राजनीति

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका अथक योद्धा रहेको बताउनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारी

मनमोहन स्मृति प्रतिष्ठानद्वारा आज आयोजित मनमोहन अधिकारीको २५औँ स्मृतिसभामा अवसरमा आयोजित कार्यक्रममा उहाँले मनमोहन अधिकारी समकालीन नेपाली राजनीतिमा एक निष्कलङ्क, सरल एवं निष्ठावान् राजनेता एवं सिङ्गो नेपाली समाजकै एक सम्मानित नेताका रूपमा स्थापित हुनुभएको बताउनुभयो । नेपालमा कम्युनिष्ट पार्टी स्थापना हुनुभन्दाअघि नै कम्युनिष्ट पार्टीको सदस्य भइसक्नुभएका मनमोहन अधिकारी नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व रहेको उहाँले बताउनुभयो ।

उहाँले मनमोहन अधिकारीको सिङ्गो जीवन नयाँपुस्ताका लागि अनिवार्यरूपमा पढ्नै पर्ने खुला किताब जस्तै रहेको उल्लेख गर्नुभयो । “आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन”, उहाँले भन्नुभयो, “मनमोहन अधिकारीजस्ता पहिलो पुस्ताका नेताहरूमा रहेको उन्नतस्तरको चेतना, त्याग र अठोटले नै आज हामीले खुल्ला वातावरण पाएका छौँ, स्वतन्त्रता पाएका छौँ । इतिहासका धरोहर मनमोहन अधिकारी हाम्रा लागि सधैँ प्रातःस्मरणीय हुनुहुन्छ र रहिरहनुहुनेछ ।”

मनमोहन अधिकारी नेतृत्वको सरकारले सुरु गरेको वृद्धभत्ता दक्षिण एशियामै सामाजिक सुरक्षाको एउटा नमुना कार्यक्रमका रूपमा रहेको भन्दै पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “यस कदमले ज्येष्ठ नागरिकप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरूको आत्मसम्मान बढाउन ठूलो योगदान गर्नुका साथै जीवनयापनमा पनि महत्वपूर्ण सहयोग पु-याएको छ ।”

मनमोहन अधिकारीले ज्येष्ठ नागरिकको सम्मानमा थालनी गरिएको कार्यलाई थप सुदृढ गर्दै वर्तमान नेपालको संविधानले ज्येष्ठ नागरिकका अधिकारलाई मौलिक अधिकारका रूपमा संस्थागत गर्ने काम गरेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले जसले गर्दा आज पनि मनमोहन अधिकारीलाई देशभरिका ज्येष्ठ नागरिकले आफ्नो सच्चा मित्र र असल नेताका रूपमा सम्झन्छन् र सम्मान गर्ने बताउनुभयो ।

अधिकारीले लामो र कठोर सङ्घर्षको घडीमा मात्र जनताको पक्षमा आवाज उठाउने र लडेको तथा प्रधानमन्त्रीकारूपमा उच्च पदमा आसीन हुँदासमेत गाउँको विकास, असहाय, उपेक्षित र ज्येष्ठ नागरिकको सम्मान गर्न तथा मुलुकको अन्तर्राष्ट्रिय छवि उज्यालो बनाउन नेकपा (एमाले)को नौ महिने सरकारको कुशलतापूर्वक नेतृत्व गर्नुभएको पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो ।

विसं २०५१ मा संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्नुभएका मनमोहन अधिकारीको नेतृत्वको सरकारले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ र ‘ज्येष्ठ नागरिकका लागि वृद्धभत्ता’ जस्ता लोकप्रिय कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सन् १९४२ मा वनारसमा अध्ययनरत छँदै भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी भएर आफ्नो राजनीतिक जीवन सुरु गर्नुभएका मनमोहन अधिकारी नेपाल फर्कनुभएपछि २००३ सालमा भएको विराटनगरको मजदुर आन्दोलनको नेतृत्व गर्दै नेपाली राजनीतिमा मनमोहन अधिकारी क्रियाशील हुनुभएको थियो ।

जहानियाँ राणाशासन तथा तानाशाही पञ्चायती व्यवस्थाको अन्त्य गरी प्रजातन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा सहभागी हुने सिलसिलामा उहाँले पटकपटक गरी झण्डै १४ वर्ष लामो जेल जीवन बिताउनुभएको थियो ।

सोही कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले प्रतिष्ठानले प्रकाशित गरेको पुस्तक ‘मनमोहन अधिकारीको जीवनगाथा’ विमोचन गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीका विचार र योगदानलाई चिरस्थायी बनाउनका लागि पार्टीले नै प्रतिष्ठान गठन गरेको बताउनुभयो ।

उहाँले नेपालमा कम्युनिष्ट पार्टीभन्दा पनि जेठो कम्युनिष्ट भनेर मनमोहन अधिकारीले चिन्ने गरेको उल्लेख गर्दै सादगीजीवन वाच्ने र विवादरहित व्यक्तिका रुपमा रहेको बताउनुभयो । कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीले मनमोहनको सादगीबारेमा बुझ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले उपाध्यक्ष युवराज ज्ञवाली, विष्णु पौडेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव योगेश भट्टराई र पद्मा अर्याललगायत नेताले मनमोहन अधिकारीको सालिनमा माल्यापर्ण गर्नुभएको थियो ।

मनमोहन स्मृति प्रतिष्ठानले हरेक वर्ष ज्येष्ठ नागरिकका लागि देश–दर्शन कार्यक्रमको आयोजना गर्दै आएको छ । यस वर्षको ज्येष्ठ नागरिक देश दर्शनमा सहभागी हुनुहुने ज्येष्ठ नागरिकलाई पूर्वराष्ट्रपति भण्डारीले माला लगाएर बिदाइ गर्नुभयो । विसं १९७७ जेठ २८ गते जन्मिनुभएका अधिकारी २०५६ वैशाख १३ आजैका दिन निधन भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.