जन सरोकारस्वास्थ्य

नेपालको स्वास्थ्य आपत्कालीन तयारीमा सघाउने डब्ल्युएचओको प्रतिबद्धता

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले नेपालको स्वास्थ्य आपत्कालीन तयारीलाई सुदृढ बनाउन तथा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा आफ्नो निमन्त्रणामा डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबाट शनिबार सम्पन्न नेपालको तीनदिने औपचारिक भ्रमण र त्यसक्रममा भएका छलफलबारे जानकारी दिनुभएको हो ।

नेपालमा बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्र स्थापना, किटजन्य रोगको तालिम तथा अनुसन्धान केन्द्रलाई डब्ल्युएचओको दक्षिणपूर्वी एशियाली क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न, अत्यावश्यक औषधि उत्पादन र शल्यचिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापनाका साथै नेपाली विज्ञहरूलाई अवसर एवं क्षमता विकासमा सहयोग गर्ने प्रतिबद्धता महानिर्देशकले व्यक्त गर्नुभएको उहाँले बताउनुभयो ।

“महानिर्देशक टेड्रोसले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चासो लिँदै अत्याधुनिक आनुवंशिक प्रयोगशालाको विकास, उपकरण र प्रशिक्षणमा सहयोग गर्ने अभिलाषा प्रकट गर्नुभएको छ” ।

डब्ल्युएचओका प्रतिनिधिमण्डलसमक्ष नेपालले प्रस्तुत गरेका विषयलाई उहाँले सकारात्मकरुपमा लिएर तिनलाई कार्यान्वयन गर्न आवश्यक कार्ययोजनासहितको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी मन्त्री खतिवडाले भन्नुभयो ।

राष्ट्रिय खोप कार्यक्रम, आपत्कालीन तयारी र प्रतिकार्य प्रणालीलाई सुदृढ बनाउन डब्ल्युएचओले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको उहाँले जानकारी दिनुभयो । नेपालको स्वास्थ्य क्षेत्रको विकासमा डब्ल्युएचओले सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.