सुर्खेतबाट ‘राइड टु रारा’ यात्रा प्रारम्भ
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि मुगुसम्मको ‘राइड टु रारा’ यात्रा आइतबार प्रारम्भ भएको छ ।
त्रिवेणी एडभेन्चर्स प्रालि तथा रोयल एन्फिऐड बुलेट बाइक स्वरुम सुर्खेतको संयोजनमा तीनदिने ‘राइड टु रारा’ यात्रा सुरु भएको हो । बुलेट बाइकको यात्रामा ३० जना राइडर्स सहभागी भएको एडभेन्चर्स प्रालिका सञ्चालक मनराज सिंखाडाले जानकारी दिनुभयो ।
सञ्चालक सिंखाडाका अनुसार कर्णालीको पर्यटन प्रवद्र्धन गर्ने तथा रारा पुग्ने उत्कृष्ट राइडर्सहरुलाई दक्षिण एशियाली खेलकुदको इभेन्टमा सहभागी गराउने उद्देश्य राखेर यात्रा प्रारम्भ गरिएको छ । उक्त कार्यक्रमका लागि रु आठ लाख बजेट लाग्ने अनुमान गरिएको उहाँले जनाउनुभयो ।
एफिऐडका सञ्चालक उत्सव भण्डारीले बाइक राइडिङमा १८ वर्षमाथि उमेरकालाई मात्र सहभागी गराइएको बताउनुभयो । उहाँका अनुसार यात्रा आज कालीकोट तिलागुफा नगरपालिकासम्म हुनेछ । राइडर्सहरुसँग मेडिकल, प्राविधिक तथा फोटोग्राफ टोली हुने र त्यसको डकुमेन्ट्रीसमेत निर्माण हुने सञ्चालक भण्डारीले जनाउनुभयो । प्रतियोगिताका लागि नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद्को सहयोग रहेको जनाइएको छ ।




प्रतिक्रिया राख्नुहोस्