अमेरिकामा नेपाली समुदाय : सुनेको र देखेको अन्तर
विश्वको सर्वशक्तिमान मुलुक संयुक्त राज्य अमेरिकामा विश्वभरकै मानिसहरुको उपस्थिति छ । कति वैध रुपमा बसेका छन्, कति अवैध रुपमा । वैध वा अवैध दुबै किसिमबाट अमेरिका प्रवेश गर्नेहरुको भीड उत्तिकै छ ।

यस्तै भीडहरुको बीचमा नेपालीको उपस्थिति पनि बाक्लो छ । अमेरिकामा सवा दुई लाखभन्दा बढी नेपाली स्थायी र अस्थाई रुपमा बसोबास गर्दछन् । अमेरिकी सरकारले सन् २०२० मा गरेको जनगणनाको प्रतिवेदन अनुसार त्यहाँ कुल नेपालीहरुको आधिकारिक संख्या २ लाख १९ हजार ५ सय ३ रहेको छ ।
जनगणना ब्यूरोको प्रतिवेदन अनुसार अमेरिकाभरिमा सबैभन्दा बढी नेपाली बसोबास गर्ने राज्य टेक्सास रहेको छ भने विश्वकै अर्थतन्त्रको केन्द्र मानिने न्युयोर्क दोस्रो स्थानमा छ । टेक्सासमा कुल नेपालीको जनसंख्या २८ हजार ६ सय ८३ रहेको छ भने न्यूयोर्कमा २३ हजार ७७ नेपाली रहेका छन् । चारवर्ष अघिको जनगणनाको यो रिपोर्ट गत असोज अर्थात् सेप्टेम्बर २०२३ मा सार्वजनिक गरिएको हो ।
नेपालीहरुको संख्यामा दोस्रो नम्बरमा रहेको न्यूयोर्कको क्वीन्स काउन्टीमा १४ हजार बढी नेपाली विभिन्न पेशा र सेवा तथा व्यवसायमा सम्बद्ध छन् । झण्डै तीन दर्जन संस्था खुलेका छन् ।
यति धेरै संख्यामा नेपाली रहेको क्वीन्स काउन्टी आउने नेपालीहरुका लागि रोजगारी, संरक्षण तथा अन्य भरथेगको आधार हुनुपर्ने अपेक्षा गरिए पनि त्यस्तो अवस्था पटक्कै छैन । बाटोमा नेपाली भाषामै फोनमा कुरा गर्दै हिंड्नेहरु बोल्न खोज्दा पनि चासो नदिएको देख्दा मन कुढिन्छ ।
यस विपरीत ढाका टोपी लगाएर हिंडेकै भरमा नेपाल चिनेका अमेरिकीहरु कम्तिमा ‘हाउ आर यू’ भन्दै हाँसेर हिंड्ने गरेको देख्दा नेपालीको स्वाभावले दिएको दिक्दारी खुसीमा परिणत हुन्छ ।
क्वीन्स काउन्टीका सडक तथा नेपालीकै पसलमा पुग्दा पनि ‘साहुजी नेपाली’ले वास्ता नगर्ने, कुरा गर्न खोज्दा समय छैन, पछि आउनु भन्ने सुन्नुपर्दा असाध्यै पीडाबोध हुन्छ । उनीहरु नेपालीसंग नबोल्नुको कारण काम दिनुपर्ने, काम खोजिदिनुपर्ने, घर खोजिदिनुपर्ने, उस्तै परे सीमकार्ड दिलाइदिनुपर्ने लगायतका हुनसक्ने सम्भावित कामको जिम्मा आइलाग्ने भएर रहेछ ।
एउटा नेपालीले अर्को नेपाली देखे बोल्नुको साटो मुन्टो बटार्ने दृश्यले यी अमेरिकाबासी भएका नेपालीहरुले सामाजिक सञ्जालमा देशभक्ति र नेपालीपनको आदर्शवाणी खर्चेको सबै देवावटी मात्र रहेछ भन्ने बुझ्न कुनै आइतबार कुर्नु पर्दैन । अमेरिकामा स्थापित भएकाहरुले नेपाली समुदायको हित र उनीहरुको संरक्षणका लागि पहल गर्नुको साटो उनीहरुसंग दूरी बढाउने काम गर्दा नेपालीहरुको उपस्थिति सम्मानजनक हुन सकेको छैन ।
