राजनीति

घरका खेताला थन्क्याएर बाहिरका खेताला खोज्ने काम भयो

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने सहमति गरी महानगर र उपमहानगरको भागवण्डा समेत गरिसकेको नेपाली कांग्रेसका नेताहरू अझै पनि तालमेल गर्न नहुने पक्षमा उभिएका छन् ।

उनीहरुले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन नगरी एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिंदै घरका खेताला थन्क्याएर बाहिरका खेताला खोज्ने काम भएको टिप्पणी समेत गरेका छन् ।

बुधबार नेपाल विद्यार्थी सङ्घको ५३औँ स्थापना दिवसका अवसरमा स्थानीय निर्वाचनमा नेपाल विद्यार्थी सङ्घको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठीमा नेपाली काँग्रेसमा अधिकांश नेताले थपिएका नयाँ मतदाताको समर्थन बटुलेर एक्लै निर्वाचनको गन्तव्यमा जान सकिने जनाउनुभएको हो ।

काँग्रेस उपसभापति धनराज गुरुङले घरका खेतालालाई घरभित्र थन्क्याएर बाहिरका खेताला खोज्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो “अहिलेको निर्वाचनमा काँग्रेसले ५१ सिट होइन ५१ प्रतिशत ल्याउने गरी तालमेलभन्दा एजेन्डामा जोड दिनुपर्छ ।”

काँग्रेस महामन्त्री गगनथापाले अरू दलसँग तालमेल गर्ने कि नगर्ने भन्ने पार्टीको स्थानीय तहकै कार्यसमितिले निर्णय गर्ने बताउँदै गठबन्धनबाट भोलिका दिनमा धोका हुनसक्नेतर्फ आजै सोच्नुपर्ने बताउनुभयो ।

गठबन्धनलाई अन्यथा नलिए पनि विगतका घटनाबाट पाठ सिक्नुपर्ने उहाँले बताउनुभयो । महानगर र उपमहानगरमा केन्द्रबाटै चुनावी तालमेलको निर्णय भए पनि गठबन्धन नगर्दा केही ठाउँमा कम सिट जिते पनि निर्वाचित भएका ठाउँमा भविष्य बनाउने गरी चुनावी मैदानमा जानुपर्नेमा उहाँको जोड थियो ।

चुनावी घोषणापत्र निर्माणको काम अन्तिम चरणमा रहेको जनाउँदै उहाँले पार्टीको निर्णयअनुसार अहिले सबैले आ–आफ्नो निर्वाचन क्षेत्रमा खटिनुपर्ने बेला रहेकाले निर्वाचन लगत्तै नेविसङ्घको कार्यसमिति कस्तो बनाउने भन्नेबारे छलफल सुरु गर्ने उल्लेख गर्नुभयो ।

काँग्रेस नेता डा. शेखर कोइरालाले काँग्रेसले यसअघि सरकारमा तालमेल गरे पनि निर्वाचन भने एक्लै लडेको स्मरण गर्दै यस पटकको स्थानीय तहको निर्वाचनमा समेत एक्लै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नयाँ मतदातालाई काँग्रेस बनाउन नसके पार्टी कमजोर हुने भन्दै उहाँले नेपाली काँग्रेस कसैको वैशाखीको मद्दतभन्दा आफ्नै बल र जनताको भरोसामा निर्वाचनमा होमिनुपर्ने बताउनुभयो ।

त्यस्तै काँग्रेस नेता मीनेन्द्र रिजालले पहिला काँग्रेस एक हुनुपर्नेमा जोड दिनुभयो । हरेक वडा तथा पालिकामा एक मात्र उम्मेदवार बनाएर अघि बढे अधिक सिट जित हात पार्न सकिने जनाउँँदै उहाँले अरूसँग तालमेत गरेर निर्वाचन जित्ने रणनीतिभन्दा काँग्रेस नै एक ढिक्का भएर अघि बढे जनमत बटुल्न समस्या नरहेको प्रस्ट पार्नुभयो ।

त्यस्तै कार्यक्रममा सहभागी अन्य नेताहरूले समेत नेकपाको भूमिकालाई कमजोर नबनाए लोकतन्त्र नै सङ्कटमा पर्ने जनाउँदै काँग्रेसले काँग्रेसलाई भोट हाल्न मिल्ने वातावरण बनाउनमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.