जन सरोकार

१० डिआइजीलाई दज्र्यानी चिन्हसहित सातजनाको पदस्थापना

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा हुनु भएका १० प्रहरी अधिकृतलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल सरकार, मन्त्रीस्तरको वैशाख ७ को निर्णयअनुसार बढुवा भएका उहाँहरुलाइ सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।

डिआइजीमा घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की, वसन्तकुमार पन्त, इश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसी बढुवा हुनुभएको हो । गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वको सिफारिस समितिले उहाँहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो ।

सोमबार नै प्रहरी महानिरीक्षक ज्ञवालीले गृह मन्त्रालय, सचिवस्तरको गत चैत १३ गतेको निर्णयले प्रहरी नियमावली २०७१ को नियम १२९ बमोजिम प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका पुरुषोत्तम राउत क्षेत्रीलाई समेत दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतलाई बधाइ तथा शुभकामना दिँदै जिमेवारीमा पूर्ण प्रतिबद्ध भई कार्यदक्षता प्रदर्शन गर्न निर्देशन दिनुभयो । प्रदेशस्तरमा समायोजन गर्ने चुनौती रहेको उल्लेख गर्दै उहाँले प्रदेश प्रमुखका रुपमा खटी जाने प्रहरी अधिकृतले आफ्नो भूमिका निर्वाह गर्न अझ बढी संवेदनशील, सचेत, अभ्यस्त र अध्ययनशील हुनुपर्नेमा जोड दिनुभयो ।

कोभिड १९ को कारण सिर्जना भएको विषम परिस्थितिमा खटिएका प्रहरी अधिकृत तथा जवानको सुरक्षा, स्वास्थ्य संवेदनशिलताका लागि आवश्यक सामग्रीको व्यवस्थापन तथा त्यसको सही प्रयोग, सुरक्षाकर्मीको परिचालनतर्फ संवेदनशील भएर अगाडि बढ्न समेत उहाँले निर्देशन दिनुभयो ।

पदोन्नति भएका अधिकृतको तर्फबाट प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले सङगठनले अङ्गिकार गरेका नीति एवम् जिम्मेवारीलाई व्यवसायिक निष्ठा, क्षमता, पारदर्शिता एवम् इमान्दारिताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसै गरी बढुवा गरिएकामध्ये ७ जना डीआईजीलाई प्रदेश प्रहरीको नेतृत्व दिइएको छ ।

जसअनुसार प्रदेश १ मा ईश्वरबाबु कार्की पठाइएका छन् भने २ नं. प्रदेशमा धिरजप्रताप सिंहलाई पठाइएको छ । बाग्मती प्रदेश प्रमुखमा वसन्त लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्र धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदी छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सहकुलबहादुर थापालाई पठाइएको छ । थापाले यसअघि अपराध अनुसन्धान महाशाखाको नेतृत्व गरिसकेका छन् । सीआईबीका डीआईजी निरज शाहीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पठाइएको छ ।

हाल प्रदेश नं. २ मा रहेका डीआईजी प्रद्युम्न कार्कीलाई विशेष ब्युरोको जिम्मेवारी दिइएको छ । यसअघि ब्युरोको नेतृत्व गरेका डीआईजी हरिबहादुर पाल एआईजीमा बढुवा भइसकेका छन् ।

डीआईजी अरुणकुमार विसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ भने प्रकाशजंग कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.