जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

कपिलवस्तु, बैतडी, सिरहा र पर्सामा भएको छुट्टाछुट्टै  सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कपिलवस्तु, शुद्धोधन गाउँपालिका-६ टिटिहिरियास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मायादेवी गाउँपालिका-३ फुलिका बस्ने ७० वर्षीया बारैती बानियाको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी  अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै बैतडी, डिलासैनी गाउँपालिका-१ स्थित बसन्तपुर तुफानडाँडामा बर्मबाट सिमारतर्फ जाँदै गरेको सु.प.प्र०१००२ त ४६८६ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही गाउँपालिका-१ बस्ने २५ वर्षीय नरेन्द्र प्रसाद भट्टको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सिरहा, लहान नगरपालिका-१८ बसाजोरमा अमहीबाट लहानतर्फ जाँदै गरेको स.१० प २०९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१८ बस्ने १५ वर्षीय जितेन्द्र ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

यता पर्सा, जगरनाथपुर गाउँपालिका-४ हुलाकी सडकमा वीरगंजबाट ठोरीतर्फ जाँदै गरेको बिआर २२ क्यू३४४० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक भारत पश्चिम चम्पारण घर भएका २० वर्षीय सचिन थारूको मृत्यु भएको छ । आइतबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.