जापानबिचार

कोभिड – १९ एन्टिबडी परीक्षण सम्बन्धि भ्रम तथा तथ्य

डा. रोजित श्रेष्ठ/डा. पूजा न्यौपाने

डा. रोजित श्रेष्ठ
डा. रोजित श्रेष्ठ

डा. पूजा न्यौपाने

अहिलेपुराविश्व नै कोरोना भाइरस ( कोभिड – १९ ) सँग जधिरहेकोअवस्था छ । यो महामारीसँग सामना गर्न कुनै न कुनै रूपमा पूर्वतयारी गरिरहेका कतिपय विकसित राष्ट्रलाई समेत यो नियन्त्रण गर्न हम्मेहम्मे परिरहेको छ । झन् नेपालजस्ता विकासशील देशलाई त यस रोगविरुद्ध लड्न ठूलै चुनौती देखिएको छ । धेरै चुनौतीमध्ये कोभिड – १९ को प्रयोगशाला परीक्षण पनि एक महत्वपूर्ण सवाल हो । कोभिड – १९ बाट संक्रमित बिरामीको पहिचान गर्न प्रयोगशालाको परिणामले ठूलो भूमिका खेल्छ किनकि त्यसैका आधारमा कोभिड – १९ का बिरामी पहिचान गरी आइसोलेसन गर्न सकिन्छ अनि आवश्यक परे उनीहरूलाई उपचार गर्न सकिन्छ । यसले संक्रमितको निकट सम्पर्कमा आएका व्यक्ति पनि पत्ता लगाउन मद्दत गर्छ अनि उनीहरूको निरन्तर स्वास्थ्य अवस्था अनुगमन गर्न सकिन्छ र आवश्यक परे परीक्षण गर्न सकिन्छ ।

जनस्वास्थ्यका दृष्टिकोणबाट सबैभन्दा महत्वपूर्ण कुरा 

एन्टिबडी परीक्षणको परिणाम नकरात्मक भए पनि

प्रारम्भिक चरणमा रहेका कोभिड – १९ का बिरामीले अरूलाई यो रोग सार्न सक्छन् ।

वास्तविक – समय रिभर्स ट्रान्सक्रिप्सन पोलिमेरेज चेन रिएक्सन (Real-time reverse transcription – PCR) द्वारा भाइरल न्युक्लिक एसिड ( RNA) पत्ता लगाई गरिने कोभिड – १९ को निदान गर्ने हाल एक मात्र विश्वसनीयप्रयोगशाला परीक्षण हो । यो परीक्षणमा शंकास्पद व्यक्तिबाट नेजोफ्यारेन्जियल स्वाब , ओरोफ्यारेन्जियल स्वाब , खकारजस्ता नमुना संकलन गरी त्यसमा कोरोना भाइरसको अद्वितीय आरएनए खण्ड पहिचान गर्दै कोभिड – १९ निदान गरिन्छ । सफल पिसिआर परीक्षणका लागि नमुना संकलन , भण्डारण र स्थानान्तरणमा विशेष सावधानी अपनाउनु पर्छ । श्वास – प्रणालीको माथिल्लो भागमा कोरोना भाइरसले आफ्नो संख्या वृद्धि गर्ने हुँदा पिसिआर विधिबाट संक्रमण भएको २ – ३ दिनमै रोग पत्ता लगाउन सकिन्छ । सामान्यतया संक्रमण भएको ३ – ५ दिनभित्रै यस भाइरसको संख्या उच्च तहमा पुग्छ । त्यसैले श्वास – प्रणालीबाट नमुना संकलन गर्न यो उत्तम समय हो ।
चित्रमा देखाइएजस्तै यो परीक्षण प्राधिक चरणमै कोरोना संक्रमण पत्ता लगाउन प्रयोग गर्न सकिन्छ । यस समयमा बिरामीले सजिलै अरूलाई रोग सार्न सक्छन् । तसर्थ WHOर CDC जस्ता सम्मानित अन्तर्राष्ट्रिय संगठनले सिफारिस गरेको एक मात्र परीक्षण विधि हो – पिसिआर । तर नेपालजस्ता विकासशील देशले सबै परीक्षण पिसिआर प्रविधिबाट गर्न धेरै चुनौती सामना गर्नुपरिरहेको छ । किनकि यो महँगो र प्राविधिक रूपमा गाहो छ , अनि व्यापक रूपमा उपलब्ध पनि छैन । हालसालै पिसिआर परीक्षण प्रदान गर्ने प्रयोगशालाको संख्या बिस्तारै बढ्दै गइरहेको भए तापनि आउँदा दिनमा यसलाई थप विस्तार गर्नुको विकल्प छैन ।

