विश्व समाचार

निर्वाचनको पहिलो दिन हिंसा भएपछि उत्तरपूर्वी भारतका केही मतदाता मतदानमा फर्किए

गत साता हिंसाका कारण मतदानमा अवरोध पुगेपछि उत्तरपूर्वी भारतीय राज्यमा केही मतदान स्थलमा मतदाताहरू सोमबार कडा सुरक्षाका बीच मतदानमा फर्केका छन् ।

उत्तरपूर्वी भारत

शुक्रबार राष्ट्रिय निर्वाचनमा मतदानको पहिलो दिन हतियारधारीहरूले मणिपुर राज्यका करिब तीन हजार मतदान केन्द्रमध्ये ११ को चुनावी मेसिनमा क्षति पुर्याएपछि भारतीय निर्वाचन अधिकारीहरूले ती मतदान केन्द्रको परिणामलाई रद्द गरेका थिए ।

राज्य अधिकारीहरूका अनुसार कम्तीमा छ वटा मतदान केन्द्रमा सशस्त्र व्यक्तिहरूले मत हाल्न प्रयोग गरिने इलेक्ट्रोनिक भोटिङ मेसिन तोडेका थिए । सन् २०२३ देखि मणिपुर राज्य दुई प्रमुख जातीय समूहबीचको जातीय हिंसाले आक्रान्त छ । भीडले गाउँहरूमा तोडफोड गर्दै आगो लगाएपछि करिब दुई सय मानिस मारिएका छन् भने ६० हजारभन्दा धेरै विस्थापित भएका छन् ।

क्रिस्चियन कुकीहरूले कुकी तथा अन्य जनजाति समूह बसोबास गर्ने पहाडहरूमा जग्गा किन्न दिने विशेष दर्जाका लागि अधिकांश हिन्दू मेइटीहरूको मागको विरोध गरेपछि अशान्ति भड्किएको थियो । म्यान्मासँगको भारतको सीमामा रहेका पहाडहरूमा ३७ लाख मानिस बसेको राज्य मणिपुरमा सेनाको उपस्थिति भए पनि झडपहरू भइरहेका छन् ।

भारतमा विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक निर्वाचन शुक्रबारदेखि सुरु भएको छ । निर्वाचनमा २१ राज्यका लाखौँ मतदाताले मत खसालेका छन् । छ सातासम्म चल्ने बहुचरणको निर्वाचनमा लोकप्रिय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो सिधा कार्यकालको खोजीमा हिन्दू राष्ट्रवादलाई मूलधार बनाउनुभएको छ । मतगणना जुन ४ मा हुनेछ ।

मुख्य विपक्षी कांग्रसे पार्टीले शुक्रबार मणिपुरमा मतदानमा धाँधली भएको भन्दै ४७ मतदान केन्द्रमा पुनः मतदानको माग गरेको थियो । यसअघि सोही दिन मणिपुरमा सशस्त्र समूहरूबीच झडप भएको थियो । हिंसा भए पनि उक्त राज्यमा ६६ दशमलव पाँच प्रतिशत मतदान भएको छ । मणिपुरका अन्य भागमा अप्रिल २६ मा दोस्रो चरणको मतदान हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.