प्रबास

न्यूयोर्कको रोसभेल्ट टापुमा नेपालको ‘कफी ८८४८’

शीर्षक सुन्दा अचम्म लाग्ला, तर यो सत्य हो कि विश्व अर्थतन्त्रको राजधानी मानिने संयुक्त राज्य अमेरिकाको न्यूर्योक शहरमा हाटबजार लाग्छ र त्यहाँ फुटपाथ व्यापार पनि गर्न पाइन्छ ।

न्यूयोर्कको इस्ट नदीलाई दायाँ–बायाँ पारेर रोसभेल्ट टापुमा हरेक शनिबार ‘फार्मर्स मार्केट’ अर्थात् नेपालीमा भन्ने हो भने हाटबजार लाग्दछ । यही हाटबजारमा नेपालमा उत्पादन भएको कफीले अमेरिकी तथा अन्य देशका नागरिकहरुको मन जितिरहेको छ ।

कूटनीतिक नियोगका पदाधिकारीहरु बस्ने रोसभेल्ट टापु न्यूयोर्कबाट निकट रहेका राज्यका किसानहरुका लागि छोटो समयमै आफ्ना उत्पादन विक्री गर्ने सुनौलो बजार हो ।

यहाँ विशेष गरी पेन्सलभेनियाका किसानहरुको तरकारी, फलफूल लगायतका उत्पादन विक्रीका लागि राखिन्छ भने न्यूयोर्कबासीहरुले आफ्नै हातले उत्पादन गरेका खाद्य तथा पेय पदार्थ विक्री गरिन्छ ।

अमेरिकी किसान र उत्पादकका उत्पादनहरुको बाहुल्य रहेको हाटबजारमा नेपालमा उत्पादिन कफीले पनि स्थान पाइरहेको छ ‘कफी ८८४८’ को ब्राण्डमा ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको मापनलाई नाम दिइएको यो कफी संखुवासभा, ललितपुर तथा रसुवा जिल्लामा उत्पादन हुने कफी कुनै औजार र रसायनबिना प्रयोग गरिने हुँदा यसका पारखीहरु बढ्दै गएका छन् ।

नेपालमा उत्पादित कफीहरुले अन्तर्राष्ट्रिय बजारमा प्रसंशा पाइरहेका समाचारहरु सुन्दै आनन्द आउने समयमा आफ्नै आँखा अगाडि नेपाली कफी विदेशीले किनेको देख्दा खुसी नहुने कुरै भएन ।

नेपालमा उत्पादित कफीका पारखीहरु बढ्दै गए पनि यसको बजार प्रबद्र्धन त्यति गर्न नसकिएको स्पटै देखिन्छ । नेपाल र नेपालीको चिन्ता जनाउने प्रवाशीहरुले यस्तो कामलाई थोरै मात्र प्राथमिकता दिने हो भने अमेरिकामा नेपालका अन्य उत्पादनको पनि बजार बढ्नेछ ।

अमेरिकामा सक्रिय नेपाली समुदायले नेपालमा उत्पादित बस्तुको बजार प्रबद्र्धनमा संस्थागत रुपमा पहल गर्ने हो भने त्यो साँच्चै देशभक्तिपूर्ण काम हुनेछ, जसले नेपालको ग्रामीण क्षेत्रको अर्थतन्त्रमा ठूलो टेवा दिनेछ ।

अमेरिकामा झण्डै तीन लाखको हाराहारीमा नेपाली रहेका र न्यूयोर्कमा मात्रै ३० हजार जति नेपाली रहेको अनुमान छ । त्यस्तै दुई दर्जन बढी नेपाली संघसंस्थाहरु पनि स्थापित छन् । यी सबैले नेपाली उत्पादनलाई प्रबद्र्धन गरे साँच्चै देशको माया देखिनेछ ।

फुटपाथ व्यापार

न्यूयोर्क शहरमा भीमकाय महलहरुमा ‘मल’ र मार्ट संचालित छन् भने फुटपाथ व्यापार पनि उत्तिकै देखिन्छ । तर, यसको आफ्नै नियम, कानुन, समय छ । तोकिएको स्थानमा तोकिएको शुल्क लिएर फुटपाथ मात्र होइन सडक किनारमा पनि व्यापार गर्न पाइन्छ ।

काठमाडौं लगायत देशका मुख्य शहरहरुमा फुटपाथ व्यापार हटाउने र उनीहरुलाई निश्चित स्थान तोकेर न्यूनतम कर लिएर व्यापार गर्न दिने हो भने यसले स्थानीय सरकार र उत्पादक दुबैको हितमा हुने देखिन्छ ।

व्यापारको नाममा जथाभावी सडक र सडक पेटी अतिक्रमण गर्नु गैरकानुनी हो । तर यसलाई निश्चित स्थान र समय तोकेर व्यापार गर्न दिन सकिने न्यूयोर्कले देखाएको छ ।

शहरी सभ्यता र सवारी व्यवस्थापन तथा नागरिक अधिकारमा अत्यन्त सचेत अमेरिकी सरकारले जनताको आवश्यकता अनुसार उनीहरुले गर्ने हरेक कानुनसम्मत गतिविधिलाई अनुशासनको दायरामा राखेर संचालनको अनुमति दिने र त्यसवापत शुल्क लिने प्रावधानलाई नेपालमा पनि अभ्यासमा ल्याउन सकिन्छ ।

विदेश भ्रमणका लागि अनेक जक्ति, शक्ति लगाउने राजनीतिक नेतृत्व, शासकवर्ग र प्रशासक तथा योजनाविद्हरुले आफूले भ्रमण गरेका देशहरुमा पनि यस्ता दृश्य देखेकै होलान् । तर, उनीहरु कहिल्यै विदेशमा आम जनताको सुविधाका लागि प्रयोगमा आएका यस्ता विषयहरुमा चासो नै दिंदैनन् । विडम्बनाको कुरा नै यही हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.