बिचार

रोगभन्दा ठूलो शत्रु र स्वास्थ्यभन्दा ठूलो धन अरु केही हुँदैन

लक्ष्मी केसी महर्जन

कोरोना भाईरस बिशेष गरी मुटु, स्वासप्रश्वास, मधुमेह जस्ता रोग भएका व्यक्तिहरुमा अलि छिटो सर्ने हुँदा यस्तो खालको रोग भएका मानिसमा रोग प्रतिरोधात्मक शक्ति साधारण मान्छेमाभन्दा अलि कम हुने देखिन्छ, जस्तै खोक्दा, हाछ्यु गर्दा मुखबाट निस्कने थुकका छिट्टाहरुबाट अरुलाई सर्दछ । यो भाईरस अरु भाईरसभन्दा अलि बढी समय बाँच्न सक्ने हुँदा कुनै पनि कुरामा हेलचेक्राई नगरी सावधानी अपनाउन जरुरी हुन्छ ।

कोरोनाको कारण हाल बिश्वभर २१ लाखभन्दा बढी संक्रमित भइ झण्डै डेढ लाख मानिसहरुले मृत्युबरण गरिसकेका छन् । यो समय पूरा बिश्व नै लकडाउनको स्थितिमा पुगेको छ । बिकसित राष्ट्रहरुमा कोरोना भाईरस सम्बन्धी विभिन्न अनुसन्धानहरु जारी नै छ तर हालसम्म कुनै समाधान गर्ने खालको औषधि वा भ्याक्सिन भने पत्ता लाग्न सकेको छैन । यो भाईरसको संक्रमण दिन प्रतिदिन बढ्ने क्रम संगै त्यहि अनुपातमा मृत्युदर पनि बढी राखेको छ। यस्तो अवस्थामा सारा बिश्वले मानीरहेको घरै बस्नु नै अहिलेको लागि यो भाईरसबाट बच्ने एक मात्र अचुक उपाय हो ।

यो संकट एक वा दुईजनाका लागि मात्र होइन सबैको कामकाज अफिस ठप्प छ, त्यसकारण संयम, धैर्य, आशावादी भई त्रसित नबनी आत्मबल बढायौं भने रोगसंग लड्न सक्ने क्षमताको विकाससंगै केही हदसम्म सुरक्षित रहन थप उर्जा मिल्नेछ । हामी जो जहाँ छौ त्यही आत्मिय सामाजिक दुरी कायम गरी सम्पर्कमा रहनु बेस हुन्छ ।

अहिलेको परिस्थितिलाई हामीले जित्नै पर्छ । किनकि मानव जीवनमा रोगभन्दा ठूलो शत्रु र स्वास्थ्यभन्दा ठूलो धन अरु केही हुँदैन भन्ने कुरालाई मनन् गर्नु जरुरी हुन्छ । घरमै बसिराख्दा तनाब उत्पन्न भए अत्याधिक मात्रामा अल्कोहोल लगायत सुर्ती, चुरोट, खैनी जस्ता पदार्थहरुको सेवन नगरी शरीरलाई आराम हुनेखालको ब्यायाम, योग, ध्यान लगायतका कुराहरुमा जोड दिई स्वस्थ तथा तन्दुरुस्त राख्न सक्नुपर्छ । भोलिको दिनमा हामीसंग धन सम्पति, जायजेथा प्रशस्त हुँदाहुँ दैपनि स्वस्थ जीवन भएन भने त्यसको महत्व रहँदैन भन्ने कुरा बुझ्नु जरुरी छ । त्यसेैले आफन्त परिवारसंग टाढा नै हुनुहुन्छ भने पनि हतास नभई सम्बन्धित निकायले दिएका निर्देशनहरु पालना गरी बस्नु बुद्धिमानी रहन्छ किनकि मान्छे त आफ्नो बनाउन सकिन्छ तर रोग आफ्नो कहिल्यै पनि हुँदैन । हामी आम मानिसको ब्यस्त जीवनशैलीमा यो समय निकै चुनौतिपूर्ण समय हुँदै गर्दा नकारात्मकतामा पनि सकारात्मकता खोज्न सक्नु ठुलो उपलब्धि हुनेछ ।

बिश्वलाई नै उथलपुथलमा ल्याएको विषम परिस्थितिमा हाम्रो डाक्टर हामी आफै भई आफूलाई धैर्यताकायम गराउनु समयको माग हुनेछ जस्ले गर्दा हामी फेरी नयाँ जीवनको अनुभूति गर्न पाउने छौं। अहिलेको दुनियामा मानिसको यति ब्यस्त जीवनशैली छ कि आफ्ना बुबाआमा, छोराछोरी परिवारजन हरकोहीसंग समय बिताउने फुर्सद पाएका हुँदैनौ त्यसैले आफ्नो घरपरिवारसंग समय बिताउने एउटा सुवर्ण अवसरको रुपमा सदुपयोग गर्न सक्नुपर्दछ अनि मात्र हामी तनाब मुक्त हुनसक्छौ । आपतकालीन अवधि कहिलेसम्म रहन्छ भन्ने टुङ्गो नलागी राखेको अवस्थामा खानपिनमा विशेष ध्यान दिनु पर्ने हुन्छ, यो कुनै चाडपव होइन त्यसैले दिनकै भोजभतेर जस्तोगरी परिकारहरु बनाएर खानुभन्दा पनि भोकमरीलाई मध्येनजर गरी जोगाएर खानुपर्ने अवस्था देखिन्छ ।