जब ब्याक्टेरिया तथा भाइरसजस्ता सूक्ष्म जीव हाम्रो शरीरमा प्रवेश गर्छन् , तब हाम्रो प्रतिरक्षा प्रणाली संक्रमणविरुद्ध लड्न उत्तेजित हुन्छ । यस्ता रक्षा प्रणालीको एक तरिका भनेको एन्टिबडी उत्पादन गर्नु हो , जसले त्यस्ता सूक्ष्म जीव नष्ट गर्न मद्दत गर्छ । एन्टिबडीहरू IgM, IgG, IgA, IgE, र IgDगरी ५ प्रकारका हुन्छन् । संक्रमणविरुद्ध उत्पादित यस्ता एन्टिबडी ( विशेषगरीIgMर IgG) पहिचान गरी कीटाणुद्वारा हुने रोग निदान गर्ने विधि व्यापक प्रयोगमा छ । उदाहरणका लागि एचआइभी संक्रमण निदानका लागि बिरामीको रगतमा एन्टिएचआइभी एन्टिबडी पहिचान गर्ने गरिन्छ र यो विधि विश्वभरि प्रयोगमा छ । रगतमा त्यस्ता एन्टिबडी पत्ता लगाउन विभिन्न विधि हुन्छन् । तीमध्ये एउटा सजिलो विधि हो – पोइन्ट अफ केयर टेस्टिङ (POCT) अर्थात् यापिड टेस्टिङ ।
हालसालै कोभिड – १९ एन्टिबडीको यापिड परीक्षण विधि पत्रपत्रिका ,सामाजिक सञ्जाल र वैज्ञानिक वर्गमा एउटा प्रमुख छलफलको विषय बनेको छ । नेपालमा त्यस्ता द्रुत एन्टिबडी परीक्षण यापिड डायग्नोस्टिक टेस्ट (RDT) को नामले लोकप्रिय छ । तर यापिड डायग्नोस्टिक टेस्ट (RDT) शब्द प्रयोग आफैमा भ्रामक छ , किनभने यो (RDT) केवल कोभिड – १९ संक्रमणविरूद्धका एन्टिबडी पत्ता लगाउने द्रुत परीक्षण हो , डायग्नोस्टिकभने होइन । यसको सट्टा कोभिड – १९ एन्टिबडी परीक्षण (RDT) वा एन्टिबडी पोइन्ट अफ केयर टेस्टिङ ( पिसिओटी ) जस्ता शब्द प्रयोग उपयुक्त हुन्छ । किनकि यो भाइरसविरूद्ध एन्टिबडी पत्ता लगाउने परीक्षण हो ,प्रत्यक्ष भाइरसको परीक्षण होइन । यस्ता एन्टिबडी परीक्षणका धेरै मौलिक सीमितता हुन्छन् । सबैभन्दा महत्वपूर्ण कुरा यो कोरोना भाइरस संक्रमणको प्रतिक्रियामा बिरामीको प्रतिरक्षा प्रणालीले बनाएको एन्टिबडीको पहिचानमा निर्भर गर्छ ।
एन्टिबडी परीक्षणले प्रत्यक्ष भाइरस पत्ता लगाउँदैनन्, त्यसैले प्रारम्भिक संक्रमणको स्क्रिनिङका लागि उपयुक्त हुँदैन । किनभने हाम्रो शरीरलाई त्यस्ता एन्टिबडी उत्पादन गर्न १ हप्ताभन्दा बढी लाग्छ , जुन पत्ता लगाउन सक्ने मात्रामा पुग्न २ हप्तासम्म लाग्न सक्छ । आइजिएम एन्टिबडी पहिले देखापर्छ भने आइजिजी देखापर्न १० – १२ दिनसम्म लाग्छ ( चित्र हेर्नुहोस् ) । त्यसकारण रोगको प्रारम्भिक चरणमा एन्टिबडी परीक्षणको नतिजा नकरात्मक ( नेगेटिभ ) आउँछ । तसर्थ कोभिड – १९ निदानका लागि एन्टिबडी परीक्षण घातक पनि हुन सक्छ ।साथै बूढापाका वा रोग प्रतिरोधात्मक शक्ति कम भएका बिरामीको शरीरले एन्टिबडी विकास नगर्न पनि सक्छ । यसअतिरिक्त विभिन्न अनुसन्धानमा देखिएअनुसार आइजिएम एन्टिबडी पहिचान क्रमलाई क्रस – रिएक्सनले प्रभाव पार्न सक्छ र फलस्वरूप नतिजा( Report) गलत अर्थात् सकारात्मक ( False-positive) पनि देखिन सक्छ । जनस्वास्थ्यका दृष्टिकोणबाट सबैभन्दा महत्वपूर्ण कुरा के हो भने एन्टिबडी परीक्षणको परिणाम नकरात्मक ( Negative) भए पनि प्रारम्भिक चरणमा रहेका कोभिड – १९ का बिरामीले अरूलाई यो रोग सार्न सक्छन् ।

