विश्व समाचार

न्यूयोर्क सिटीमा मुसाको पिसावका कारण संक्रमण बढ्दो

विश्व अर्थतन्त्रको केन्द्रका रुपमा चर्चित साम्राज्य राज्यको उपनाम रहेको संयुक्तराज्य अमेरिकाको न्यूयोर्क राज्यको न्यूयोर्क सिटीमा मुसाको पिसावबाट भएको संक्रमण बढ्दो छ ।

न्युयोर्क सिटीको हेल्थ एण्ड मेन्टल हाइजिन डिपार्टमेन्टका अनुसार सिटीमा मुसाको पिसावबाट मानिसमा लेप्टोस्पाइरोसिस नामको संक्रमणका धेरै केसहरु रिपोर्ट गरिएपछि स्वास्थ्य सचेतना जारी गरेको छ।

न्युयोर्क सिटीमा सन् २००१ देखि २०२३ सम्म लेप्टोस्पाइरोसिसका कारण कुल छजनाको मृत्यु भएको थियो । सामान्यतया मुसाको पिसाव वा पिसावबाट दूषित माटो र पानी सहित मुसाको पिसावले दूषित सामग्रीहरुबाट संक्रमण हुने गरेको पाइएको छ ।

गम्भीर लेप्टोस्पाइरोसिसबाट पीडितहरूको मृगौला र कलेजोले काम गर्न छाड्ने कहिलेकाहीं गम्भीर धमनी समस्याहरू हुने जनाइएको छ । संक्रमणबाट लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने, चिसो लाग्ने, मांसपेशी दुख्ने, वान्ता हुने, पखाला, खोकी, जन्डिस लगायत हुनसक्छन् ।

फोहोरको झोला वा खानाको फोहोर भएको डिब्बाहरू ह्यान्डल गर्ने व्यक्तिहरु बढी संक्रमणको जोखिममा हुन्छ । यो वर्षको पहिलो त्रैमासमा मात्र ६ वटा त्यस्ता संक्रमणहरु भइसकेका छन् ।

सन् २०२१ देखि २०२३ सम्म त्यस्ता सक्रमणहरु प्रतिवर्ष औषतमा १५ थिए भने सन् २००१ देखि २०२० सम्म प्रतिवर्ष औषतमा ३ मात्रै थिए । तर यो वर्ष अप्रिल १० सम्ममा नै ६ वटा संक्रमणहरु रिपोर्ट गरिएको छ ।

२००१ देखि २०२३ सम्म रिपोर्ट गरिएका ९८ संक्रमणहरु मध्ये संक्रमितको औषत उमेर ५० बर्ष थियो भने २० देखि ८० बर्षसम्ममा व्यक्ति संक्रमित भएका थिए । संक्रमितमध्ये ९४ प्रतिशत पुरुष थिए । संक्रमितहरुमध्ये ब्रोक्समा ३७, ब्रुकलिनमा १९, म्यानहट्टनमा २८, क्वीन्समा १० र स्टेटन आइल्याण्डमा ४ जना थिए ।

मानिसमा जस्तै लेप्टोस्पाइरोसिस कुकुरमा पनि देखिएको छ । न्यूयोर्कमा हरेक घरमा कुकुर पाल्ने र कुकुर मानिससंग हमेसा साथ रहने हुँदा कुकुरलाई पनि यसबिरुद्ध खोप लगाउन सूचित गरिएको छ ।

बच्ने उपाय

लेप्टोस्पाइरोसिसको सबैभन्दा सामान्य स्रोत मुसा रहेकाले यसको संक्रमणबाट बच्ने उत्तम उपाय भनेको मुसाको सम्पर्कबाट टाढा रहनु हो ।

लेप्टोस्पाइरोसिसबाट बच्न मुसाले पिसाब गरेको हुनसक्ने ठाउँहरूबाट टाढा रहने र तथा एक भाग ब्लीच र दश भाग पानीको घोल मिलाएर मुसा भएको ठाउँहरू सफा गर्नुपर्दछ ।

त्यसै गरी रबरको पन्जा लगाएर मुसाको पिसावको सम्पर्कबाट आफूलाई बचाउनुपर्दछ । मुसा बस्न सक्ने ठाउँहरूमा कुनै पनि सम्पर्क पछि साबुन र तातो पानीले आफ्नो हात धुनुपर्दछ ।

जहिले पनि फोहोर बाहिर निकाल्दा जुत्ता लगाउने र उष्णकटिबंधीय क्षेत्र (ट्रपिकल रिजन)हरूमा यात्रा गर्दा, जनावरको पिसाब हुनसक्ने पानीमा पौडी खेल्ने वा हिड्नु हुँदैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.