जल/वातावरण

एक विशेषज्ञको चेतावनी- “बेलैमा उचित कदम नचाले सम्हालिने मौका पाउँदैनौं”

नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमणको अर्को लहर सुरु भैसक्दा पनि यसलाई नियन्त्रण गर्ने प्रभावकारी उपाय अपनाइएको छैन । देशभरका अस्पतालहरुमा कोभिड बिरामीका लागि छुट्यायएका बेडहरु भरिएका छन्, संक्रमितहरु बढिरहेका छन्, बालबालिकाहरु बढी प्रभावित छन् । तर स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा ठूलो लापरवाही छ ।

चिकित्सकहरुले तत्काल दह्रो कदम नचाले स्थिति सम्हालिन नसकिने गरी विग्रेर जाने चेतावनी दिइरहँदा जिम्मेवार निकायहरु झाराटार्ने शैलीमा मात्रै प्रस्तुत भैरहेका छन् । स्थिति कतिसम्म छ भने कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकहरु अहिले निकै अत्तालिएका छन् ।

उनीहरुले भविष्यको दृश्य अहिले नै देखिरहेका छन् । यस्तैमा पर्दछन् सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला । घडीले २०७८ वैशाख ११ गतेको फन्को लगाएपछि डा. बास्तोलाले फेसबुकमा अत्यन्त मार्मिक स्टाटस पोस्ट गर्नुभयो । संक्रमणको चक्र तत्काल रोक्न उचित कदम नचाले हामीले सम्हालिने मौका नै नपाउने भन्दै उहाँले लेख्नुभयो ।

डा. बास्तोलाको स्टाटस जस्ताको तस्तै-

यो समय पक्कै बितेर जानेछ, तर ख्याल गरौं है, अहिले हामी कोरोना भाइरस संक्रमणको अत्यन्तै जोखिम अवस्थामा छौं । यो जोखिम सहजै टर्ने स्थिति छैन, जबसम्म तपाईं-हामी सचेत र चनाखो हुँदैनौं।

मोबाइलको घण्टी जति बज्छ, उति तनाव थपिन्छ। अधिकांश फोन, आईसीयू र भेन्टिलेटरको खोजीमा आउँछन्। तर, टेकु अस्पताल भरिसक्यो। थप बिरामी राख्‍ने सम्भावना न्यून छ। अब, वार्डबाट आईसीयूमा बिरामी सार्ने स्थिति छैन। रिफर गर्न अन्य अस्पतालमा खोज्दा बेड भेटिँदैन।

विगत एक वर्षअघिदेखि कोभिडका बिरामी हेर्दा यति जटिल अवस्था भोग्‍नु परेन। अहिले, बिरामीमा सुधार हुने अनुपात पनि घट्दो छ। हामी एकदमै डरलाग्दो अवस्थाको सँघारमा छौं। घरिघरि त लाग्छ, हामी उपचारमा खटेकै मान्छे ढल्यौं भने, के होला अवस्था?

जताजतै खुला छ र कोरोना भाइरसको संक्रमण दिन दुईगुणा, रात चौगुनाको दरले बढ्दो छ। यो संक्रमणको फैलावट कहाँसम्म पुग्छ, अनुमान गर्न गाह्रो छ। अहिले बच्चा र युवा पनि उत्तिकै जोखिममा छन्, वृद्धवृद्धा र दीर्घरोगी त उसै पनि जोखिममै थिए।

हामीले कहिल्यै चेतेनौं, महामारीलाई साह्रै हलुका रुपमा लिनाले अहिलेको अवस्था आइपुगेको हो। यो बीचमा हामीले मापदण्डको पालना गर्नै बिर्सियौं। कोरोनाको पहिलो लहर शिथिल हुँदै गर्दा, हामी फुक्काफाल भयौं। हामी सुस्तायौं, तर कोरोना भाइरस अझ संक्रामक भएर आयो।

संक्रमणको फैलावट यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउन सक्छ, स्वास्थ्य सेवा डामाडोल हुन सक्छ। अस्पतालमा बेड नपाउने समस्या त छँदै छ, कुन उपचारले बिरामी निको हुनेछन् भन्‍ने अन्योल पनि उस्तै छ। कोरोनाबाहेकका अन्य बिरामीको बिचल्ली हुने अवस्था छ।

कोभिडको अहिलेको लहरमा संक्रमितहरु सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढी छ। एक्कासी बढेको सिकिस्त बिरामीको चाप कसरी थेग्‍ने भन्‍ने अन्योल छ। पहिलो लहरमा प्रभावकारी भएका औषधि र विधि अहिले कमजोर भएका छन्।

तत्काल कोरोना भाइरसको संक्रमणको फैलावट रोक्नु जरुरी छ। ‘चेन ब्रेक’ नगरी हामीले सम्हालिने मौका पाउने छैनौं। अहिले आईसीयूमा जति सिकिस्त बिरामी हुनुहुन्छ, त्यसले समुदायमा कति संक्रमित निर्धक्क घुमिरहनुभएको होला भन्‍ने अनुमान गर्न सकिन्छ।

कृपया, अब अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएर आफूलाई र अरुलाई जोखिममा नपारौं। सुरक्षाका सबै मापदण्ड अपनाऔं। अहिले कसैलाई दोष दिएर केही हुनेवाला छैन। सकेसम्म सुरक्षित रहने कोसिस गरौं। यो डरलाग्दो समय बितेपछि खोजी गरौंला हामी कहाँ-कहाँ चुक्यौं।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.