जल/वातावरण

काठमाडौं महानगर लगायतका स्थानीय तह विद्यालय बन्द गराउने विषयमा छलफल गर्दै

मुलुकभर कोरोनाको अर्को लहर सुरु भएसंगै स्वास्थ्य सुरक्षा मापदण्डमा कडाई गर्न विज्ञहरुको बारम्बारको सुझावपछि स्वास्थ्य तथा मन्त्रालयले बिहिबार कोरोना संक्रमणबाट अति प्रभावित राजधानी काठमाडौंसहित १४ जिल्लाहरुमा अप्रत्यक्ष रुपमा विद्यालय बन्द गर्न आव्हान गर्यो । मन्त्रालयले बन्द गर्नुभन्ने शब्द प्रयोग नगरी विद्यालय तथा भीडभाड हुने ठाउँमा नजान अपिल गरेपछि स्थानीय तहलाई विद्यालय बन्द गर्ने ढोका खुलेको छ ।

स्वास्थ्य मन्त्रालयको अपिल सार्वजनिक भएलगत्तै काठमाडौं महानगरपालिकाले विद्यालय सञ्चालनको विषयमा छलफल गरिरहेको छ । महानगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले मन्त्रालयको अपिल सार्वजनिक भएपछि नगर स्तरीय छलफलमा रहेको र तत्काल निर्णय गर्ने बताउनुभयो ।

उता ललितपुर महानगरपालिकाले भने विद्यालयबारे छलफल गर्ने तयारी गरेको शिक्षा शाखा प्रमुख महेन्द्र क्षेत्रीले जानकारी दिनुभएको छ । उहाँले स्वास्थ्य मन्त्रालयको अपिलपछि छलफल गर्ने तयारी गरिरहेको र केही दिनभित्रै निर्णय गर्ने बताउँदै अरु पालिकाले के गर्छ त्यसले पनि प्रभाव पार्ने बताउनुभयो ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिकाले भने आइतबारसम्म ठोस निर्णय गर्ने बताएको छ । महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारीले तत्काल निर्णय गर्नका लागि सम्बन्धित कर्मचारीहरु विदामा बसेका कारण सम्भव नभएको र आइतबारसम्म ठोस निर्णय गरिने बताउनुभयो ।

उता निजी विद्यालयको प्रतिनिधिमूलक संस्था एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय कुरिरहेको बताउँदै स्वास्थ्यको अपिलपछि शिक्षाले स्थानीय तहलाई दिने निर्देशन पर्खेर बसेको जानकारी दिनुभयो ।

त्यसो त काठमाडौंस्थित बृहस्पति सदन स्कुलले आइतबारदेखि विद्यालय बन्द गर्ने भएको छ । प्रधानाध्यापक कुमार थापाले जोखिम बढिरहेकोले आइबारदेखि वैकल्पिक माध्यामबाट विद्यार्थीलाई सिकाइसँग जोड्ने निर्णय गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.