जन सरोकार

बेपत्ता छोरी र नाति खोज्दै इलामका ढकाल काठमाडौँमा

ललितपुरमा बस्दै आउनुभएकी ४० वर्षीया निर्मला ढकाल सुवेदी (निरु) गएको चैत २३ देखि बेपत्ता हुनुभयो । उहाँको खोजीका लागि प्रशासन, सामाजिक सञ्जाल र आफन्तसमेत गुहारियो । तर हालसम्म उहाँलाई पत्ता लगाउन सकिएको छैन ।

ललितपुरस्थित महालक्ष्मी नगरपालिका–३ इमाडोलमा श्रीमान् चेतमणि सुवेदीसँग बस्दै आउनुभएकी निरु बेपत्ता हुनुभएको हो । उहाँका साथमा पाँच वर्षीय छोरा चेन्ज सुवेदीसमेत रहेका छन् । दुवै जना हाल परिवारको सम्पर्कमा हुनुहुन्न । इमाडोल टेम्पोपार्क नजिकै रहेको आफ्नै मिनीमार्टमा दिनभर काम गर्नुभएकी उहाँ साँझदेखि हराउनुभएको बताइएको छ । व्यापारबाट घरगुजारा चलेकै थियो । मिनीमार्टमा अरु स्टाफ पनि भएकाले पसलसँगै निरु इमाडोलको कृष्ण मन्दिर नजिकै डेरामा छोराको हेरचाह गर्दै बस्दै आउनुभएको पारिवारजनले जानकारी दिएका छन् ।

पाँच वर्ष कोरिया बसेर फर्किएपछि घरजम गर्नुभएकी निरु छोरासहित बेपत्ता भएपछि परिवारमा आपत्ति निम्तिएको छ । चैत २२ गते नजिकै साथीको घरमा बास बस्नुभएकी उहाँ २३ गतेदेखि सम्पर्क नभएको परिवारबाट जानकारी प्राप्त भएको छ । निरु हराएपछि निरुका बुबा ६७ वर्षीय नारायण ढकाल इलामको माइजोगमाईबाट काठमाडौँ पुग्नुभएको छ । ढकाल यतिबेला आफ्नी साइँली छोरी निरु र नातिको खोजीमा उपत्यकाका सडक र गल्लीमा भौँतारिरहनुभएको छ । प्रहरी प्रशासन, आफन्त, चिनजानमा रहेका व्यक्तिसँग छोरी खोजी गरिदिन हारगुहार गरिरहेको उहाँले बताउनुभयो ।

इलामको देउमाई नगरपालिका–६ स्थायी घर र इलामकै माइजोगमाई–६ माइत भएकी निरुको सीमित साथी र केही आफन्तबाहेक धेरैसँग सम्पर्क नभएको बुझिएको छ । दुई वर्षदेखि मोबाइल बोक्न नदिएको भन्ने बुबाले भर्खरै थाहा पाउनुभएको रहेछ । मोबाइल नभएपछि सामाजिक सञ्जाल चलाउने कुरै भएन । ज्वाइँसँग राम्रैसँग घर गरी खाएको भन्ने जानकारी भएपछि माइती पक्षले खासै चासो राखेको थिएन । घरजम गरेकी छोरीलाई धेरै सोधीखोजी नगरिएको बुबा ढकालको भनाइ छ । “बेपत्ता भएको खबरले मन पोलिरहेको छ, काठमाडौँ, भक्तपुर, ललितपुरका धेरै ठाउँमा पुगिसकेँ, केही पत्तो लागेको छैन”, उहाँले भन्नुभयो ।

मन्दिर, आश्रम, सडक गल्ली सबैतिर पुगिसकेको भए पनि कुनै खबर प्राप्त नभएको बुबा बताउनुहुन्छ । प्रहरी, आफन्त, साथीसङ्गत सबै बुझिसकेको भए पनि बजारको भीडभाडमा छोरी कतै फेला नपरेपछि उहाँ निराश हुनुहुन्छ ।

छोरी र नाति बेपत्ता भएपछि ज्वाइँको बोली र व्यवहारप्रति शङ्का लागेको ढकालको भनाइ छ । उहाँले ज्वाइँले पटक–पटक बोली फेर्ने गर्र्नुुभएको दुःखेसो व्यक्त गर्नुभयो । छोरीसँगको सम्बन्धमा खटपट भएको आशङ्का आफूले गरेको बुबाको भनाइ छ । बेपत्ता निरुका भाइ सञ्जीव ढकालसमेत काठमाडौँमै हुनुहुन्छ । उहाँले दिदी चैत २३ गते साथीकोमा जान्छु भनी निस्किएको पछि मात्र आफूले जानकारी पाएको बताउनुभयो । मोबाइल पनि नबोकेका कारण फोन गर्ने कुरै भएन । एकसरो मात्र कपडा लगाएर हिँड्नुभएकी दिदीको प्रतीक्षामा माइती पक्ष तथा परिवार रहेको उहाँले बताउनुभयो ।

बेपत्ताको खोजीका लागि परिवारले नेपाल प्रहरी वृत्त सातदोबाटो र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा पनि निवेदन दिइसकेको छ । सिआइबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दुर्गा दाहालले बेपत्ता भएका व्यक्तिको सम्भावित स्थानमा खोजी भइरहेको बताउनुभएको छ ।

परिवारका सदस्यहरूले निज महिलालाई खोजी गरिदिन अनुरोध गर्दै फोन नं पनि उपलब्ध गराउनुभएको छ । आफन्त तथा परिवारलाई मोबाइल नम्बर ९८४९४८५२९०, ९८२४००३७७५, ९८४२७०१८६२, ९८२३७८९६६७ मा सम्पर्क गरिदिन परिवारको अनुरोध छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.