जन सरोकार

तरकारीले बजार पाएन

रुकुम पश्चिमको विभिन्न ठाउँमा तरकारी खेतीका लागि प्रख्यात ठाउँहरू छन् । जिल्लाको चौरजहारी नगरपालिका र मुसीकोट नगरपालिकाका विभिन्न ठाउँमा राम्रो उत्पादन हुने गर्छ । खोलागाउँ, चौफा, माछमी, काउलेचौर, लोरीबाङलगायत राम्रो तरकारी उत्पादन हुने ठाउँ हुन् ।

तरकारी

जिल्लामा उत्पादित तरकारीको उचित बजार भए जिल्लामा अधिकांश तरकारी बाहिरबाट ल्याउन पर्दैन । जिल्लामा मौसमी र बेमौसमी सबै प्रकारका तरकारी खेती हुँदै आएको छ । रुकुम पश्चिममा उत्पादित तरकारी विषादिरहित तरकारीको रूपमा पनि प्रख्यात छ ।

तर जिल्ला बाहिरबाट आउने तरकारीका कारण भने जिल्लामा उत्पादन हुने तरकारीले बजार पाउन सकेको छैन । आयातित तरकारीका कारण दुःखअनुसारको बजार मूल्य पाउन नसेको किसानहरूको भनाइ छ ।

आलु उत्पादनको हिसाबले उत्कृष्ट मुसीकोट–१३ का काउलेचौर, बाहुनचौरलगायतका स्थानमा उत्पादन भएको आलुले उचित बजार नपाएको किसानको गुनासो रहेको छ ।

मुसीकोट नगरपालिका–१३ का आलु उत्पादक किसान कालीकुमारी खड्काले वर्षमा दुई पटक आलुखेती हुने गरेको तर समयमै बजार नपाएको बताउनुभयो । “आलुको उत्पादन राम्रो हुन्छ,” उहाँले भन्नुभयो, “उत्पादित आलु बिक्रीका लागि साह्रै समस्या हुने गरेको छ ।” उहाँले एक सिजनमा आफूले मात्र एक सय क्विन्टल आलु उत्पादन गरेको जानकारी दिनुभयो ।

सोही गाउँका छविलाल खड्काले स्थानीय बजारमा फाटफुट बिक्री हुने गरे पनि समयमै बिक्री नहुँदा सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएको बताउनुभयो । उहाँले बीउ किन्दा एक क्विन्टललाई रु पाँच हजार मूल्य तिर्नुपरेको तर बजारमा रु दुई हजारमा एक क्विन्टल आलु मुस्किलले बिक्री हुने गरेको जानकारी दिनुभयो ।

उत्पादनका हिसाबले उत्कृष्ट रहेको यस क्षेत्रमा सिँचाइ सुविधा र बजारीकरणको समस्या किसानहरूले वर्षौंदेखि झेल्दै आएको उहाँको भनाइ छ । बजारमा भारतबाट आयातित आलुका कारण स्थानीय उत्पादन बिक्री हुन नसकेको बताइएको छ । सस्तो तथा गुणस्तरहीन तरकारी बजारमा पाइने भएकाले गाउँमै उत्पादन भएको आलु कमै बिक्री हुने गरेको किसानको भनाइ छ ।

उक्त वडामा मात्र व्यावसायिकरूपमा करिब ६० घर किसानले आलुखेती गर्दै आएका छन् । वडामा एक वर्षमा मात्र करिब एक हजार क्विन्टल आलु उत्पादन हुने गरेको वडाध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष आलुको उत्पादनका लागि स्थानीय सरकारले बीउमा अनुदान उपलब्ध गराएको थियो । बीउ उत्पादनमा सहयोग गरे पनि बजारीकरणमा समस्या झेलिरहेको उहाँको भनाइ छ । यसका लागि सङ्कलन केन्द्र र बजारको सुनिश्चितताको जरुरी रहेको वडाध्यक्ष खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.