प्रबास

कोरोनाबाट विश्वभर २८ नेपालीको मृत्यु, ११ सयभन्दा बढी संक्रमित

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुग्दा तीनजना निको भएर फर्केका छन् भने अहिलेसम्म कसैको मृत्यु भएको छैन । तर विश्वभर दुई दर्जनभन्दा बढी नेपालीको यही भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

गैरआवासीय नेपाली (एनआरएनए)ले दिएको तथ्यांक अनुसार शनिबार साँझसम्म २८ जना नेपालीको मृत्यु भएकोमा सबैभन्दा धेरै बेलायतबासी रहेका छन् । बेलायतमा १७ जना नेपालीको कोरोनाका कारण निधन भएको छ । त्यसै गरी नेपालबाहेक विश्वभर एक हजार १६६ गैरआवासीय नेपाली अहिले कोरोनाबाट संक्रमित छन् ।

एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांक अनुसार बेलायतपछि अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको हो ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सको समूहले तयार पारेको सो आकडानुसार २१ देशमा रहेका नेपाली कोभिड –१९ बाट संक्रमित रहेको एनआरएन, कोभिड– १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभएको छ ।

संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा करिब सात सय, बेलायतमा दुई सय, संयुक्त युएईमा ७१, आयरल्याण्ड र पोर्तुगलमा २२–२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा पाँच, जर्मनी, बेल्जियम र साउदी अरबमा चारचार, क्यानडा र मलेसियामा तीनतीन, माल्टामा दुई तथा फ्रान्स, जापान, म्यान्मा र हङकङमा एकएक जना रहेको उपसमितिले जनाएको छ ।

एनआरएनका अध्यक्ष पन्तका अनुसार बिहीबार साँझसम्म दुई दर्जनभन्दा बढी देशमा १० हजारभन्दा बढी कोरोना पीडितका लागि राहत वितरण गरिएको छ । यसैबीच एनआरएन कोभिड १९ उच्चस्तरीय समितिको बैठक आज बस्ने भएको छ । संघका महासचिब डा हेमराज शर्माका अनुसार बैठकले कोरोना पीडितका लागि राहत वितरणको नयाँ नीति तय गर्ने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.