जन सरोकार

चर्चा फेरि बेसारको, भ्रम हैन यथार्थको पछि लागौं

बेसार सेवन नगर्ने मानिसहरू बढी अल्जाइमरको शिकार

कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएको छ र यो लहरले दक्षिण एसिया आक्रान्त छ । विशेष गरी भारत अहिले संसारमै सबैभन्दा बढी प्रकोपित छ । कोरोनाको पहिलो लहरमा बेसारको चर्चा खुब भयो र कोरोना महामराी साम्य हुँदै गर्दा यो पुनः चर्चामा आएको छ ।

यथार्थमा बेसार के हो र यसले मानव शरीरलाई कति लाभ दिन्छ र धेरै भएमा के के हानी गर्छ ? यस विषमा सुनेका कुरामा विश्वास गर्नुको साटो तथ्यमा भरपर्नु बुद्धिमानी हुनेछ । किनभने बेसार औषधि हो भन्नेमा कुनै शंका छैन र यो आयुर्वेदिक औषधि मात्र हैन वैज्ञानिक अनुसन्धानबाट पनि मानव शरीरका सबै पक्षलाई लाभ नै लाभ दिने पदार्थ हो भन्ने पुष्टि भैसकेको छ ।

तसर्थ विभिन्न तर्क, तथ्य र अनुमानका आधारमा कोरोना भाइरस संक्रमण नियन्त्रणमा कन्दमुल बेसारको भूमिकादेखि बेसारे मानिससम्मका चर्चाले राजनीति, समाज र बौद्धिक तथा चिकित्सकीय क्षेत्रमा बहसको मात्रा बढाइदिएको छ ।

जे होस् बेसारे मानिसका कुरा छाडौं बेसारकै गुणका बारेमा मात्र चर्चा गर्दा यसको गुणको बखान गरेर साध्य छैन भन्छन् ज्ञाताहरु । आयुर्वेदका ज्ञाताहरुका अनुसार एक वयस्क मानिसले दिनहुँ लगभग दुई ग्राम जति बेसार सेवन गर्न सक्छन् । त्यसैले दिनहुँ १–२ चम्चा बेसार दूध वा पानीसँग लिन संकोच मान्नु पर्दैन । यसको कुनै प्रभाव हुँदैन । तर, बेसार शुद्ध र गुणस्तरीय चाहीँ हुनुपर्छ ।

बेसार मसलादेखि सुन्दरताको लेपन अनि स्वस्थ शरीरका लागि निकै लाभदायक छ भन्ने तथ्य प्रमाणित भैसकेको छ । कोरोना भाइरस संक्रमण बढेसंगै हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारको नियमित सेवनले भाइरस संक्रमण बढ्दैन भन्नुभयो भने आयुर्वेद तथा आधुनिक चिकित्सकहरुले पनि बेसारको सेवनले फाइदा नै गर्ने बताइरहे । त्यस्तै कारोनाबाट निको भएकाहरुले पनि नियमित बेसार पानी खाएका कुरा बताइरहँदा केही दिन यता बेसारको धेरै सेवनले हानी गर्ने कुराहरु आइरहेका छन् ।

बेसार बहुउपयोगी औषधीय गुण भएको वनस्पति हो। आचार्य चरकले बेसारलाई कुष्ठ र लुतो हटाउने, विष नष्ट गर्ने गुणयुक्त मानेका छन्। यस्तै आचार्य सुश्रुतले श्वास रोग, खोकी, रक्तपित्त, आँखा रोग, कुष्ठ र प्रमेहलगायत निर्मुल गर्न बेसारलाई प्रभावकारी मानेका छन्। बेसारमा पोलिफेनोल वर्गको एक केमिकल पाइन्छ, जसलाई कर्कुमिन भनिन्छ। बितेका २० वर्षमा कर्कुमिन सम्बन्धी धेरै अनुसन्धान भएका छन्। विशेष गरेर क्यान्सर नियन्त्रण, हृदय रोग तथा बाथ रोगहरूको सम्बन्धमा पबमेडमा मात्रै कर्कुमिन सम्बन्धी करिब १२ सयभन्दा बढी वैज्ञानिक अनुसन्धानका रिपोर्टहरू प्रकाशित भएका छन्।

वैज्ञानिक अनुसन्धानका अनुसार कर्कुमिनले क्यान्सर नियन्त्रण वा त्यसको अनियन्त्रित विकास हुनबाट बचाउँछ। कर्कुमिन मलाशय, पेट, मुख र स्तन क्यान्सरको विरुद्धमा लड्ने गर्छ। कर्कुमिनको अर्को महत्वपूर्ण प्रयोग हृदय सम्बन्धी रोगलाई नियन्त्रण वा उपचार गर्नमा रहेको छ। कर्कुमिन बाथको पनि अचूक औषधि मानिन्छ। यो दुखाइ नियन्त्रणको शक्तिशाली पदार्थ हो। कर्कुमिन दुखाईसँग सम्बन्धित इन्जायमलाई दबाउने काम गर्ने यसको अनुसन्धानमा लागेका वैज्ञानिकहरूको दाबी छ।

