जन सरोकार

नेपाल–भारत सीमाको दशगजामा कडाइ

बाँकेको नेपाल–भारत सीमाको दशगजा क्षेत्रबाट अवैध हातहतियार भित्रिन सक्ने र निर्वाचन प्रभावित हुने भन्दै नाकामा कडाइ गरिएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खुला सीमाका कारण भारतबाट अवैध घटना हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै नाकामा कडाइ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

अहिले जमुनाह र रुपैडिया नाकामा दुुवै देशका सुरक्षाकर्मीले आवागमनमा सुरक्षा जाँचलाई कडाइ गरेको र दुवै देशका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्तीसमेत सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

प्रनाउ न्यौपानेले सीमा क्षेत्रमा नेपाल र भारतको तर्फबाट आज बस्ने संयुक्त सुरक्षा अधिकारीहरूको बैठकले नाकाका विषयमा ठोस निर्णय लिने जानकारी दिँदै त्यसका लागि नेपालको तर्फबाट तयारी भइरहेको बताउनुभयो ।

सो बैठकले निर्वाचनलाई ध्यानमा राखेर नेपालगञ्जको मुख्य नाका ७२ घण्टाका लागि बन्द हुनेलगायतका निर्णय हुने बताइएको छ । सीमा क्षेत्रको जमुनाह गेटबाट पश्चिम सुक्खा बन्दरगाह क्षेत्र र सो अगाडि साइगाउँसम्म सुरक्षाकर्मीले संयुक्त गस्तीसमेत गर्नेछन् । जिल्लासँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर पर्छ ।

सिसीटिभी क्यामेरा जोडिँदै

बाँके जिल्लाका सबै मतदानस्थलमा सिसीटिभी क्यामेरा जोड्ने तयारी भइरहेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले त्ससका लागि तयारी भइरहेको र केही दिनमै काम सुरु गर्ने जानकारी दिनुभयो ।

“हामी त्यसैको तयारीस्वरुप विभिन्न मतदानस्थल अनुगमन गरिरहेका छौँ”, प्रजिअ खत्रीले भन्नुभयो । सरकारले निर्वाचनका लागि सिसीटिभी क्यामेरा अनिर्वाय गरेको छ । जिल्लामा कुल मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन् ।

सुरक्षाका दृष्टिकोणले ११२ अतिसंवेदनशील र २४ संवेदनशील मतदानस्थल छन् । जिल्लामा राष्ट्रिय मान्यताप्राप्त छ दलबाहेक साना २३ दल यसपटक निर्वाचनमा सहभागी भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.