जन सरोकार

स्वरूप फेर्दै वाल्मीकि विद्यापीठ

“गणेशको आकृति त दुरुस्तै बनेको छ । व्यासको चाहिँ अलि मिलिसकेको छैन”, अध्यापक र विद्यार्थी परिसरमा उभिएर दङ्ग पर्दै भलाकुसारी गर्दैछन् । वाल्मीकि विद्यापीठ (क्याम्पस) परिसरका भित्तामा कला–मजदूरहरूले रङगरोगनसहित चित्र कोर्ने काम गरिरहेका छन् । सरस्वती र बुद्धको चित्र पनि कोरिँदैछ ।

विगतमा कच्ची सडकजस्तो देखिने क्याम्पसको परिसर अहिले ब्लक राखेर ढलान गरिएको छ भने विगतमा फोहोर देखिने यही ठाउँ अहिले सफासुग्घर देखिएको छ ।

मर्मतपछि अहिले विद्यापीठको प्वाल परेको छत टालिएको छ । अहिले छानो चुहिँदैन, शौचालयमा दुर्गन्ध छैन । प्रवेशद्वारमा खुलारूपमै बग्ने ढल अहिले टुकुचासम्म व्यवस्थापन भएको छ । गुणस्तरीय पिउने पानीको उपलब्ध भएको छ ।

‘पाँचौँ वेद’ ‘महाभारत’ लेख्न बस्दा व्यासले संस्कृतमा श्लोक भन्दै जाने र गणेशले टिप्दै जाने गरेर कथा पूरा गराएको पौराणिक किंवदन्ती छ । हिन्दू धर्ममा गणेशको पूजा गर्दा ज्ञान, विवेक, प्रसिद्धी, ख्याति र धन पाउन सकिने विश्वास गरिन्छ भने व्यासलाई भगवान् विष्णुका २४ अवतारमध्येका एक मानिन्छ ।

परिसरमा उहाँहरूको आकृतिले विद्यापीठलाई वास्तविक पाठशाला बनाएको अनुभव हुन थालेको छ । परिसरको बीच भागमा राखिएको पं सोमनाथ सिग्द्यालको अर्धकदको मूर्तिलाई पनि अहिले सजाइएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयको एक मुख्य पहिचानका रुपमा काठमाडौंँ महानगरपालिका वडा नं २८, प्रदर्शनीमार्गस्थित सो क्याम्पस मर्मत सम्भारपछि चिटिक्क बनेसँगै यहाँ अहिले बेग्लै प्रकारको चहलपहल देखिन्छ ।

विश्वविद्यालयका कुलपति प्रा डा यादवप्रकाश लामिछानेले आफू पदमा आएपछि क्याम्पस अनुगमन गर्न जाँदा देखिएको अस्तव्यस्तता र जीर्णावस्था देखेर कार्यकारी परिषद्बाट रु ५० लाख विद्यापीठलाई मर्मतका लागि निकासा दिने निर्णय गराइएपछि हाल सुधारका काम भएको बताउनुभयो । विश्वविद्यालयका कुलसचिव माधव अधिकारी विद्यापीठकै पूर्वविद्यार्थी भएकाले पनि सो अनुदानको निर्णयका लागि सहज भएको थियो ।

कुनै निकायमा नयाँ योजना वा बजेट पर्नु मात्रै महत्वपूर्ण होइन, केका लागि माग्ने भन्ने योजना पेस गर्न सक्ने र त्यसको उपयोग गर्न सक्ने क्षमता पनि कार्यान्वयनकर्ता पक्षसँग हुनुपर्छ । विसं २०७७ फागुन १३ मा नियुक्त भएदेखि नै क्याम्पसका प्रमुख प्रा डा भागवत ढकालमा पुनःनिर्माण र मर्मतका लागि तीव्र हुट्हुटी थियो, जुन अहिले पनि अन्त्य भएको छैन ।

उहाँकै आग्रहमा कामपा–२८ का सहयोगमा ढल व्यवस्थापन, परिसरमा ब्लक राख्ने जस्ता काम भएको छ भने हेल्पिङ हेन्डको रु १५ लाख सहयोगमा गुणस्तरीय खानेपानीको व्यवस्था भएको छ ।

अरूको सुझाव, आफ्नै रुचि र रहरले संस्कृत विषय पढ्नेहरूको सङ्ख्या अहिले पनि कम छैन । विद्यापीठमा प्राक्शास्त्रअन्तर्गत अनिवार्य व्याकरण, अनिवार्य संस्कृत भाषा, वेद, व्याकरण, न्याय, ज्योतिष, शास्त्रीमा संस्कृत, अङ्ग्रेजी, नेपाली, ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, ब्याकरण, नव्यन्याय, प्राचीनन्याय, साहित्य, सिद्धान्तज्योतिष, फलितज्योतिष, इतिहासपुराण, पूर्वमीमांसा, शाङ्कर वेदान्त, धर्मशास्त्र, सर्वदर्शन, तन्त्रयोग, बौद्धदर्शन, प्राच्यराजशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, गणितलगायत पढाइ हुन्छ ।

