राजनीति

कोइरी पक्रन सहयोग माग्दै प्रहरीले सभामुखलाई लेख्यो दोस्रो पत्र

मधेश आन्दोलनका बेला २०७२ सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीले सभामुखलाई पत्र लेखेको छ ।

२०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उक्त घटनामा संलग्न रहेको अभियोग लागेका कोइरीसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि कोइरी छुटेका थिए । जनकपुर उच्च अदालतले २०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याउँदै कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो ।

अदालतले थुनामा राख्ने आदेश दिएलगत्तै फरार रहनुभएका कोइरी फरार रहेकै अवस्थामा कोइरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

कोइरलाई पक्राउ नगरिएको भन्दै संसदमा सत्तापक्षकै सांसदहरुले चर्को आवाज उठाएपछि प्रहरी प्रधान कार्यालयले कोइरीलाई पक्राउका लागि सहयोग माग्दै सभामुख देवराज घिमिरेलाई दोस्रोपटक पत्र पठाएको छ ।

प्रहरी प्रधान कार्यालयले गत पुस ७ मा पनि संसद् सचिवालयसँग कोइरीलाई पक्राउका लागि सहयोग माग्दै पत्र लेखेको थियो । उक्त पत्र संघीय संसद्का महासचिवलाई लेखिएको थियो । उक्त पत्रमा संसद्ले कुनै कारबाही गरेको थिएन । उक्त पत्र आएपछि पनि सांसद कोइरी संसद्का बैठकमा सहभागी भएका थिए ।

गत चैत १९ मा प्रतिनिधिसभा नियमावली २०७९ पारित भएपछि उक्त पत्रको औचित्य सकिएको बुझाइ सभामुख र संसद् सचिवालयको थियो ।

कोइरीले सभामुखलाई आफू बिरामी परेकाले बिदा स्वीकृति गरिदिन भन्दै पत्र लेखेका थिए । संसद् अधिवेशनको अन्तिम बैठक बैशाख १५ मा सभामुखले कोइरीको बिदा स्वीकृतिका लागि प्रस्ताव राखेका थिए । जसलाई संसद्ले अस्वीकार गरेको थियो । त्यसपछि प्रहरीले फेरि पत्र लेखेको हो ।

प्रहरी प्रधान कार्यालयको पत्र प्राप्त भएपछि सभामुखले सांसद कोइरीलाई निलम्बनको प्रक्रिया अगाडि बढाउँदै हाल संसद्को अधिवेशन नरहेकाले कोइरी निलम्बन भएको सूचना जारी हुनेछ । प्रतिनिधिसभा नियमावलीले फरार रहेका सांसदको पद स्वतः निलम्बन हुने व्यवस्था छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.