जन सरोकार

बढुवा भएका तेह्र डिआइजीलाई दज्र्यानी चिह्न प्रदान

नेपाल प्रहरीका १३ प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । उहाँहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो ।

गत चैत २९ गते बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा हुनुभएका १३ डिआइजीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको हो ।

डिआइजीमा बढुवा हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुनचन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहनुभएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले गृह मन्त्रालयलगायत नेतृत्व तह प्रहरी सङ्गठनलाई सुधार, सुदृढीकरण र सबलीकरण गर्न प्रतिबद्ध रहेकाले सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू एकजुट भएर प्रहरीको काम कारबाहीलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

उहाँले पदोन्नति भएका प्रहरी अधिकृतले आफूले प्राप्त गरेको पदीय जिम्मेवारीलाई अझ फरक ढङ्गले सम्पादन गरी मनोवृत्तिगत परिवर्तन गर्दै रूपान्तरण हुन निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले व्यक्तिगत स्वार्थ त्यागेर अगाडि बढेमा काम गर्नका लागि मनोबल, उत्प्रेरणा र इच्छाशक्ति प्राप्त हुने बताउनुभयो । नागरिकको मर्का र समस्यालाई सहजीकरण गर्दै तल्लो तह र सीमान्तकृत वर्गको सेवक भएर कसैको दबाब र प्रभावमा नपरी काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

आपराधिक क्रियाकलापमा प्रहरी कर्मचारीहरू संलग्न भएको पाइएमा त्यस्तो प्रवृत्ति क्षम्य नहुने उहाँले बताउनुभयो । उहाँले तस्करी, सीमा अपराध र राजस्व चुहावट रोक्न अझ बढी सक्रिय र आक्रामक भएर काम गर्नुपर्ने बताउनुभयो ।

पदोन्नति भएका प्रहरी नायब महानिरीक्षकको तर्फबाट बोल्दै प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले पदोन्नतिको अवसर प्रदान गर्नुहुने सम्पूर्णप्रति आभार व्यक्त गर्दै ऐन, कानून, नियम, नियमावली, निर्देशन तथा आफ्नो क्षमता र विवेकले भ्याएसम्म सङ्गठनको श्रीवृद्धिमा समर्पित हुने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.