अर्थ

बाँकेमा ‘निर्माण होलिडे’ घोषणा

निर्माण सामग्रीमा मूल्यवृद्धि भएको भन्दै बाँके निर्माण व्यवसायी सङ्घले जिल्लामा ‘निर्माण होलिडे’ घोषणा गरी निर्माणकार्य ठप्प बनाएका छन् ।

यो घोषणासँगै चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका करिब रु सात अर्ब बराबरको ५०० सरकारी निर्माण आयोजनाका काम रोकिएको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष टेकबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँले ठेक्का सम्झौता हुँदाको बेलाभन्दा अहिले निर्माण सामग्रीको मूल्य अत्यधिक भएकाले व्यवसायी घाटामा जान थालेको उल्लेख गर्नुभयो ।

“पहिले गरिएको ठेक्कामा अहिले काम गर्ने अवस्था छैन, त्यसैले बाध्य भएर निर्माण होलिडे घोषणा गरेका हौँ”, अध्यक्ष खड्काले भन्नुभयो । सबैभन्दा बढी डिजेलमा २५ प्रतिशत, इँटामा ३३ प्रतिशत र फलाममा २४ प्रतिशत मूल्यवृद्धि भएको व्यवसायीले जनाएका छन् ।

सङ्घका लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेश चन्दले कतिपय व्यवसायीले साम्रगी खरिद गर्न नसकेकाले तनाव झेल्नुपरेको उल्लेख गर्दै अन्तिम विकल्पका रूपमा यो अवस्था आएको बताउनुभयो ।

सङ्घले निर्माण सामग्रीको जिल्लामा तोकिएको दररेट समायोजन गर्न, मूल्यवृद्धिलाई राहत हुने गरी निर्देशिका ल्याउन, निर्माण पूरा हुने म्याद थप गर्न माग गरेको छ । कतिपय व्यवसायीले कामका लागि कच्चा पदार्थसमेत नपाइएको र पछिल्लो भुक्तानीसमेत नपाइएको गुनासो गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.