राजनीति

विधि र पद्धतिमा आधारित कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्दछ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको चाहना अनुरुप शान्ति र समृद्धिको लक्ष्य हासिल गर्न कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

अध्यक्ष नेपाल

कम्युनिष्ट पार्टी स्थापनाको ७५औँ वर्षका अवसरमा अध्यक्ष नेपालले सोमबार शुभकामना सन्देश जारी गर्दै विगतको सबै कमजोरीको आत्मसमीक्षा गरी सही विचार र कार्यदिशा भएको कम्युनिष्ट आचरणको विधि र पद्धतिमा आधारित बलियो कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने बताउनुभएको हो ।

कम्युनिष्ट आन्दोलन टुट फुट हुँदा जनतामा निराशा र आक्रोस बढेको बताउँदै उहाँले भन्नुभयो, “टुट फुट विभाजन र एकताका अनेकौँ श्रृङ्खला पार गरेको नेपाली कम्युनिष्ट आन्दोलनले पछिल्लो समयमा प्राप्त व्यापक जनसमर्थन र साथलाई जनचाहना अनुरुप उपयोग गर्न नसक्दा जनतामा निराशा र आक्रोश बढिरहेको कुरालाई आजको दिनमा सम्बन्धित सबैले स्वीकार गर्नुपर्दछ । मुलुक र जनताका एजेण्डालाई केन्द्र विन्दुमा राखेर विगतका गल्ती नदोहो-याउने विश्वासिलो आधारसहितको सहकार्यले मात्र कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ अघि बढाउन सक्दछ ।”

नेपालको कम्युनिष्ट आन्दोलनले स्थापना कालदेखि नै अङ्गिकार गरेका मुलुकको राष्ट्रियता, जनताको जनजीविका, स्वतन्त्रता, लोकतन्त्र जस्ता विषयमा अहिले पनि विविधखाले चुनौती रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले यस्तो अवस्थामा कम्युनिष्ट पार्टीको दायित्व र जिम्मेवारी थपिएको प्रष्ट पार्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा संस्थापक महासचिव पुष्पलाललगायत सम्पूर्ण संस्थापकहरुको स्मरण गर्दै उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई आजको अवस्थासम्म ल्याइ पु-याउन जीवन उत्सर्ग गर्ने सहिदप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.