आचार्यतर्फ चारै वेद, नव्यन्याय, प्राच्यराजशास्त्रलगायत विषय अध्यापन हुन्छ । अहिले छ महिने कोर्सअन्तर्गत कर्मकाण्ड र योग तथा प्राकृतिक चिकित्साको पनि पढाइ तथा अभ्यास हुँदै आएको छ । यस्ता कोर्समा पूर्वराष्ट्रसेवक र समाजका विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता हुने गरेको क्याम्पस प्रमुख ढकालको भनाइ छ ।

काठमाडौँको केन्द्रमा रहेको २२ रोपनी १२ आना जग्गा रहेको सो विद्यापीठले दरबार हाइस्कुल (संस्कृत मावि), रानीपोखरीमा एकवर्षे शिक्षाशास्त्र कार्यक्रम सञ्चालन गर्दै आएको छ । सबै तहमा गरी हाल करिब एक हजार विद्यार्थी र १६५ शिक्षक छन् ।

वाल्मीकि विद्यापीठ नेसंविका १४ आंगिक क्याम्पसमध्येको एक त्यस्तो क्याम्पस हो जहाँ अहिले पनि धर्मशास्त्र, ज्योतिष, वेद आदि विषयमा परामर्श लिन मानिसहरू आउने गर्छन् । यहाँ रहेका १७ विभागले त्यस्तो परामर्श दिने गर्छन् ।

विसं २००९ मा ‘राजकीय संस्कृत महाविद्यालय’ का नाम दिइएको सो संस्था विसं २०२४ मा वाल्मीकि संस्कृत महाविद्यालय र २०३० सालपछि वाल्मीकि विद्यापीठ नामकरण भएको थियो । विसं २०४३ मा तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयको आंगिक विद्यापीठका रूपमा यसले मान्यता पाएको थियो ।

इतिहासमा संस्कृत शिक्षा

नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ बनाई संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्यमान्यता तथा उदात्तभावलाई समयको मागअनुरूप प्रवाहित गराउने उद्देश्यले बेलझुन्डी दाङमा २०४३ साल मङ्सिर २५ मा विधिवत् रूपमा नेसंवि (तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय) स्थापना भएको हो ।

नेपालमा संस्कृत शिक्षाको संस्थागत एवं तहगत विकास गर्ने केन्द्रका रूपमा विकसित गर्ने उद्देश्यानुरूप तत्कालीन राजा महेन्द्रले सुरुआत गरेको कामलाई राजा वीरेन्द्रको सक्रियता तथा संस्कृत अनुरागी नेपाली जनताको त्याग र अथक परिश्रमबाट हालको नेसंवि स्थापना भएको हो । नेपालमा गणतन्त्रको स्थापनापछि २०६३ सालमा यसको नाम परिवर्तन भई नेसंवि रहन गयो ।

नेपालमा उच्च तहसम्म सुव्यवस्थित किसिमले संस्कृत शिक्षाको पठनपाठन गराई दक्ष जनशक्ति उत्पादन गर्ने, संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्दै ‘वसुधैव कुटुम्बकम’, ‘सर्वे भवन्तु सुखिनः’ जस्ता उदात्त भावना प्रवाहित गराउने, नेपालमा अति प्राचीनकालदेखि नै रहँदै आएको संस्कृत विद्याको गौरवमय परम्परालाई निरन्तरता दिई संस्कृत शिक्षामार्फत आत्मनिर्भर जनशक्ति तयार गरी राष्ट्रिय आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विद्यापिठको स्थापना भएका हो ।

त्यसै गरी सामाजिक आश्यकतानुसार संस्कृत वाङ्मयमा अन्तर्निहित शास्त्रीय तथा प्रायोगिक विषय आयुर्वेद, योग तथा प्राकृत चिकित्साजस्ता बहुपयोगी विषयको अध्ययन, अनुसन्धान तथा प्रशिक्षण गराई ज्ञानविज्ञानका पक्षलाई उजागर गर्ने र प्राचीन वाङ्मयमा निहित परम्परागत धर्म, नैतिक मूल्यमान्यता, सदाचार र सच्चरित्रको परिपालना गर्दै संस्कार, सभ्यताजस्ता विशिष्टताको खोजी गरी तिनको संरक्षण र सम्बद्र्धन गर्ने ध्येय सो विश्वविद्यालयको स्थापना भएको हो ।

राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले विसं १९३९ मा स्थापना गरेको राजराजेश्वरी पाठशाला विसं १९४२ मा रानीपोखरी पाठशालामा रूपान्तर भएको थियो । काठमाडाैँ उपत्यकामा संस्कृत भाषाको पठनपाठन यहीँबाट आरम्भ भएको हो । विसं १९९० मा छिमेकी भारतको वाराणसीस्थित ‘गभर्नमेन्ट संस्कृत कलेज’ बाट सम्बन्धन लिई यसै पाठशालामा संस्कृतमा उच्च तहको तथा विसं २००४ देखि संस्कृतका अतिरिक्त आधुनिक विषयको पनि पठनपाठन हुन थालेको थियो ।

