राजनीति

निर्वाचन सर्छ भनेर गरिएको प्रचार असत्य : प्रचण्ड

साँझसम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार सहमतिका आधारमा टुङ्गो लगाउने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापीरुपमा स्थानीय तहको निर्वाचनको प्रक्रियामा सबै राजनीतिक दल जनताकोबीचमा गइरहेका बेला निर्वाचन सर्छ भनेर गरिएको प्रचार सत्य नरहेको बताउनुभएको छ ।

“केही मानिसले त निर्वाचन हुने दिनको बिहानसम्म पनि निर्वाचन सर्दैछ रे नी हो ? भनेर जिज्ञासा राख्ने गरेको पाइन्छ । यो नेपालमा एक खालको प्रवृत्ति पनि देखिएको छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “गठबन्धनका आबद्ध दलका तर्फबाट यस्तो विषयमा कहीँकतै पनि चर्चा भएको छैन । यही वैशाख ३० गते नै निर्वाचन हुन्छ, गरिन्छ ।”

नेकपा (माओवादी केन्द्र) द्वारा पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेत्रविक्रम चन्द समूहलाई निर्वाचनमा सहभागी गराउने भन्दै निर्वाचन सार्न लागिएको छ रे नी ? भन्ने प्रश्नको जिज्ञासामा भन्नुभयो, “विप्लब समूहलाई निर्वाचनमा कसरी सहभागी गराउने भन्नेबारेमा गठबन्धन दलका बीचमा साझा मत छ ।

उहाँहरु पनि निर्वाचनमा सहभागी हुन्छौँ भनेर आउनुभएको छ । त्यसको सम्मान गर्नुपर्छ । तर निर्वाचन भने सर्दैन ।”

अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको रक्षाका लागि गठन भएको आफूहरुको गठबन्धनलाई नै जनताले पुनःसाथ दिने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा अध्यक्ष अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनले आज साँझसम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार सहमतिका आधारमा टुङ्गो लगाउने पनि जानकारी दिनुभयो । जानकारी दिनुभयो ।

काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगर गरी छ वटा महानगर पालिका छन् । त्यसमा नेपाली कांग्रेसले तीन वटा महानगरपालिका पाउनेछ भने माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले एक÷एक वटा महानगरपालिका लिने गरी सहमतिको नजिक पुगेको उहाँले जानकारी दिनुभयो । यही ढाँचामा उपमहानगरपालिकाको पनि नेतृत्व बाँडफाँट हुने बताइएको छ ।

त्यस्तै नगरपालिका र गाउँपालिकाको हकमा निर्णय गर्ने अधिकार जिल्ला समितिलाई नै दिइएको छ । जिल्ला समितिले टुङ्गो लगाउन नसकेका र मतैक्य हुन नसकेका स्थानमा भने केन्द्रकातर्फबाट सुझाव दिएर निष्कर्ष निकालिने उहाँको भनाइ छ ।

कतिपय जिल्लामा गठबन्धनले साझा उम्मेदवार तय गरी घोषणासमेत गरिसकेका छन् भने केही जिल्लामा छलफल जारी छ । निष्कर्ष निस्कन बाँकी रहेका जिल्लाकोसमेत छिट्टै परिणाम सार्वजनिक हुने अध्यक्ष प्रचण्डको भनाइ छ ।

फरक एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले आफूहरुलाई भरतपुर महानगरपालिका नै चाहिन्छ भनेर गरिएको प्रचारमा सत्यता नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनका दलबीच सहमति गर्दा, एउटा महानगरपालिका माओवादीले पाउने भन्ने छ । त्यसमा जुन सहज हुन्छ, त्यही लिने भन्ने कुरा हुन्छ । सोही दिशामा नै छलफल भइरहेको छ ।”

उहाँले माओवादीलाई महानगरपालिकामध्ये जुनसुकै एउटा दिए पनि हुन्छ भन्ने कोणबाट छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सहजताका हिसाबले जुन उपयुक्त लाग्छ, त्यही निर्णय हुन्छ ।”

साझा निर्वाचन चिन्ह बनाउन गाह्रो छ

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको खण्डमा साझा निर्वाचन चिन्ह बनाउने विषय प्राविधिक हिसाबले गाह्रो रहेको बताउनुभयो । गठबन्धनमा आबद्ध दलहरुकाबीचमा यसबारेमा समान्य छलफल भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “निर्वाचन आयोगले निर्वाचनको प्रक्रिया अगाडि बढाइसकेकाले केही जटिलता उत्पन्न हुन सक्छ । हाम्रो भनाइ भने जुन वडामा जुन पार्टीको उम्मेदवार हुन्छ, उसैको निर्वाचन चिन्ह प्रयोग गर्दा सजिलो भने हुन्छ ।”

उहाँले एउटै पार्टीभित्र त साझा मत बनाउन गाह्रो हुने भएकाले गठबन्धन गर्दा केही असन्तुष्टि र केही विवाद हुनुलाई लोकतन्त्रमा अस्वभाविकरुपमा लिन नहुने उल्लेख गर्नुभयो । साझा उद्देश्यका साथ एउटै मोर्चामा खडा भएका कारण सबै राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ताले साझा सङ्कल्पलाई आत्मसात् गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गठबन्धन कायम नभएका स्थानमा जो जससँग मिल्न सकिन्छ, त्यहाँ मिलेर जाने भन्नेमा सहमति रहेको बताउनुभयो ।

उहाँले आफ्नो पार्टीलाई मात्रै गठबन्धन आवश्यक नभएको भन्दै साझा उद्देश्यका साथ अगाडि बढेकाले त्यसमा दाँयाबायाँ नहुने स्पष्ट पार्नुभयो । माओवादीले एकलरुपमा निर्वाचन लड्नुपरे पनि त्यसको तयारी गरेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.