जन सरोकार

काठमाडौंमा बसेकाहरुलाई घरजान नेताको साथ, सीमापार रोकिएकालाई सबैको घात

एक महिना यताको लकडाउनका कारण विदेशमा रहेकादेखि स्वदेशका शहरबजारमा रहेकाहरु आआफ्नो घरजान आतुर छन् । कतिपय पैदलै हिंडेर घर पुगे भने केही दिन यता मन्त्री, सांसद तथा जनप्रतिनिधिले लकडाउनको बेवास्ता गर्दै आआफ्नो जिल्लामा मान्छे पठाउन थालेका छन् भने सीमा रोकिएकाहरुको कुनै चासो छैन ।

यसले झटुट हेर्दा मानवीय कार्य देखिए पनि कोरोना संक्रमणको जोखिम भने उच्च रहेको छ । पछिल्लो समय भक्तपुर हुँदै जिल्ला जानेहरुको संख्या मात्रै ५० हजार नाघेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानका अनुसार जगाती नाका भएर ५४ हजारभन्दा बढी नागरिकले उपत्यका छाडेर विभिन्न जिल्ला गएका छन् । उहाँले भन्नुभयो, “जगाती नाका भएर लकडाउनको दोस्रो हप्तापछि हिँडेरै जानेहरु धेरै भए, उनीहरुको समस्या भएको जानकारी आएपछि जगातीमै खाना खुवाउने र गाडीमा हालेर पठाउन शुरु भयो, स्थानीय सरकारको सहयोगमा यहाँका मजदुरदेखि विभिन्न जिल्लाका नागरिक जिल्ला फर्केका छन् ।”

उहाँका अनुसार सबैभन्दा धेरै दोलखा, रामेछाप, सिन्धुलीका नागरिक फर्किएका छन् भने त्यसबाहेक रोल्पा, रुकुम, जाजरकोट, सल्यान, दाङलगायत अन्य जिल्लाका रहेका छन् । शुरुमा सूर्यविनायक नगरपालिका र प्रहरीको समन्वयमा हिँडेर जाने यात्रुलाई जगातीमै रोकेर उनीहरुको तापक्रम नाप्ने र नाम ठेगानासहितको विवरण सङ्कलन गरी विभिन्न जिल्ला जाने गाडीहरुमा बेलुका पठाउने गरेको थियो । सरकारले नै घर पठाउने व्यवस्था गर्न भनेपछि स्थानीय तहकै पहलमा घर पठाउने व्यवस्था गरेको हो ।

प्रहरी उपरीक्षक प्रधानका अनुसार मन्त्री, सांसददेखि सम्बन्धित जिल्लाका नेता एवं नगरपालिकाले आफ्ना ठाउँका नागरिकलाई उद्धार गर्ने भन्दै गाडी रिजर्भ गरेर लगेका छन् । धेरैले प्रहरीसँग समन्वय गरे पनि केही समन्वय नगर्दा तथ्याङ्क सङ्कलनमा केही समस्या परेको छ ।

उता आफ्नो घर फर्कने प्रतिक्षामा भारत पिथौरागढको दार्चुलाको क्वारेन्टाइनमा मात्र बसेको एक महिना बित्न लागे पनि उनीहरु घर आउन पाएका छैनन् । त्यसो त पौडिन सक्ने जति महाकाली तरेर दिनहुँ गइरहन्छन् । पौडन नसक्नेहरु क्वारेन्टाइनमै छन् ।

बैतडीका दीपक चुनारा गुनासो गर्दै भन्नुहुन्छ “स्वदेश फिर्ता ल्याउँछौं ल्याउँछौँ भनेर भन्छन्, तर हामी कहिले आउन पाउने हो रु” उहाँले क्वारेन्टाइनमा अहिलेसम्म स्वास्थ्य जाँच नभएकोमा दुःखेसो पोख्नुभयो । गत चैत १३ गते दार्चुला पुगेदेखिका नेपालीहरु घर फर्किन पाएका छैनन् । क्वारेन्टाइनमा बसेकाहरु अझै स्वदेश फर्किन नपाउँदा निराश भएका छन् ।

भारत पिथौरागढको दार्चुलास्थित मिनीस्टडियममा बस्नुभएका उनीहरुले अहिलेसम्म आफूहरुको स्वास्थ्यप्रति सरकारले ध्यान नदिएको गुनासो गरेका छन् । उनीहरु एक महिनासम्म आफूहरुलाई सरकारले घर फर्काउन पहल नभएकोमा चिन्तित छन् ।