हाल प्रायः मानिसहरु घरमै बसिरहेको अवस्थामा सबैको समय बिताउने माध्यम भनेको फेसबुक तथा सामाजिक संजाल भएको छ। यस्ता सामाजिक संजालहरुमा कोरोना सम्बन्धी सामाग्रीहरु थुप्रै पोस्ट तथा सेयर गरेको हामी देख्छौ । त्यसमध्य कति सत्य हुन्छन् त कति भ्रमपूर्ण हुन्छन्, त्यसैले अफवा फैलाइएको समाचारलाई भन्दा पनि भरपर्दो स्रोतबाट आएको समाचार सामग्रीलाई आधार मान्नु पर्ने देखिन्छ जसले गर्दा सत्यतथ्य कुरा वा सही सूचना पाइयोस् । सर्वप्रथम हामीले के बुझ्न जरुरी छ भने, यो हामीद्वारा सिर्जित समस्या होइन तर हामीले सावधानी अपनाएनौ भने यो हाम्रो समस्या हुन जानेछ त्यसैले सावधानी अपनाऔं सचेत रहौं आफू बचौं अरुलाई पनि बचाऔं ।

हामी बिदेशमा भएका नेपालीहरुको पनी कतिपय कम्पनीहरु बन्द भइसकेका छन् भने कति कामहरु सुचारु नै छन्, यस्तो बेला काममा सकेसम्म बिदा लिन मिले बिदा बस्ने र यदि जानु नै पर्ने भए सुरक्षाका उपायहरु पूर्णरुपमा अबलम्बन गर्नु पर्ने हुन्छ ।

सुरक्षाका केही उपायहरु

– मास्क तथा पन्जाको अनिवार्य प्रयोग गरौं

– नियमीतरुपमा साबुन पानीले कम्तिमा २० सेकेन्ड मिची मिची हात धुने र अल्कोहोलयुक्त ह्यान्ड सेनिटाइजर प्रयोग गर्ने

– हातहरु सफा नगरी आँखा नाक र मुखमा नछुने

– खोक्दा वा हाछ्यु गर्दा नाकमुखलाई टिस्यु, रुमालले अथवा कुहिनाले छोप्ने

– भिटामिन सी र डी युक्त खानेकुराहरुमा बदी जोडदिने

– आफ्नो शरीरको तापक्रम सम्भव भए सम्म दैनिक चेक गरि रेकर्ड राख्ने

– सकेसम्म सार्बजनिक यातायातको प्रोयोग कम गर्ने

– साथीभाईहरुसंगको भेटघाट केही समयको लागि बन्दै गर्ने

– अफिस वा घरमा रहदा पर्याप्त मात्रामा भेन्टिलेसन भएको ठाउँमा बस्ने

– बाहिर जादा लगाएको लुगालाई नधोइकन पुनः प्रयोग नगर्ने

– मुखलाई सुक्खा नराखी मनतातो पानीको चुस्की लगाईराख्ने

यदि जापानमै भएका व्यक्तिमा कोरोनाको शंका लागेमा 0120-296-004 मा (बिहान 10 देखि साँझ 5 बजे सम्म) सम्पर्क गरि नेपालीमै कुराकानी गरि उचित परामर्श लिन सकिन्छ। साथै अरु कुनै समस्या परेमा नेपाली राजदुताबास जापान (080 – 3246 – 2872 ) NRNA जापान हेल्प लाइन (080 – 9700 – 6011 ) NRNA जापान कोरोना भाईरस सहयोग संयन्त्र (090 – 6565 – 4748 ) र सम्बन्धित वडा कार्यालयमा पनी सम्पर्क गर्न सकिन्छ।

सिंगो मानव जगत कोरोनासंग लडीरहदा तपाईहरु पनि सकेसम्म सावधानी अपनाई घरमै बस्नु भएको होला । त्यस्तै म पनि घरमै बसीरहँदा केही लेख्न मनलाग्यो, थोरै आफ्नो ज्ञानलाई शेयर गरेको छु अन्यथा नलिनु होला । हजुरहरु पनि कहाँ कुन अवस्थामा बस्नु भएको छ, कही कतै सारै अप्ठ्यारो परेमा भन्नु होला है, सके सम्म सबैजना मिलिजुली समस्या समाधानको उपाय खोज्ने प्रयास गरौला ।

(लेखक महर्जन एनआरएनए जापान चिवा क्षेत्रीय समितिका महिला उपसंयोजक हुनुहुन्छ)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.