क्रिकेटखेल

छाताले छपक्कै छोपियो त्रिवि मैदान, पानी रोकिने प्रतिक्षामा क्रिकेटप्रेमीहरु

भारत र पाकिस्तान जस्ता विश्वकप जितिसकेका देशहरुसंग खेल्ने सपना साकार पार्न एक खुड्किलो मात्र बाँकी रहेको नेपाली क्रिकेट टोलीलाई वर्षाले अवरोध गरे पनि दर्शकहरु छाता ओडेर मैदानमा प्रतिक्षारत छन् ।

एसियाकपको ढोका खोल्ने एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई सस्तैमा समेट्ने संकेत देखिंदा वर्षा बाधक बन्न पुगेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल रोकिएको हो । खेल रोकिनुअघि युएईका लागि आसिफ खानले ४६ रन बनाए भने आयन लाक्राले १३ रन जोडे ।

त्यस्तै मुहम्मद वासिमले ११ रन बनाउँदा बसिर हमिदले १० बनाए । नेपालका ललित राजबंशीले तीन विकेट लिए । साथै करण केसी र सन्दीप लामिछानेले दुई÷दुई विकेट लिए भने गुल्शन झा र सोमपाल कामीले एक÷एक विकेट लिए ।

अर्को केही समय खेल हुन सकेको भने सम्भवतः युएई सस्तैमा समेटिने सम्भावना थियो । तर, वर्षा बाधक बन्दा खेलको रोमाञ्चकता मात्र हराएन कि नतिजामा समेत अबरोध उत्पन्न भएको छ ।

आज खेल हुन नसके अहिलेकै अवस्थाबाट भोलि पुनः खेलाइनेछ । यदि भोलि पनि खेल हुन नसके अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को नियम अनुसार निर्णय गरिनेछ ।

खेल नभए कसरी आउँछ नतिजा ?

युएईले २७ ओभर खेलिसकेका कारण वर्षा रोकिनासाथ समय हेरेर डिएलएस विधिबाट खेलाइनेछ । आज अपराह्न ४ः४० सम्मको समयमा कम्तिमा दुबै टालीले २० ओभरसम्मको खेल खेल्नुपर्नेहुन्छ । एकदिवसीय क्रिकेटमा खेलको नतिजा आउन कम्तीमा २० ओभर खेल्नैपर्ने हुन्छ ।

यदि ४ः४० भित्र कम्तीमा २० ओभरको खेल संचालन गर्न असम्भव भएमा अम्पायरले सुपर ओभरबाट खेलको नतिजा निकाल्न पाउनेछन् । पहिलो सुपर ओभर बराबरी भए दोस्रो सुपर ओभर हुनेछ । दुवै सुपर ओभरबाट पनि खेलको नतिजा ननिस्किएमा आईसीसी वरीयताका आधारमा विजेता छिनोफानो हुनेछ ।

तर, आज सोमबार नियमित वा सुपर ओभरको खेल हुन सकेन भने मंगलबार खेलाइनेछ । मंगलबार जुन अवस्थाबाट खेल स्थगित भएको छ सोही अवस्थाबाट खेल सुरुवात हुनेछ ।

मंगलबार पनि वर्षाले असर गरेको अवस्थामा अघिल्लो दिनको जस्तै कम्तीमा २० ओभरको खेल खेलाउने प्रयास हुनेछ, त्यो पनि सम्भव नभए सुपर ओभर हुनेछ ।

खेलमार्फत हुने सबै प्रकारका नतिजा असम्भव भएको अवस्थामा आईसीसी वरीयताका आधारमा अगाडि रहने टिमलाई उपाधि विजेता बनाइनेछ ।

आईसीसी वरीयतामा नेपाल १४औं स्थान र युएई १९ औं स्थानमा रहेका कारण दुवै दिन कुनै पनि तरिकाबाट खेलको नतिजा नआएको अवस्थामा नेपाल विजयी हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.