबर कनेक्टिभिटी, इन्ट्रानेटको व्यवस्था, कार्यालयका पूर्वाधारहरू पनि हामीले तयार गर्नुपर्ने छ । त्यसैले हामी क्रमशः जान खोजेका छौं ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.