त्यसैले त अमेरिकामा नेपालीहरुले अन्य देशका नागरिकको जस्तो उल्लेखनीय कार्य गरेको चर्चामा आउन सकेको छैन । आपसमै विभाजित भएर जात, धर्म, राजनीतिक दल अनि क्षेत्र र भेगका आधारमा विभाजित भएर बसेपछि एकताबद्ध प्रयास नभएको देख्दा उनीहरुले सामाजिक सञ्जालमा नेपालका नेताहरुप्रति गरेको टिप्पणीको कुनै अर्थ नरहेको स्पष्ट हुन्छ ।
अमेरिकाका विभिन्न शहरहरुमा नेपाली समुदायकाबीच नेपाली नामाकरण गरिएका रेष्टुरेन्ट तथा पसलहरु संचालित छन् । तर पनि अन्य देशका नागरिकको जस्तो उल्लेखनीय कार्य गरेको चर्चामा आएको छैन । एउटा नेपालीले अर्को नेपालीलाई वेवास्ता गर्ने अमेरिकामा भारतीयहरु भने यसको ठीक विपरीत छन ।
उनीहरु आफ्नो पसल तथा अन्य सेवामूलक व्यवसायमा भारतीयहरु नै राख्छन् । हुन त नेपालीहरुले पनि जातीय रुपमा भने सहयोगी भाव देखाउने गरेको पाइन्छ । आपसमै विभाजित, दिग्भ्रमित र असहिष्णु चरित्र बोकेर बसेका नेपाली समुदायका सांस्थाहरु पनि त्यही रुपमा रहनु आश्चर्यको विषय होइन ।
नेपालमा कुनै विपत्ति आए अमेरिकामा बस्ने नेपालीबाट पनि सहयोग हुन्छ । तर त्यो सहयोगको नाममा धेरै अपचलन हुने भुक्तभोगी नेपालीहरु नै बताउँछन ।
२०७२ सालको महाभूकम्प र त्यसपछिका बाढी पहिरो तथा पटकपटकका भूकम्प पीडितका नामा चन्दा संकलन भएको ठूलो रकम अपचलन भएको आरोप लागेकाहरु अझै मुक्त छैनन् ।
नेपालीहरुको एकता चन्दा संकलनमा यति धेरै हुन्छ कि हिजोसम्म एक आपसमा आरोप–प्रत्यारोपमा उत्रेकाहरु काँधमा काँध मिलाएर रकम संकलन गर्न कार्यमा सक्रिय हुन्छन् । सर्सर्ती हेर्दा यो सकारात्मक काम हो । तर, यो एकता केवल चन्दा संकलनमै सीमित हुन्छ । किनभने यसमा आर्थिक स्वार्थ गाँसिएको छ ।
कुनै पनि माध्यमबाट भरखरै अमेरिका पुगेका नेपालीले त्यहाँ स्थापित भएकासंग सहयोगको अपेक्षा गर्नु स्वाभाविक हो । तर, अमेरिकामा पेशा–व्यवसाया गरेर आफूलाई अरुभन्दा ठालू ठान्नेहरुबाट त्यस्तो अवस्था पटक्कै पाइँदैन । उनीहरु नेपाली होइन अन्य ग्रहबासी जस्तो भैसकेका हुन्छन् । यसको अर्थ सम्पूर्ण नेपालीहरुलाई यसै श्रेणीमा राखिएको होइन । अथाह सहयोगी भावना भएका नेपाली मनहरु पनि प्रशस्तै छन् ।
नेपालको कुनै चाडपर्व परे नेपालीका रेष्टुरेन्टहरुमा बडी भिडभाड हुने भएकाले कामदारको खोजी गर्ने र दुईदिन काम लगाएपछि पारिश्रमिक समेत नदिई पछि बोलाउँछु भनेर निकाल्ने गरेका दृश्य पनि देखियो । त्यस्तै नेपालमा नाम चलेका व्यक्तिले संचालन गरेको रेष्टुरेन्टहरुले पर्व विशेषका समयमा उपस्थित हुनेहरुलाई चरम भेदभाव गर्ने गरेको देखियो ।
नयाँ वर्ष २०८१ का दिन न्यूयोर्क ज्याक्सन हाइटस्थित एक प्रख्यात भनिएको नेपाली रेष्टुरेन्टमा पुग्दा यस्तै भयो । भीड थियो, साँघुरो ठाउँ हुँदा २० मिनेट कुर्न भनियो । कुरियो, तर हामीलाई दिन्छु भनेको टेबुल अरुलाई दिएर एक घण्टासम्म एकछिन एकछिन भन्दै वेवास्ता गरियो । अन्ततः हामी राति १० बजे भोकै बाहिरिनुपर्यो ।
