जन सरोकार

सङ्क्रमण रोक्न निगरानी र सावधानीप्रति कम चासो- भिडभाड उस्तै

सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा सम्बद्ध निकायको सक्रियता पनि न्यून देखिएको छ ।

स्थानीय प्रशासन र स्थानीय तहले सार्वजनिक सूचना जारी गर्नेभन्दा अरू व्यवहारिक गतिविधिमा जोड दिनसकेको देखिँदैन । सुरक्षा निकायले पनि तुलनात्मकरूपमा आफ्ना गतिविधिलाई तीव्रता दिन सकिरहेको देखिँदैन । काठमाडौँमा प्राध्यापन गर्दै आउनुभएका पदम जोशी नागरिकले स्व–सावधानी उपाय अपनाएको समेत नपाइएको र कार्यान्वयन गर्ने निकायको प्रस्तुति पनि कमजोर रहेको पाइएको बताउनुहुन्छ ।

जबसम्म प्रहरीको सक्रियता कम हुन्छ तबसम्म सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्र्याइँ गरिरहने प्रवृत्ति पुरानै हो । त्यसैले पनि सुरक्षाकर्मीले भूमिका बढाउनुपर्नेमा जनस्वास्थ्यविद्को सुझाव छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक काम नपरी घरबाट ननिस्कन सार्वजनिक अनुरोध गरिसकेको छ । मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतम आफूबाहेक सबैमा कोरोना छ भन्ने सोचेर सावधानी अपनाउन आग्रह गर्नुहुन्छ । काठमाडौँका विभिन्न क्षेत्रमा आज घुम्दा कतिपय मानिस कोभिड–१९ बाट बच्ने सावधानीका उपाए थाहा हुँदाहुँदै पनि पालनामा ध्यान नदिइएको पाइएको छ ।

विगतमा सङ्क्रमणको अवस्था र त्यसबाट उत्पन्न परिस्थितिबारे जानकार भएकाले पनि उनीहरुमा चासो कम रहेको अनुभव सुनाएका छन् । काठमाडौँको रत्नपार्कमा मास्क नलगाई बस्नुभएका एक बटुवा कोरोना भनेको यस्तै त हो, जस्तो लागेर आफूले मास्क नलगाउने गरेको बताउनुभयो ।

मुख्यगरी सरकारले शहरी क्षेत्रका महानगर, नगरपालिकामा भर्चुअल कक्षा चलाउने, सिनेमा हलजस्ता भीडभाड हुने क्षेत्र वैशाखभर बन्द गर्ने, विवाहजस्ता कार्यमा २५ भन्दा बढी सहभागी हुन नपाउने, होटल रेष्टुरेन्ट बिहान ८ः०० देखि राति ८ः०० बजेसम्म मात्रै चलाउन पाइने, गाडीमा सिट क्षमतानुसार मात्रै यात्रु राख्न पाइने र सबै स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेलगायतका निर्णय गरेको थियो । सोहीअनुसार केही निर्णय कार्यान्वयनमा आएपछि सार्वजनिक स्थानमा हुने भीडभाड र नागरिकले व्यक्तिगतरूपमा अपनाउनुपर्ने सावधानीका विषयमा भने गम्भीर हुनसकेको देखिएको छैन ।

किनमेल गर्ने क्षेत्र होस् या तरकारी बजार मास्क नलगाई हिँड्नेसमेत देखिएका छन् । ठाउँठाउँमा हात धुनका लागि बनाइएका धारा कतिपय ठाउँमा हटाइएको छ भने भएका पनि राम्ररी प्रयोग हुनसकेको छैन । सरकारी आदेश कार्यान्वयनमा लाग्नुपर्ने सुरक्षाकर्मीको फितलो निगरानी देखिएको छ । यद्यपि नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवर निगरानी बढाएको बताउनुहुन्छ ।

काठमाडौँ प्रशासनले आदेको बेवास्तालाई पुष्टि गर्दै पुनः अर्को सूचना जारी गरी त्यस्ता गतिविधि रोक्न भनेको छ । सरकारी तथा सार्वजनिक निकाय तथा निजी एवं गैरसरकारी संस्थाले विभिन्न सभा–सम्मेलन तथा सेमिनार गरिरहेको भन्ने गुनासा आएकाले त्यस्ता गतिविधि भर्चुअलरूपमा गर्न प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.