राजनीति

‘सबैको सम्मान हुने गरी महासङ्घको विवाद टुङ्गिनुपर्छ’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुने गरी पत्रकार महासङ्घको संस्थापकको विवाद टुङ्गो लाग्नुपर्ने बताउनुभएको छ ।

भगवती चौधरी

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले आयोजना गरेको नेपाल पत्रकार महासङ्घको स्थापना दिवस र सत्यनारायणबहादुर श्रेष्ठको योगदान विषयक संवाद कार्यक्रम तथा फोनिज युके पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।

पत्रकारिता क्षेत्रलाई सबैको साझा संस्थाको रूपमा विकास गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले सत्यतथ्य र तथ्याङ्कको आधारमा पत्रकार महासङ्घको स्थापनाको समस्या समाधान हुनुपर्ने बताउनुभयो ।

मन्त्री चौधरीले नेता भट्टराईलाई त्यागी नेताका रूपमा बुझ्ने गरिएको बताउनुभयो । “पत्रकार महासङ्घको स्थापनाका सन्दर्भमा महासङ्घ आफैँले संवाद सुरु गरेको छ । यो विषय पक्कै पनि टुङ्गो लाग्ने छ, मलाई लाग्छ सत्यतथ्यको आधारमा पक्कै पनि यस विषयको समाधान हुनेछ ।” समुदायबाट उठेर पत्रकारिता क्षेत्रमा आउने क्रम रहेको सन्दर्भमा खुसी व्यक्त गर्दै उहाँले आगामी दिनमा बढी भन्दा बढी जनताका कुरा बाहिर ल्याउन सक्नुपर्ने बताउनुभयो ।

“सत्यनारायणले त्यो जमानामा जनताका पक्षमा सूचना सम्प्रेषण गर्दै पत्रकारिता क्षेत्रमा लागेका पत्रकारलाई सङ्गठित गर्ने काम गर्नुभएको हिसाबले उहाँ हामी सबैका लागि सम्मानित व्यक्तित्व हुनुहुन्छ”, उहाँले भन्नुभयो, “त्यसैगरी हाम्रा सन्त नेता सम्मानित व्यक्तित्व नै हुनुहुन्छ । उहाँहरू दुवैप्रति म आदर गर्दछु । त्यस अर्थमा पत्रकार महासङ्घले यो विषयलाई सकारात्मक रूपमा अवतरण गराउनुहुनेछ भन्ने विश्वास लिएको छु ।”

फोनिजका अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा यस वर्षको फोनिज युके पत्रकारिता सम्मानबाट फोनिजका पूर्वसङ्घीय उपाध्यक्ष दिपीन राईलाई तथा फोनिज युके पत्रकारिता पुरस्कारबाट इच्छा मनकामना एफएम चितवन कुरिनटारमा कार्यरत पत्रकार सङ्गीता चेपाङलाई पुरस्कृत गरिएको थियो ।

फोनिज युकेले हरेक वर्ष प्रदान गर्दै आएको यो सम्मान तथा पुरस्कारको राशि जनही रु २५ हजार रहेको फोनिज युकेका पूर्व अध्यक्ष गोमा राना मगरले जानकारी दिनुभयो । फोनिजका सल्लाहकार मनोज घर्तीमगर, प्रेस चौतारी नेपालका उपाध्यक्ष देवीका घर्ती मगर, प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, समाजवादी प्रेस सङ्गठनका उपाध्यक्ष अस्मिता गिरी, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतले अग्रजको सम्मान गर्दै तथ्यका आधारमा पत्रकार महासङ्घको स्थापनासम्बन्धी विवादलाई टुङ्गो लगाउनुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.