अमेरिकास्थित पेन्सिलभेनिया विश्वविद्यालय, मेडिकल सेन्टरका डा. अमोन ए नान्जील बेसार नियमित खाँदा रक्सीले कलेजोलाई पुर्‍याउने क्षतिसमेत कम हुने तथ्य प्रमाणित गरेका छन्। क्यानाडाको टोरन्टो जनरल अस्पतालका अनुसन्धानकर्ताहरूले जनरल अफ क्लिनिकल इन्भेस्टिगेसनमा प्रकाशन गरेको प्रतिवेदन अनुसार बेसारले हार्ट फेल हुनबाट बचाउँछ, क्षतिग्रस्त मुटुलाई थप नोक्सान हुनबाट रोक्छ। बेसार प्राकृतिक रक्तशोधक हो। यसले रगत संचालन राम्रो गर्छ। आर्टरिजलाई मजबुत बनाउँछ। खराब कोलेस्टोरललाई घटाउँछ। यसमा पाइने एन्टीमाइक्रोबाइलका कारण यसले कलेजो डेटक्स गर्छ, वाइल उत्पादन बढाउँछ।

सुन्दरताका लागि बेसार

बेसार सौन्दर्यवद्र्धक पनि छ। छाला स्वास्थ्यका लागि बेसार निकै गुणकारी मानिन्छ। त्यसैले वैदिक संस्कृतिमा यसलाई उवटनको रूपमा प्रयोग गर्दै आएको पाइन्छ। बेसारको उचित उपयोग गर्ने हो भने महँगा र हानीकारक रसायनयुक्त सौन्दर्य प्रशाधनको कुनै आवश्यकता पर्दैन।

फेस मास्क

एक चम्चा बेसन, आधा चम्चा बेसार, दुई चम्चा दही तथा आधा चम्चा मह लिने र राम्रोसँग मिसाउने। अब प्राकृतिक फेस मास्क तयार भयो। यसलाई हप्ताको दुई पटक अनुहारमा लगाउने र १५ मिनेटपछि धुने। यो पेस्टलाई शरीरमा पनि लगाउन सकिन्छ। यसरी बेसारको प्रयोग गर्ने हो भने अनुहार सफा र उज्यालो हुन्छ। यसले बजारमा पाइने महँगा फेस प्याकले भन्दा निकै फाइदा गर्छ। अनुहारमा दाग, धब्बा तथा डन्डिफोर छ भने त्यहाँ पनि यो पेस्ट लगाउन सकिन्छ।

कालो तथा घना कपाल

कपाल झर्ने, फुल्ने तथा चाया पर्ने समस्या छ भने बेसार एक समाधान हुन सक्छ। यसका लागि दुई चम्चा नरिवलको तेलमा आधा चम्चा बेसार मिसाउने र कपालको जरोमा राम्रोसँग लगाउने। अनि आधा घण्टा पछि कपाल धुने। एक महिनामा नै सकारात्मक परिणाम देखा पर्छ।

दाँतको औषधि

एक चिम्टी बेसार, एक चिम्टी सिधे नुन अलिकति तोरीको तेलमा मिसाउने। प्राकृतिक टुथ पेस्ट तयार भयो। योभन्दा उत्तम टुथ पेस्ट संसारमा छैन। यस पेस्टले ब्रस गर्ने र औंलामा यो पेस्ट लगाएर गिजा मसाज गर्ने हो भने दाँत चम्किलो र बलियो हुन्छ। गिजा मजबुत हुन्छ। दाँत र गिजाका रोगहरू निर्मुल हुन्छन् ।

नेपालमा परापूर्व कालदेखि नै खेती गरिने बेसारको गुणहरूका वारेमा आयुर्वेदमा पर्याप्त वर्णन पाइन्छ । बेसार प्रभावकारी एन्टिअक्सिडेन्ट हो र यसको नियमित प्रयोगले शरीरमा उत्पादन हुने फ्रिरेडिकल्सलाई निस्क्रिय पार्छ। यसले रगतमा कोलेस्टेरोलको मात्रालाई बढ्न दिँदैन र उच्च रक्तचाप तथा ह्दय सम्बन्धी रोगहरूलाई नियन्त्रण गर्छ ।

बेसारले रक्त संचारलाई प्रभावकारी बनाउने हुँदा बे्रनलगायत शरीरका हरेक अंगहरूलाई स्वस्थ बनाउन सहयोग गर्छ। स्मरणशक्ति बढाउँछ। मुलकुरो यसले अल्जाइमर जस्तो घातक बिर्सिने रोगको रोकथाम गर्छ। बेसार सेवन गर्ने मानिसहरूको तुलनामा बेसार सेवन नगर्ने मानिसहरू बढी अल्जाइमरको शिकार भएको तथ्यांकले देखाएका छन् ।

धेरै खाए हानिकारक

बेसार मात्रै किन, अमृत नै पनि धेरै खाए पनि त्यसले विषको काम गर्छ । हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने प्रकृतिमा उपलब्ध कुनै पनि वस्तु मानिसका लागि हानिकारक छैनन्, वनस्पति, फलफूल, कन्दमूल, झारपात सबै मानिस र सृष्टिका प्राणधारी जीवको हितकै लागि उत्पन्न भएका हुन् । तर यसको अत्यधिक दोहन वा प्रयोगले स्वाभाविक रुपमा हानी गर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.