प्रबास

भर्जिनियामा जयदेव गौतमको ‘ती निला आँखा’ माथि चर्चा

अमेरिकामा बसेर साहित्य सिर्जनामा सक्रिय रहनुभएका पत्रकार जयदेव गौतमको दोस्रो निबन्ध संग्रह ‘ती निला आँखा’ माथि भर्जिनियामा परिचर्चा गरिएको छ ।

भर्जिनियाको फेयरफ्याक्स अवस्थित तन्दुरी रेस्टुरामा गत शनिबार अप्रिल २७ का दिन ‘ती निला आँखा’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको हो ।

२०२४ साल भदौको हरितालिका तीजका दिन पाल्पाको बगनासकाली गाउँपालिकामा रहेको दर्लमडाँडामा जन्मनुभएका गौतम ४०४० सालदेखि लेखनकार्यमा सरिक हुनुभएको र २०४७ सालदेखि पत्रकारितामा स्थायी रुपमा संलग्न हुनुभएको हो ।

लेखन तथा सम्पादनका क्रममा उहाँले अनुवाद, सम्पादन तथा यात्रालेखनजस्ता क्षेत्रमा पनि सक्रियतापूर्वक कलम चलाइरहनुभएको छ । परिचर्चाका लागि प्रस्तुत कृतिमाथि कवि तथा साहित्यकारहरु प्रेम सङ्ग्रौला, बसन्त श्रेष्ठ र कृष्ण धराबासीले समीक्षा गर्नुभयो ।

नेपालमा ‘नेपालीका रुपमा जीवित रहँदा’ को संस्मरण गर्दै समीक्षक प्रेम सङ्ग्रौलाले नेपालमा रहेका बेला आफूले पनि केही निबन्ध लेखेको जानकारी दिनुभयो । पाताल आएपछि आफूले कवितामात्र लेखेको बताउँदै उहाँले निबन्ध प्राय सबैले सोच्न सक्ने कल्पनशील विधा भए पनि थोरैले मात्र लेख्ने विधा भएको उल्लेख गर्नुभयो ।

कल्पनामा बुर्कुसी मार्न पाइने स्वतन्त्रता भएको विधा अर्थात् निर्बन्ध भएर लेख्न सकिने विधा भएकाले आफ्नो कल्पनशीलता र सिर्जनात्मक प्रस्तुतिलाई निचोरनाचोर पारेर पाठकलाई दिन सकिने विधा भए पनि धेरैलाई निबन्धलेखनको सीपगत अलमल हुने हुँदा कलम चलाउन अल्मलिने अनुभव उहाँले प्रस्तुत गर्नुभयो ।

ती निला आँखा निबन्धकृतिका केही निबन्धमा निबन्धकार विषयको सीमाभन्दा अलिक बढी बेगिएको हो कि भन्ने अनुभव आफूले गरेको बताउँदै सङ्ग्रौलाले प्रायः अधिकांश निबन्धले पाठकको रुचिमाथि न्याय गरेको भन्ने आफूलाई लागेको बताउनुभयो । मूल निबन्ध ‘ती निला आँखा’ भने प्रस्तुतिका हिसाबले निबन्धको भन्दा पनि उपन्यासको विषयवस्तु भएको भए यो बढी अर्थपूर्ण हुने आफूलाई लागेको बताउनुभयो ।

अर्का समीक्षक बसन्त श्रेष्ठले यो निबन्धकृति निबन्धकार गौतमको दोस्रो कृति भए पनि यसो भनेर स्वीकार गर्नु आधामात्र सत्य भएको उल्लेख गर्दै उहाँकी अर्धाङ्गिनी मञ्जु थापा उहाँको सफलताका लागि थप आधा सत्य भएको बताउनुभयो । उहाँले व्यक्तित्व, जीवन र प्रकृतिमाथिका विषयवस्तुलाई समेटेर तयार भएका २१ निबन्धकृतिमा निबन्धका फरक शैली रहेको बताउनुभयो ।

नेपाली साहित्यका कतिपय लेखकले आफूले लेखेका कृतिको विधा नै थाहा नभई सो विधाको कृति भनेर पाठकलाई लेखनी र प्रस्तुत विषयवस्तु दुवै दृष्टिबाट भ्रम पारेको सन्दर्भमा यो कृति एक परिपक्व र प्रस्ट कृतिका रुपमा पाठकमाझ आएको समीक्षक श्रेष्ठले बताउनुभयो । समकालीन प्रकाशित निबन्धकृतिको सूचीमा यो एक उत्कृष्ट निबन्धका रुपमा पठनीय अनि सङ्ग्रहणीय कृतिका भएको उहाँले बताउनुभयो

आख्यानकार कृष्ण धराबासीले शम्भुप्रसाद ढुङ्गेल रचित नेपाली साहित्यको पहिलो निबन्ध ‘महेन्द्रमल्ली’ को प्रसङ्गबाट प्रस्तुत निबन्धकृतिमाथि चर्चा प्रारम्भ गर्नुभयो । जयदेव गौतमको यस निबन्धकृतिमा काव्यात्मकता वा पोथी गद्यशैलीको कमी छ तर यो कृतिमा लेखकीय सुन्दरता हुनुका साथै लेखनमा सशक्तता छ, विषयवस्तुमाथिको लेखकीय प्रक्षेपण दरिलो रहेको छ भन्नुभयो ।

परिचर्चा कार्यक्रममा प्रा. डा.गोपी उप्रेती, एएनएका अध्यक्ष खगेन्द्र अधिकारी, शिव लामिछाने, नारायण अधिकारी, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, लोक गायक रामप्रसाद खनाल, डा. कविता घिमिरे, डा. प्रदिप भट्टराई, प्रतिमा भट्टराई, नेत्र भुसाल, अध्यात्मिक गुरुमा राधिका भट्टराई, भलिबलका प्रख्यात खेलाडी सुनिल चौधरी, लेखक डिग बहादुर तामांग, लेखनाथ भण्डारी, नेपाल सहयोगी समाजका पूर्व अध्यक्ष कमल भट्टराई, गुणराज लुइँटेल, राधिका भट्टराई, मञ्जु सङ्गौलाले निबन्धकारलाई बधाई र सिर्जनशील आगतका लागि शुभकामना व्यक्त गर्नुभयो ।

‘ती निला आँखा’ निबन्धकृतिमाथिको परिचर्चा कार्यक्रम सांग्रीला डायलग नामक संस्थाले आयोजना गरेको हो जसका अध्यय एवं साहित्यकार सीता पाण्डे आजको कार्यक्रममा सभापति हुनुहुन्थ्यो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका महासचिव प्रकाश नेपालले सञ्चालन गर्नुभएको सो कार्यक्रमका सहभागीलाई निबन्धकारकी अर्धाङ्गिनी एवं साहित्यकार मञ्जु थापा गौतमले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.