जन सरोकार

पलाञ्चोक भगवती मन्दिर अनिश्चितकालका लागि बन्द, मालपोतमा बार अनुसार सेवा

कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्दै गएकाले सर्वसाधारणको भिडभाड हुन नदिन पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि पूजा र दर्शन गर्न रोक लगाइएको छ । पाँचखाल नगरपालिकाले आइतबारदेखि नित्य पूजा बाहेकका अरु अन्य पूजापाठलगायतका सम्पूर्ण क्रियाकलाप बन्द गरेको हो ।

नगरपालिका प्रमुख महेश खरेलले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत बढ्दै गइरहेको र मठमन्दिरमा दर्शनार्थीको भिडले कोरोना सङ्क्रमणको जोखिम अझै बढ्ने सम्भावना भएकाले नगरपालिकाको नगरस्तरीय विपद् व्यवस्थापन समितिको यही वैशाख १० गते बसेको निर्णयानुसार सर्वसाधारणलाई दर्शन र पूजापाठ गर्न बन्द गरिएको बताउनुभयो । मन्दिरमा नियमित नित्य पूजा भने निरन्तर चल्ने उहाँले बताउनुभयो । पञ्लाञ्चोक भगवती मन्दिरलगायत नगरपालिकाले नगरभित्रका अन्य मठमन्दिरमा समेत सर्वसाधारणलाई अर्को सूचना नभएसम्मका लागि पूजा र दर्शन गर्न बन्द गरेको छ ।

यसैबीच नगरभित्रका सबै विद्यालय आइतबारदेखि एक हप्ताका लागि बन्द गरिएको छ । सञ्चालन हुन लागेका परीक्षा भने स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी सञ्चालन हुने तयारी भइरहेको नगर प्रमुख खरेलले बताउनुभयो । नगरपालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै पाँचखाल समाजकल्याणमा अक्सिजनसहितको १५ शय्याको आइसोलेसन तयारी अवस्थामा राखेको उहाँले जानकारी दिनुभयो ।

त्यसै गरी मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले बुधवारदेखि बारअनुसारको सेवा दिने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेका अवस्थामा सेवाग्राहीको बढी भीडभाड हुने भएकाले बारअनुसार सेवा दिने तयारी गरिएको कार्यालयले जनाएको छ ।

मालपोत कार्यालय धुलिखेलका निमित्त प्रमुख टङ्प्रसाद चौलागाईँले कार्यालयबाट एकै पटक सेवा प्रवाह गर्दा कोभिड –१९ सङ्क्रमणको बढी जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राखी सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टको समन्वयमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सेवा प्रवाह गर्न लागिएको बताउनुभयो ।

मालपोत अधिकृत चौलागाईँका अनुसार बनेपा र नमोबुद्ध नगरबासीले आइतबार र बुधबार, पनौती र मण्डनदेउपुर नगरबासीले सोमबार र बिहीबार तथा धुलिखेल र पाँचखाल नगरबासीले मङ्गलबार र शुक्रबार सेवा लिन पाउने व्यवस्था गरिएको छ । गाउँपालिकाका सेवाग्राहीले भने हरेक दिन सेवा लिन पाउने व्यवस्था गरिएको चौलागाईँले बताउनुभयो । यसअघि पनि कार्यालयले कोरोना सङ्क्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राख्दै बारअनुसार सेवा प्रवाह गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.