जन सरोकार

सामान चोरी भएपछि कोरोना अस्थायी अस्पतालमा अख्तियारको छापा- चोरी नभएको अस्पताल प्रशासनको भनाई

मुलुकमा कोरोना संक्रमण फैलदै गर्दा चितवनको भरतपुरमा कोरोना कोरोना विशेष अस्थायी अस्पताल निर्माण गरियो र सो अस्पतालमा वैशाख १५ गते राति त्यहींका कर्मचारीले सामान चोरी गरे । चोरी गरेको भिडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाले त्यहाँ छापा मारेको छ ।

अस्पतालका कर्मचारीले नै सामान ओसार्दै गरेको भिडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि अख्तियारले छापा मारेको हो ।

दिउँसो १ बजे अस्पताल प्रवेश गरेर अख्तियारको टोलीले अस्पताल र भरतपुर महानगरपालिकाका कर्मचारीलाई सोधपुछ गरेर आवश्यक अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा लिएको अख्तियाार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाका कार्यालय प्रमुख शिवकुमार कार्कीले जानकारी दिनुभयो ।

उहाँले विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि अख्तियारले अनुसन्धानका लागि छापा मारेको बताउनुभयो । अनुसन्धानपश्चात् थप प्रक्रिया अघि बढाइने कार्कीको भनाइ छ ।

चैत ७ गतेदेखि सञ्चालनमा आएको सो अस्पताल भरतपुर महानगरपालिकाको अग्रसरतामा सञ्चालनमा आएको हो । चैत २१ गते सो अस्थायी अस्पताल भरतपुरको सरकारी अस्पताल मातहत सञ्चालन हुने निर्णय भएको थियो । सोमबार कर्मचारीले सामानहरु ओसारेको भिडियो सार्वजनिक भएको थियो ।

अस्पताल सञ्चालनका लागि गठन भएको कोरोना नियन्त्रण कार्यदलले भने सामान चोरी भएको नभई प्रक्रियाअनुरुप सामानहरु ओसारेको दाबी गरेको छ । कार्यदलले एक विज्ञप्ति जारी गर्दै कार्यदलको स्टोर र कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोर एउटै ठाउँमा भएकाले व्यवस्थित मात्रै गरिएको भन्दै चोरी प्रकरणको बचाउ गरेको हो ।

कार्यदलका सदस्यसचिव डा भोजराज अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना विशेष अस्थायी अस्पताललाई भरतपुर अस्पतालले सञ्चालन गर्ने सहमतिपश्चात् सम्पूर्ण अस्पतालको बरबुझारथ गर्नुपर्ने भएकाले एकै ठाउँमा रहेका स्टोरलाई व्यवस्थित गरिएको हो ।’ कार्यदलको सोमबारको बैठकमा चैत महिनासम्म अस्पतालमा रु एक करोड २६ लाख खर्च भएको विवरण पेश गरिएको थियो ।

यस्तै भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोरमा भएको घटनाको छानबिनका लागि गठित छानबिन टोलीका संयोजक चितवन उद्योग सङ्घका अध्यक्ष एवम् कार्यदलका संयोजक राजु पौडेलले आफू जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको जनाउनुभएको छ ।

भरतपुर कोरोना नियन्त्रण कार्यदलले एक विज्ञप्ति जारी गर्दै पौडेलको संयोजकत्वमा छानबिन टोली गठन गरिएको जनाएको थियो । सो विज्ञप्ति जारी गरिएको दुई घण्टापश्चात् संयोजक पौडेलले आफू सो जिम्मेवारी निर्वाह नगर्ने घोषणा गर्नुभएको हो ।

अस्पतालमा वैशाख १४ गतेसम्म ७४ लाख ४४ हजार ९९ रुपैयाँ खर्च भएको देखिन्छ । कोरोना अस्पताल सञ्चालन कार्यदलको बैठकमा भने महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले एक करोड २७ लाख खर्च भएको विवरण दिएको स्रोत बताउँछ ।

अस्पतालले दिएको जानकारीअनुसार अहिलेसम्म कार्यालय सञ्चालनमा ११ लाख ८६ हजार र औषधि तथा मेसिनरी खरिदमा ५२ लाख २८ हजार दुई सय १० खर्च भएको छ । यसमा तोकिएको ४५ लाखको सिलिङ नाघेर खर्च गरिएको छ ।

अस्पतालले कुन औषधि, कोबाट, कतिमा किनेको भन्ने खुलाएको छैन । पीपीई र एन-९५ मास्कमा चाहिँ भ्याटसहित ३४ लाख खर्च गरेको देखाइएको छ । ५२ लाखमध्ये १८ लाखको हिसाब अस्पतालले देखाएको छैन । पाँचवटा एसी र पङ्खा खरिदको खर्च ७४ लाखमा जोडिएको छैन ।

सार्वजनिक खरिद ऐनको खरिदसम्बन्धी व्यवस्थामा पाँच लाखसम्मको खर्चमा तीनवटा सप्लायर्ससँग दरभाउ पत्र मागेर सबभन्दा कम गर्नेसँग खरिद गर्न पाउने व्यवस्था छ । त्यसभन्दामाथि टेन्डरमा जानुपर्ने नियम छ । ७ चैतमा खुलेको अस्पतालमा १५ गते अधिकांश समान ल्याएको देखिन्छ । पीपीई र एन ९५ मास्क खरिदको न कोटेसन छ न त सम्झौता ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.