प्रबास

कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, बेलायतमा मात्रै ३३ जना- दुई हजार संक्रमित


विश्वभर फैलिएको कोभिड–१९ को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा एकएक जनाको निधन भएको हो ।
एनआरएन स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर एक हजार ९८३ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको आँकडानुसार २४ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित रहेको कोडिभ १९ उच्चस्तरीय समिति एनआरएनर्का प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।
नेपालमा भने ४९ जनामा कोरोना संक्रमण देखिएको तथा १२ जना कोरोनामुक्त भएको समितिले जनाएको छ । यस्तै विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपालीमध्ये ४३४ जना कोरोनामुक्त भएको बताइएको छ । संक्रमित हुने नेपालीमा अमेरिका एक हजार, बेलायत सात सय, संयुक्त अरब इमिरेट्स ८१, बहराइन ४९, कुवेत ४२, पोर्तुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, बेल्जियम छ, स्वीजरल्याण्ड पाँच ,साउदी अरब र जर्मनी चारचार, मलेशिया, क्यानडा, न्युजिल्याण्ड र साइप्रस तीनतीन, जापान, हङकंङ र माल्टा दुईदुई तथा फ्रान्समा एक जना रहेको समितिले जनाएको छ ।
समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत ३६ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको तथ्यांक संकलन गर्दै आएको छ ।
यसैबीच कोरोना भाइरसको महमारीबाट प्रभावित नेपालीको सहयोगार्थ एनआरएनले आफ्ना शाखालाई परिचालन गरेको छ । एनआरएका महासचिव डा हेमराज शर्माका अनुसार कोरोना महामारीपछि ४१ देशमा रहेका एनआरएनका शाखामार्फत नौ सय स्वयंसेवक परिचालन गरिएको छ । कोरोना संक्रमणपछि विश्वभर छरिएका करीब ३० हजार गैरआवासीय नेपालीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको एनआरएनले जनाएको छ ।
डा शर्माका अनुसार ७० भन्दा बढी गैरआवासीय नेपाली चिकित्सकसमेतले कोरोना संक्रमित देशमा गैरआवासीय नेपालीलाई सघाइरहेका छन् । यसअघि चीनबाट कोरोना भाइरस संक्रमण शुरु भएलगत्तै एनआरएनले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोभिड –१९ उच्चस्तरीय समिति गठन गरी काम अघि बढाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.