जन सरोकार

गोरखा भूकम्प स्मृति : विसं १२८० देखि २०७२ सम्म ५० वटा विनाशकारी भूकम्प

आज वैशाख १२ गते पाँच वर्षअघि विनाशकारी भूकम्प गएको दिन । २०७२ वैशाख १२ गते गएको त्यो विनाशकारी भूकम्पका कारण ध्वस्त भएका भौतिक संरचनाहरुको पुनःनिर्माणकार्य अझै सम्पन्न भैसकेको छैन ।

हामी धेरैको मानसपटलमा बि.सं. १९९०, २०४५ र २०७२ को भूकम्पको स्मरण र चर्चा हुन गरे पनि नेपालमा विसं १२८० देखि ५० वटाभन्दा बढी विनाशकारी भूकम्प गएको इतिहास छ ।

प्राप्त तथ्य तथा लेखोटहरु अनुसार नेपालमा विसं १२८० देखि विसं १९९० सम्ममा ४८ वटा भूकम्पहरू गएका विवरणहरू तथ्यसहित भेटिएका छन् । त्यस यता २०४५ सालमा मझौला खालको र २०७२ सालमा ठूलो भूकम्प गएका हुन् । झन्डै आठ सय वर्षको नेपालको इतिहासमा २०४५ सालको भूकम्पलाई पनि सामेल गर्दा कुल ५० वटा ठूला भूकम्प गएको देखिन्छ ।

विभिन्न ऐतिहासिक ग्रन्थ, लेख र लेखोटहरू हेर्दा नेपालमा हरेक शताब्दीमा एक वा दुई ठूला खाले भूकम्प गएको देखिन्छ । र यसको प्रभाव देशका धेरै भागमा परेको विवरणहरू पाइन्छन् । साना र मझौलाखाले भूकम्पहरू त गइरहेकै हुन्छन् ।

एक रिपोर्ट अनुसार भूकम्पहरूको कुरा गर्दा धेरैले सम्झना गर्ने पुस्तकमध्येमा ब्रह्मशमशेर जङ्गबहादुर राणाले लेखेको “नेपालको महाभूकम्प” पर्छ । यो पुस्तकमा नब्बे सालको भूकम्पको विषयमा धेरै र त्यसभन्दा अघिका भूकम्पहरूका विषयमा केही उल्लेख गरिएको पाइन्छ ।

इतिहासकार नयराज पन्तका अनुसार नेपालका प्राचीन टिपोट र अभिलेखहरूको मेरो हालसम्मको अध्ययनले नेपालमा गएका भूकम्पमध्ये ऐतिहासिक तथ्य भेटिएको सबैभन्दा पुरानो भूकम्प भनेको विसं १२८० मा गएको भूकम्प हो । यो त्यस वर्षको पौष शुक्ल प्रतिपदाका दिन गएको भनिएको छ ।


गोपालराजवंशावली, मण्डलवंशावली, भाषावंशावली, नेपालिक भूपवंशावलीसहित पुराना हस्तलिखित पात्राहरूमा उल्लेख गरिएका विवरणहरू भेला पारेर पन्तले नेपालका भूकम्पहरूबारे तथ्यहरू खोज्नुभयो र त्यस क्रममा एकै साल पनि धेरैवटा भूकम्पहरू गएको तथ्य भेटिन्छ।

विसं १३१२ को भूकम्पमा त्यसबेलाका राजा अभय मल्लको मृत्यु भएको गोपालराजवंशावली अनुसार उल्लेख छ । त्यस भूकम्पले देवल र घरहरू धेरै भत्किएको र तीन भागको एक भाग प्रजाहरूको मृत्यु भएको भन्ने विवरण त्यसमा देखिन्छ ।

त्यसबेला चार महिनासम्म जमिन हल्लिरहेको वंशावलीमा उल्लेख भएकोले उसबेला पनि अहिले जस्तै परकम्पहरू आएका रहेछन् भन्ने बुझिन्छ । भूकम्पकै कारण १५ दिन देखि एक महिनासम्म देश छाडेर बाहिर जानुपरेको विवरण ऐतिहासिक दस्तावेजमा पाइन्छ ।

विसं १४०१ मा गएको भूकम्पलाई चाहिँ ठूलो भूकम्प भनेर गोपाल राजवंशावलीमा लेखिएको छ । त्यो भूकम्प दशैँको फूलपातीका दिन गएको रहेछ । त्यसको भोलिपल्ट महाष्टमीका दिन राजा अरि मल्लको मृत्यु भएको ऐतिहासिक विवरण भेटिएको छ ।

त्यसबेला भक्तपुर शासनको केन्द्र थियो । तर अरि मल्लको मृत्यु भने देउपाटन (पशुपतिक्षेत्र)मा भएको उल्लेख छ । त्यसबेला राजाहरूको राज्याभिषेक देउपाटनमा नै गर्ने चलन थियो । मृत्यु हुन लागेकाहरूलाई पशुपतिक्षेत्र लाने चलनअनुसार अरि मल्ललाई पनि त्यसबेला देउपाटन लगिएको हुनसक्छ ।

(अध्यावधिक गरिएको)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.