प्रमुख ढकालले भौतिक पूर्वाधारका साथै प्राज्ञिक क्षेत्रमा पनि आफू आएपछि सुधारका पहल भएको बताउँदै कोभिड–१९ को बन्दाबन्दी समयमा समेत भर्चुअल माध्यमबाट वेदमा के छ, इतिहासपुराणको आवश्यकता किन जस्ता विषयमा संवादका शृङ्खला चलाइएको जानकारी दिनुभयो ।

अहिले प्राध्यापकका लागि अलग्गै कक्षा निर्माण गरिएको तथा सेवानिवृत्त हुने प्राध्यापकका विशेष सम्मानमा बिदाइ कार्यक्रम राख्ने परम्परा बसाइएको छ । अनुसन्धानमूलक जर्नलको प्रकाशन पनि हुन थालेको छ । यी सबै सुधारका काममा आफूले विद्यार्थी, प्राध्यापक र कर्मचारीको साथ पाएको विद्यापीठ प्रमुख डा ढकालले बताउनुभयो ।

क्याम्पसले सटरको भाडा समयमा नउठ्ने, कम मूल्यमा भाडा लगाइने, समयमा सम्झौता नवीकरण हुने, अख्तियार दुरुपयोग अनुन्धान आयोगमा मुद्दा खेपिरहने जस्ता समस्या समाधान गर्दै बोलपत्र आह्वान गरेर भाडावृद्धिसहित सम्झौता गराएर आम्दानी बढाउन पनि थालेको छ । भाडाबाट मात्रै हाल क्याम्पसलाई मासिक रु करिब २० लाख आम्दानी हुने गरेको छ । सो आम्दानी विश्वविद्यालयकै खातामा जम्मा हुन्छ । कुनै शीर्षकमा खर्च गर्नुपरेमा विश्वविद्यालयका अनुमति दिनुपर्ने हुन्छ ।

कामपा–२८ वडाध्यक्ष भाइराम खड्गीले सो क्याम्पसमा ब्लक छाप्ने र ढलान गर्ने काम गरिएको जनाउँदै आवश्यकतानुसार बजेटले भ्याएसम्म वडाभित्रका सबै सार्वजनिक शैक्षिक संस्थालाई सहयोग गरिने बताउनुभयो ।

पुस्तकालय भवन लागि बजेटको खोजी

प्रमुख ढकाल विनाशकारी भूकम्पबाट प्रभावित पुस्तकालय भवन पुनःनिर्माण गराउनका लागि बजेट खोज्न लाग्नुभएको छ । उहाँले गत साता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय योजना आयोगका अधिकारीलाई सोका लागि रु २५ करोडको लागतसहित प्रस्तावना पेस गर्नुभएको छ ।

भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत यहाँस्थित भारतीय दूतावासका सहयोगमा पुस्तकालय पुनःनिर्माण हुने भनिए पनि निर्माणमा भारतीय कम्पनी मात्र समावेश हुन सक्ने बोलपत्रको प्रावधानका कारण दुईपल्ट बोलपत्र आह्वान गरिए पनि र ती कम्पनीले ताकिएको बजेट सीमाभन्दा बढी हुने गरी प्रस्ताव पेस गरेकाले प्रक्रिया अवरुद्ध भएको छ ।

विश्वविद्यालयका नयाँ चारवर्षे शास्त्री तहको कोर्सअनुसार सेटमा पुस्तक उपलब्ध नहुने जस्ता क्याम्पसका विद्यार्थीलाई समस्या हुने गरेको छ भने कक्षाकोठामा पर्याप्त सेतोपाटीको सुविधा उपलब्ध हुन सकेको छैन । यहाँ रहेको वेधशाला पनि हाल नचल्ने अवस्थामा छ । ग्रहको अध्ययन गर्न सकिने मौलिक प्रकारको सो वेदशाला नेपालमा अन्यत्र छैन । यसको पुनःस्थापना हुने तयारीमा छ ।

सो विद्यापीठका उपप्राध्यापक नवराज खतिवडा क्याम्पसको स्वामित्वमा रहेका जमिनमा आयमूलक हुने गरी भौतिक संरचना बनाउन सकिए विश्वविद्यालय अनुदान आयोगले प्राध्यापकको कोटा कटौती गरे पनि आफूहरुलाई समस्या नहुने तर्क गर्नुहुन्छ । “हाम्रो आफ्नै आम्दानी बढाउने हो भने शिक्षक पाल्न समस्या हुँदैन । यसबारे विश्वविद्यालय र क्याम्पस नेतृत्वले दीर्घकालीन योजना बनाउन आवश्यक छ, प्राध्यापकहरू साथ दिन तयार छौँ ।”

विद्यापीठका उपप्राध्यापक तेजविलास अधिकारी मर्मतसुधारबाट क्याम्पसको भौतिक क्षेत्रमा आकर्षण थपिएको जनाउँदै अब नयाँ तथा आधुनिक विषयलाई आचार्य तहमा अध्यायपन गराउन लाग्नुपर्नेमा जोड दिनुभयो । अनुसन्धानमूलक पत्रिका ‘मर्यादा’ को प्रकाशन सुरु थालेकामा पनि उहाँले प्रसन्नता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button