समाचार

सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भएको छ : रामशङ्कर यादव

अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी भएको छ । ‘आफ्नो देश छाडेर परदेश नजाऊ’ भन्न राज्यले उनीहरूलाई परिवार पाल्न सक्ने रोजगारीको व्यवस्था गर्न सक्नुपर्छ । सरकार गठन र विघटनको शृङ्खलाले देशको विकास प्रयासमा अवरोध भएको छ । जनताले राजनीतिक स्थायित्व विकास चाहेका छन् । देश र जनताको हित गर्ने राजनीतिक पार्टीलाई सत्तामा पुग्नेगरी मत दिनुपर्छ । अनिमात्र देशको विकासमा ती दलले काम गर्ने वातावरण बन्छ ।

रामशङ्कर यादव

हामीले अङ्गीकार गरेको संसदीय अभ्यास सैद्धान्तिक रूपमा मलाई ठीक लागेको छ । यद्यपि कतिपय व्यावहारिक पक्षमा अझै सुधारको खाँचो छ । सदनभित्र हामी जरुरी विषयलाई थाँती राखेर अनावश्यक कुरामा बढी केन्द्रित भएको देख्छु । सदनभित्र सांसदहरूले कानुन बनाउने विषयमा बढी ध्यान दिनुपर्छ । तर कानुन अलपत्र परेको देख्दा सांसदको नाताले आफैँलाई हीनताबोध हुन्छ । पछिल्लो निर्वाचनपछि संसद्का तीनवटा अधिवेशन बसिसके, तर संसद्बाट जम्मा चारवटा कानुन पास भयो । सांसदको काममा कमी भयो । सांसदहरूको मनोबल नै कमजोर भएको छ । सांसदले शून्य र विशेष समयमा जनताका आधारभूत कुरा राख्छन्, तर ती कार्यान्वयन हुँदैनन् ।

राजनीतिमा म पनि धेरै समयदेखि क्रियाशील छु । तैपनि पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेको हुँ । देशका ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मुलुकका लागि जेजति गर्नुपर्ने हो त्यो गर्न सकेको देखिँदैन । देश र जनतालाई भुलेर आफ्नो स्वार्थका लागि अलि बढी काम गरेको जस्तो देखिन्छ । नेताहरूमा नैतिकता हुनुपर्छ । भ्रष्टाचार न्यूनीकरण नभएसम्म देश बन्दैन ।

राजनीति कमाउने पेसा होइन, यो समाजसेवा हो । सांसदहरूको पनि सोच अलि फरक छ । आफ्नो क्षेत्रमा बजेट लिएर जान पाए जनता खुसी हुने थिए भन्ने हरेक सांसदको सोचाइ हुन्छ । जनताले भोट दिएर जिताएका सांसदलाई विकास निर्माणको काम गर्नुपर्ने पनि जरुरी हुन्छ । जनताले विकासकै कामको आशा गर्छ । के–के विकास गर्यो त ? त्यो नै प्रश्न हुन्छ । ठूला नेता, प्रभावशाली सांसदले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका लागि धेरै बजेट लैजाने गलत प्रवृत्ति हाबी छ ।

सिराहा जिल्ला पञ्चायती व्यवस्थादेखि नै विकास निर्माणमा पछि परेको छ । त्यहाँको मुख्य समस्या खानेपानी र सिँचाइ हो । हामीजस्ता साना सांसदको जिल्लामा बजेट नै दिइएन । यसबाट जनतामा निराशा छ । खेतीबालीका लागि उर्वर यस क्षेत्रमा सिँचाइ अभाव किसानले भोग्नुपरिरहेकै छ । तर हाम्रो कुरा सुनुवाइ भइरहेको छैन । आगामी बजेटमा सरकारले सिराहाको विकासका लागि केही गर्छ कि ?

हामी नेपाली स्वाभिमानी छौँ । सङ्घीय व्यवस्था उपयुक्त व्यवस्था हो । यो व्यवस्थालाई खराब भन्न मिल्दैन । यो व्यवस्थामा अन्याय, भ्रष्टाचार, अनियमितता रोक्न जनता नै जाग्नुपर्छ । दलीय प्रणालीमा ‘ह्वीप’ जारी हुन्छ । सांसदले समर्थन गर्न मन नभए पनि गर्नुपर्ने बाध्यता हुन्छ । संसदीय व्यवस्थामा प्रधानमन्त्री देशका लागि समर्पित हुनुपर्छ । कर्मचारी संयन्त्र पनि स्वच्छ छविको हुनुुपर्छ । अनिमात्र देशमा सुशासन प्रत्याभूत हुनसक्छ ।

सांसद रामशङ्कर यादवको परिचय
सांसद रामशङ्कर यादवको जन्म २०१८ साल असोज १४ गते सिराहा जिल्लामा भएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट प्रत्यक्ष निर्वाचित सांसद यादव २०५६ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । विसं २०७८ मा एमाले केन्द्रीय सदस्य र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुँदै २०७९ मङ्सिर ४ को निर्वाचनमा उहाँ सिराहा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।
(सांसद यादवसँग राससका समाचारदाता कालिका खड्काले गर्नुभएको कुराकानीको सम्पादित अंश ।)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.