राजनीति

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई हात्तीमैत्री बनाउनुपर्ने बताउनुभएको छ ।

डिभिजन वन कार्यालय झापाद्वारा मंगलबार झापामा आयोजित ‘अफसेट सोलार फेन्स हस्तान्तरण समारोह’मा  उहाँले वन क्षेत्रमा हात्तीलाई चाहिने आहारा, पानीलगायतको व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।

“हात्तीलाई छेक्नेभन्दा पनि आहारा व्यवस्थापन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “वनमा हात्तीले खाने कुरा छैन भने जति नै रोके पनि गाउँ बस्ती पस्छ ।” वन क्षेत्रमा बोटबिरुवा लगाउँदा हात्तीले खाने लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा कोशी वन निर्देशनालय धरानका वन निर्देशक इन्द्रमणि भण्डारीले मानव–हात्ती द्वन्द्वबाट मान्छे मात्र नभएर हात्ती पनि पीडित भएको बताउनुभयो । सामुदायिक वनको नाममा वन क्षेत्रमा मानिसको प्रवेश बाक्लो हुन थालेपछि मानव–हात्ती द्वन्द्व बढ्दै गएको उहाँले बताउनुभयो ।

“हात्तीले खाने र मन पराउने रुख र लहरा मान्छेले वनबाट ल्याउन थालेपछि हात्तीलाई आहार अभाव हुन थाल्यो”, उहाँले भन्नुभयो, “यसले गर्दा आहाराको खोजीमा हात्तीको प्रवेश बढ्दै गएको छ ।”

हात्ती नियन्त्रणका लागि जिल्लामा निर्माण भएका ७६ किलोमिटर सोलार फेन्स यहाँका २७ वटा समूहलाई हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समिति झापाका अध्यक्ष विश्वनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले झापा जिल्लामा मानव–हात्ती द्वन्द्व र सौर्य तारबारको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन, वन अधिकृत देवेन्द्र उप्रेती, एटीएनसीका सदस्य सचिव चन्द्र अधिकारी, सामुदायिक वन प्रतिनिधि जानुका ओलीलगायतले मानव–हात्ती द्वन्द्व घटाउनुपर्ने र सौर्य तारबारलाई बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.