राजनीति

सरकारलाई दिएको समर्थनको औचित्य सकियो : लामिछाने

"आम नागरिकका अपेक्षा मौलाएको भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्छ भन्ने हो"

चितवन क्षेत्र न. २ को उपनिर्वाचनमा भारी अन्तरले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलले निश्चित मुद्दाहरुलाई सम्बोधन गर्न भनेर समर्थन दिए पनि अब त्यसको औचित्य सकिएको बताउनुभएको छ ।

चितवन २ मा भएको उपनिर्वाचनमा विजयी भएपछि मंगलबार बिहान भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले भ्रष्टाचार, सुशासन र जनजीविकाका सवालमा सरकार चुकेको बताउनुभयो ।

उहाँले सरकारको न्यूनतम साझा कार्यक्रममा कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्ने लगायत बुँदा समावेश नभएकाले सरकारलाई समर्थन दिइरहनु औचित्यपूर्ण नहुने पनि बताउनुभयो ।

लामिछानेले चुनावी माहौल सकिएपछि काठमाडौंमा गएर सरकारलाई दिएको समर्थनको विषयमा छलफल गर्ने बताउँदै अहिले सरकारमा जाने कुनै सम्भावना नरहेको बताउनुभयो ।

लामिछानेले भन्नुभयो, “के भयो के भएन, त्यसका आधारमा सरकारलाई दिएको समर्थनको निरन्तरता दिने/नदिने बारेमा निर्णय गर्छाैं”, उहाँले थप्नुभयो, “अहिले त्यत्ति औचित्य देखिएको छैन ।”

त्यसै गरी उहाँले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताउँदै आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने पाएको उहाँले बताउनुभयो ।

उहाँले सुशासनको आशा सबैभन्दा बढी गरिएको बताउँदै भन्नुभयो, “मेरो प्रमुख एजेन्डा सुशासन नै हो ।” यही अपेक्षालाई आफूले शिरोपर गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यही अपेक्षालाई आम जनताले अनुमोदन गरेको मैले महसुस गरेको छु ।”

पहिलेको भन्दा धेरै मतका साथ विजयी हुँदै गर्दा जिम्मेवारी थपिएको भन्दै उहाँले राजनीतिक निर्णय गर्दा आफू थप जिम्मेवार भएर सोचेर गर्नुपर्ने अवस्थामा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठूला राजनीतिक निर्णय गर्दा आफू जिम्मेवार भएर सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । यसलाई जिम्मेवारीका साथ लिनेछु ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.