रेष्टुरेन्ट भनेको सत्कारको व्यापार हो र त्यहाँ आउने जो कोहीलाई राम्रो व्यवहार गर्नुपर्नेमा सित्तैमा खान दिनुपर्ने जस्तो देखाएको पाउँदा यिनीहरुले नेपाल र नेपालीका बारेमा अमेरिकामा बसेर गरेको टिप्पणी कति वाहियात हुनेरहेछ भन्न पनि स्पष्ट भयो । यसको विपरीत भारतीय र चिनीयाँहरु आफ्नो देशको नागरिकलाई काममा उच्च प्राथमिकता दिंदा रहेछन् ।
छोटो समयको बसाईमा नेपालीहरुबाट भोग्नुपरेका र देख्नुपरेका दृश्यहरुले अमेरिकामा नेपालीमाथि सबैले गर्ने भरोसा र विश्वासलाई त्यहाँ रहेकाहरुबाट उपयोग हुन नसकेको स्पष्टै भयो । आफ्नो धर्म संस्कृतिको प्रचारका लागि उनीहरुबाट उल्लेखनय भूमिका निर्वाह हुन नसकेको पनि देखिन्छ ।
पछिल्लो समय क्यालिफोर्निया, मेरिल्याण्डमा नेपाली मन्दिरहरु बनेका छन् । अमेरिकी सरकारको उच्च ओहदामा रहेर काम गरिरहेका, विश्वविद्यालयहरुमा प्राध्यापन गरिरहेका नेपालीहरुको संख्या पनि उल्लेख्य मात्रामा छ । ती नेपालीहरुलाई नेपालको साँच्चै चिन्ता जागृत छ र उनीहरु आफ्नो बौद्धिक र अनुभवका आधारमा सुझावहरु दिइरहेका छन् ।
तर, व्यक्तिगत रुपमा व्यावसाय गरिरहेका, काम गरिरहेका र राजनीतिक, जातीय, क्षेत्रीय संगठनहरुमा लागेकाहरु समग्र नेपालीको हितका लागि भन्दा पनि आफ्नो जात, समूह, क्षेत्रको लागि मात्र बढी सक्रिय रहने गरेको पाइन्छ । एक किसमले हेर्दा यो नराम्रो नहोला, तर विदेशमा नेपाली हुनुको साटो कुनै जात, क्षेत्रको बनेर बस्दा कुनै पनि संगठनमा नलाग्नेहरुले आवश्यक साथ र सहयोग नपाउने अवस्था पनि छ ।
अमेरिकी कानुन अनुसार राजनीतिक दलका भातृ संगठन खोल्न नपाउने भए पनि सामाजिक संस्थाको दर्ता गरेर राजनीतिक दलका भातृ संगठन खोल्दै प्रवाशमै विभाजित भएर बसेका नेपालीहरुको प्रवृत्ति सामाजिक सञ्जालमा जति देशभक्तिपूर्ण देखिन्छ व्यवहार यसको विपरीत रहेको छ ।
एकताबद्ध प्रयासबाट देशको आर्थिक–सामाजिक तथा शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा योगदान दिनुपर्नेहरु राजनीतिक दल, आफ्नो दलका नेता मात्र होइनन गुटको पक्षपोषण गर्ने प्रवृत्तिले गर्दा प्रवासी नेपालीहरुबाट राष्ट्रले चाहेको जस्तो सुविधा लिन सकेको छैन । उनीहरुले पनि दिन सकेका छैनन् ।
सिंगो नेपालको प्रतिनिधित्व गरेर अमेरिकामा बस्नुको साटो जात, क्षेत्र, सम्प्रदाय र क्षेत्रमा विभाजित हुँदै अन्तिममा नेपालका राजनीतिक दलका भातृ संगठनका सदस्य बन्ने गरेका नेपाली समुदायबीच परदेशमा भित्रिएको विभाजित चरित्र त गैरआवासीय नेपाली संघ (एनआरएनए)को समानान्तर तीन कार्यसमितिले नै देखाउँछ ।
प्रतिक्रिया राख्नुहोस्