विगतको संक्रमण पहिचान गर्न र संक्रमित व्यक्तिमा प्रतिरक्षा प्रणालीको

स्थिति थाहा पाउन वा खोप ( बनेपछि ) को प्रभावकारिता अध्ययन गर्न

एन्टिबडी परीक्षणको भूमिका महत्वपूर्ण हुन्छ ।

अर्कातर्फ एन्टिबडीको मात्रा बढ्दै जाँदा कोरोना भाइरसको संख्या बिस्तारै घट्दै जान्छ ( चित्र हेर्नुहोस् ) । दुईदेखि तीन हप्तासम्ममा भाइरस पूर्ण रूपमा हराउन सक्छ , तर एन्टिबडीलामो समयसम्म रगतमा रहिरहन्छ । यसको अर्थ के हो भने एन्टिबडी पोजिटिभ छ भन्दैमा व्यक्ति अहिले कोरोनाबाट पीडित छ भन्न कठिन हुन्छ । त्यसकारण के बुझ्न जरुरी छ भने एन्टिबडी परीक्षणको नेगेटिभ परिणामले न बिरामी संक्रमित छैन भन्न सकिन्छ न पोजिटिभ नतिजाले संक्रमित छ भन्न मिल्छ । कुनै व्यक्तिमा एन्टिबडी देखियो भने यसको सीधा अर्थ हुन्छ – ऊ अहिले वा पहिले कोभिड – १९ बाट संक्रमित व्यक्ति हो । तर पोजिटिभ पिसिआर परिणामले तत्कालको संक्रमण पहिचान गर्छ ।
कोभिड – १९ को निदान र अनुगमनमा एन्टिबडी परीक्षणको भूमिकारप्रभावकारिताबारे अहिले धेरै बहस भइरहे तापनि WHO, CDC, NHS जस्ता स्वास्थ्य संगठनले एन्टिबडी परीक्षणलाई निदानका रूपमा प्रयोग गर्न सिफारिस गरेका छैनन् । तर पनि विगतको संक्रमण पहिचान गर्न र संक्रमित व्यक्तिमा प्रतिरक्षा प्रणालीको स्थिति थाहा पाउन वा खोप ( बनेपछि ) को प्रभावकारिता अध्ययन गर्न एन्टिबडी परीक्षणको भूमिका महत्वपूर्ण हुन्छ ।
संक्षेपमा ,
१ . माथिल्लो श्वास – प्रणालीबाट निकालिएको नमुनामा भाइरल न्युक्लिक एसिड टेस्टिङ ( PCR) गरिए मात्र बिरामीको संक्रामक अवस्था पहिचान गर्न सकिन्छ ।
२ . प्रारम्भिक चरणको कोभिड – १९ संक्रमणको निदानमा यापिड एन्टिबडी परीक्षणको कुनै भूमिका हुँदैन ।
३ . यापिड एन्टिबडी परीक्षणले रोगको सुरुवाती अवस्था पहिचान गर्न सक्दैन , तर यो विधिले नेगेटिभ नतिजा दिएका बिरामीले अन्य व्यक्तिमा संक्रमण फैलाउन सक्छन् ।
-डा. श्रेष्ठ, होक्काइडो विश्वविद्यालय, जापानका उपप्राध्यापक(चिकित्सा प्रयोगशाला) हुनुहुन्छ।
-डा. न्यौपाने, स्वास्थ्य विज्ञान विश्वविद्यालय होक्काइडो, जापानका माइक्रोबायोलोजिष्ट हुनुहुन्छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.