सम्पादकीय

जवान लोकतन्त्रमा जनताको अपेक्षा अझै शिशु

आजभन्दा १७ वर्षअगाडि अर्थात् २०६३ वैशाख ११ गते मुलुकमा लोकतन्त्र स्थापना भएको दिन । तत्कालीन प्रधानमन्त्री शेरबहादर देउवाको सिफारिशमा तत्कालीन श्री ५ महाराजजाधिराज ज्ञानेन्द्रबाट विघटन भएको संसद सात राजनीतिक दल र माओवादीको संयुक्त आन्दोलनपछि पुनःस्थापना गरी मुलुकमा लोकतन्त्र स्थापना भएको थियो ।

लोकतन्त्र दिवस

विसं २०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्रीलाई तत्कालीन राजा ज्ञानेन्द्रले अपदस्थ गरी आफूखुशी कार्यकारी प्रमुख तोक्न थाल्नुभएको थियो । आफूखुशी तोकिएका प्रधानमन्त्रीबाट समेत सन्तुष्ट नभई २०६१ माघ १९ गते मन्त्रिपरिषद्को अध्यक्षसमेत राजा नै बन्नेपछि आममानिसमा राजतन्त्रप्रति वितृष्णा बढ्दै गएको थियो ।

माघ १९ पछि तत्कालीन आन्दोलनरत सात दल र सशस्त्र जनयुद्ध गरिरहेको नेकपा माओवादीबीच २०६२ मङ्सिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलनको वातावरण बनेको थियो । जनआन्दोलनको माग २०५९ जेठ ८ गते विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना, निरंकुश राजतन्त्रको अन्त्यलगायत थियो ।

यो १७ वर्षमा देशमा लोकतन्त्र हुँदै संघीय गणतन्त्र नेपाल स्थापना भयो । संविधानसभाले संविधान बनाएर संघीय नेपालको दुईपटक आम निर्वाचन र स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको छ । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)को संयुक्त आह्वानमा निरंकुश राजतन्त्रको अन्त्य गराउन उक्त वैशाख ११ गते औपचारिक रुपमा लोकतन्त्र दिवस मनाइन्छ ।

तत्कालीन राजा ज्ञानेन्द्रले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गर्नुभएको थियो । सोही घोषणाअनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दियो ।

शान्तिपूर्ण सडक आन्दोलन गर्दै आएका सात राजनीतिक दल र सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन नेकपा (माओवादी)बीच भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न १२ बुँदे सहमतिले नेपाली जनतामा एकप्रकारको विश्वास पैदा भएको थियो । जुन विश्वास जनविद्रोहमा परिणत भएको थियो ।

सत्ता र शक्तिका अगाडि कुनै परवाह नै नगरी नेपाली जनता परिवर्तनको पक्षमा एकाकार भएका थिए । त्यसलाई नेपालको राजनीतिक इतिहासमा १९ दिने ऐतिहासिक जनआन्दोलन वा दोस्रो जनआन्दोलनको रूपमा लिपीवद्ध गरिएको छ ।

नेपाली जनताको ठूलो त्याग र वलिदानबाट प्राप्त परिवर्तनलाई संविधानसभामार्फत जनताले आफ्नो संविधान आफैँ बनाए । संविधानसभामार्फत २०७२ असोज ३ गते जनताका प्रतिनिधि आफैँले लेखेको संविधान जारी भयो ।

प्रमुख सात राजनीतिक दलको शान्तिपूर्ण सडक सङ्घर्ष र तत्कालीन माओवादीको सशस्त्र सङ्घर्षको अन्तरघुलनको परिणाम स्वरूप नेपालका झण्डै २५० वर्षदेखि शासन गर्दै आएको राजतन्त्र अन्तय भयो । तत्कालीन राजा ज्ञानेन्द्र नागरिकको रूपमा रहन तयार हुनुभयो ।

नेपाली जनताले आफ्नो राष्ट्रप्रमुख आफैँ छान्न पाउने गणतान्त्रिक व्यवस्था अबलम्वन गरेका छन् । दोस्रो जनआन्दोलनले सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता नेपालको मौलिक विशेषतासहितको प्रणालीलाई स्थापित गरेको छ ।

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा लाखौँ मानिस सडकमा उत्रिएपछि २०६३ साल वैशाख ११ गते संसद् पुनःस्थापनासहित जनताले अधिकार पाएका थिए । यसैले यस दिनलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ ।

लोकतन्त्र स्थापना भएपछि जेठ ४ गतेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो । त्यसलाई नेपाली विशेषताको ‘म्यानाकार्टा’ पनि भनिन्छ । सोही घोषणाबमोजिम पहिलोपटक २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भयो ।

संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा ग¥यो । पहिलो संविधानसभाले संविधान बनाउन नसके पनि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भई कार्यान्वयनको क्रममा छ ।

वैशाख ११ गतेपछि नै नेपालको राजनीति नयाँ दिशामा अग्रसर भएकाले प्रत्येक वर्ष यस दिन लोकतन्त्र दिवसका रूपमा स्मरण गरिन्छ । संविधान निर्माणपछि प्रमुख राजनीतिक दलले आर्थिक विकासलाई नै प्रमुख कार्यसूची बनाए तर, देश र जनताको अवस्थामा कुनै सुधार छैन । लोकतन्त्र जति पाको हुँदै जान्छ जनताको अवस्था उति कमजोर देखिंदै गएको छ ।

जवान लोकतन्त्रमा जनताको अपेक्षा अझै शिशु नै रहनु दुर्भाग्य हो । जनताले अहिले पनि सुलभ शिक्षा, स्वास्थ्य, रोजगारी, शान्ति सुरक्षा चाहेका छन् । उनीहरुको ठूलो अपेक्षा नै छैन ।

अभूतपूर्व राजनीतिक परिवर्तनको १८ वर्षसम्म पनि विगतकै अपेक्षाहरुको निरन्तरता हुनु दुर्भाग्य हो । मुलुकमा श्रमशक्ति छैन, युवाहरुको संख्या घट्दै गएको छ । जनतामा चुलिंदो असन्तुष्टिप्रति राजनीतिक नेतृत्वले चासो दिएको छैन । राजनीतिक रुपमा प्राप्त उपलब्धिलाई आर्थिक सामाजिक उत्थानमा बदल्न सकिएको छैन ।

हमेसा राजनीतिक परिवर्तन र दलहरुको सत्तामा आउने फेरबदल मात्रै लोकतन्त्र होइन । माटोमा जीवन गुजार्नेहरुको हैसियतमा बढोत्तरी मात्र लोकतन्त्र हो । हुनेखाने र टाठाबाठाका लागि जुनसुकै व्यवस्थामा फलिफाप नै हुन्छ । लोकतन्त्रको जग हुनेखाने होइन, भुइँ मान्छे हुन् । यही भुइँ मान्छेको अपेक्षा भने लक्का जवान लोकतन्त्रले पूरा गर्न सकेको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.