अमृत बोहरा भन्नुहुन्छ, “क्वारेन्टाइनमा न खाना समयमा पाइन्छ, न बास बस्न नै राम्रो व्यवस्था छ । एउटै देशका नागरिकमाथि किन विभेद ।” नेपालमा पौडिएर गएकाहरु राम्रो गाउँघरका क्वारेन्टाइनमा छन् भने कोही गाउँ पुगिसके । हामी भाग्न नसक्नेहरु यहाँ बस्नुपरेको बोहराको भनाइ छ ।

उहाँले भन्नुभयो, “क्वारेन्टाइनबाट भागेर जानेहरुका कारण आफूहरुले समस्या झेल्नुपरेको छ । शौचालय जाँदा पनि केरकार गर्न थालेका छन् । दिशा गर्न महाकाली किनार जानुपर्छ । प्रत्येकलाई पाँच मिनेटको समयावधि दिइएको छ । गालीगलौच र कुटपिट हुन्छ, हाम्रो कहिले उद्धार हुन्छ”, उहाँले भन्नुभयो ।

तर उहाँहरुसँगै क्वारेन्टाइनबाट भागेर आउने तथा ट्युब, महाकाली पौडिएर शुक्रबारसम्म २२० जना नेपाल प्रवेश गरेका छन् । लकडाउन अवधिमा अन्तर्राष्ट्रिय सीमानाका बन्द गरी सीमानाकामा हुने अवैध आवतजावतलाई पूर्णरुपमा नियन्त्रण गर्ने भनिए पनि उनीहरु महाकालीबाट अवैध रुपमा भित्रिएका हुन् ।

गत शुक्रबार मात्र मार्मा गाउँपालिका–६ का २५ वर्षीय प्रजापति देउरुखी र उहाँका श्रीमती २२ वर्षीया रेखा बोहरा महाकालीमा ट्युबमार्फत नेपाल भित्रिएका छन् । उनीहरु महाकाली नगरपालिका–९ उडै क्षेत्रबाट स्वदेश प्रवेश गरेको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले जानकारी दिनुभयो ।

रोजगारीको सिलसिलामा गएका दार्चुला, बैतडी, बझाङलगायत क्षेत्रका स्थानीयवासी दिनहुँजसो महाकाली नदी तरेर स्वदेश भित्रिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभयो ।

आजसम्म यहाँका पाँच वटा क्वारेन्टाइनमा एक हजार ६३ जना व्यक्ति रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतमा रहेका नेपालीलाई उद्धार गरेर ल्याउन जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पुनः अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले जिल्लामा क्वारेन्टाइनमा रहेकाकोे समयावधि पुगिसकेका कारण स्वदेश ल्याउनका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

“हामीले उनीहरुको व्यवस्थापनका लागि स्थानीय तहलाई तयार रहन भनेका छौँ”, प्रजिअ पौडेलले भन्नुभयो, “सरकारले निर्णय गर्नेबित्तिकै उद्धार हुन्छ । अहिले स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनलाई यथावत् राख्न आग्रह गरेका छौँ । ”

भारतमा रहेका नेपालीलाई यही वैशाख १५ गतेभित्र स्वदेश ल्याउन स्थानीय तहका जनप्रतिनिधिले समेत आग्रह गरेका छन् । बैठकमा सहभागी मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले समस्यामा रहेको भन्दै तत्काल उनीहरुको उद्धार गर्नुपर्ने बताउनुभयो ।

“चार सातादेखि उनीहरु अप्ठ्यारोमा छन्”, उहाँले भन्नुभयो, “उनीहरुलाई तत्काल ल्याउने व्यवस्था मिलाउनुपर्छ ।”

जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्की बैठकले सरकारलाई धार्चुलामा रहेकाहरुलाई उद्धारका लागि आग्रह गर्ने निर्णय गरेको बताउनुभयो । तर १५ गतेसम्म पनि कुनै निर्णय नआए पनि दार्चुलाका स्थानीय तहहरुले व्यवस्थापन गर्ने गरी उद्धार गर्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको उहाँल जानकारी दिनुभयो ।

बैठकका एक सहभागीका अनुसार दुई÷तीन दिनभित्र सरकारले आदेश नगरे पनि स्थानीयस्तरमा सहमति गरेर ल्याउने कुरामा बैठकका सहभागी एकमत देखिएका छन् ।

बैठकमा महाकाली नगरपालिका प्रमुख हंशराज भट्ट, मार्मा गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी र मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.