विश्व समाचार

विश्वभर दुईलाख ४४ हजारको मृत्यु, एकै दिन ५ हजार दुई सयको ज्यान गयो, युरोपमा लकडाउन खुुकुलो गर्न दवाव

विश्वव्यापी महामारी फैलाइरहेको कोरोना भाइरस संक्रमणका कारण आइतबार सम्म २ लाख ४४ हजार जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३४ लाख ८१ हजार नाघेको छ ।  पछिल्लो २४ घण्टामा मात्र ५ हजार २ सय १५ जनाको ज्यान गएको छ ।

यो अहिलेसम्म एकैदिनमा मृत्यु भएको धेरै मध्येको हो । अमेरिकामा मात्र १ हजार ६९१ जनाको मृत्यु भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा पछिल्लो अपडेट अनुसार महादेशीय हिसाबमा युरोपमा सबैभन्दा बढी संक्रमित र मृत्यु भएको छ । कुल ३४ लाख ८१ हजार ३ सय ४९ संक्रमितमा युरापमा मात्रै १४ लाख २४ हजार ३ सय ६४ रहेका छन् भने १ दाख ३९ हजार ४ सय ९३ को मृत्यु र ५ लाख ३५ हजार ७ सय १६ जना निको भएर घर फर्केका छन् ।

त्यसपछि उत्तर अमेरिकामा १२ लाख ६० हजार ६ सय १५ संक्रमितमा ७३ हजार ८सय ८० मृत्यु र २ लाख १५ हजार ३ सय ४ निको भएका छन् भने कोरोनाको उद्गम एसियामा ५ लाख ४७ हजार ३ सय ९३ संक्रमित छन् भने २ लाख ८४ हजार ६ सय ८२ जना निको भएका र १९ हजार ३ सय ५१ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकामा २ लाख ५ सय ६९ संक्रमित ६९ हजार ६८ निको भएका र १० हजार २ सय ५९ मृत्यु भएको छ। त्यस्तै अफ्रिकामा ४३ हजार ७ सय ३५ संक्रमित, १६ हजार ६ सय ९८ निको भएका र १ हजार ७ सय ६३ जनाको मृत्यु भएको छ भने ओसेनिया (अस्ट्रेलिया)मा ८ हजार ३ सय ८८ संक्रमित, ७ हजार १ सय ६२ निको र १ सय १५ जनाको मृत्यु भएको छ ।

युरोप तथा अमेरिकामा लकडाउन खुकुलो पार्न दवाव

विश्वमा सबैभन्दा बढी संक्रमित रहेको युरोपमा तथा अमेरिकामा नागरिकहरुले लक डाउन खुकुलो पार्न दवाव दिन थालेका छन् । कोरोनाभाइरसको महामारीको खतरा केही मत्थर भएको जनाउँदै युरोपेली मुलुकहरुले हाल जारी गरिएका कडा प्रतिबन्धलाई केही खुकुलो बनाउने योजना आइतबार अघि सारेका छन् ।

सरकारले प्रतिबन्धलाई खुकुलो बनाउने जनाएलगत्तै ४८ दिनदेखि कैदीझैं घरभित्र बस्न बाध्य स्पेनी नागरिकहरु पहिलोपल्ट जगिङ गर्न, साइकल कुदाउन र रोलरस्केटमा हुँइकिन सडकमा देखिएका छन् । युरोप र संयुक्तराज्य अमेरिकाका केही भागमा प्रतिबन्धहरु खुकुलो बनाउन थालिएको छ ।

कोरोनाभाइरसको संक्रमण रोक्न विश्वको आधाभन्दा बढी जनसंख्यालाई लकडाउनमा राखिएको छ भने विश्व अर्थतन्त्रमा व्यापक मन्दी छाएको छ ।

संक्रमणको फैलावट नियन्त्रणमा आएको संकेत देखिएसँगै युरोप र संयुक्तराज्य अमेरिकामा केही सातादेखि बन्द रहेका उद्योग व्यवसाय खोल्न थालिएको छ । लकडाउनमा बन्धकझैं जीवन बिताउनु परेका मानिसले जनजीवन खुकुलो बनाउन दिनहुँ दबाब दिएपछि सरकारहरुले पनि बैकल्पिक सोच अघि सारेका छन् ।

विश्वमै कोरोनाभाइरसका कारण ठूलो संख्यामा नागरिक गुमाएको इटालीमा दुई महिनाको लकडाउनपछि सोमबार मानिसहरूलाई पार्कमा घुम्न र आफन्तहरूलाई भेट्न अनुमति दिइने छ । रेस्टुरेन्टबाट खानेकुरा किनेर लैजान पाइने छ भने ठूला होलसेल स्टोरहरूले व्यवसाय पुनः सुरु गर्न सक्नेछन् ।

हंगेरीमा केही स्टोरहरू र संग्रहालयहरू, रेस्टुरेन्ट र होटलहरूको बाहिरी ठाउँ, समुद्र तट र नुहाउने ठाउँ सोमबारदेखि पुनः खोल्न पाइने छ । तर राजधानी बुडापेस्टमा प्रतिबन्धहरु यथावत रहनेछ किनभने यहाँ देशभित्र कोरोना संक्रमितको कूल संख्याको झण्डै ७० प्रतिशत घटनाहरू रेकर्ड गरिएको छ ।

जर्मनीमा पनि यस साताको शुरुदेखि नै लकडाउनलाई अझ खुकुलो पारिँदैछ । केही क्षेत्रका स्कूलहरू फेरि खोल्ने अपेक्षा गरिएको छ भने स्लोभेनिया र पोल्याण्डमा केही व्यवसाय र सार्वजनिक ठाउँहरूमा मानिसलाई जमघट हुन दिइने छ ।

फ्रान्सले आगामी मे ११ पछि आंशिक रूपमा आफ्नो लकडाउन खुकुलो बनाउने जनाएको छ ।

स्वास्थ्य विशेषज्ञहरूले सामान्य लापरवाहीले पनि यो रोग पुनः फैलिने खतरा औंल्याएसँगै युरोपेली सरकारहरुले सामाजिक दूरीलाई कडाईका साथ पालना गर्ने, मास्कको प्रयोग अनिवार्य गर्ने तथा बढीभन्दा बढी परीक्षण गर्नेमा जोड दिएका छन् ।

इटालीका आपतकालीन सेवाका कर्मचारी डोमेनिको आर्कुरीले “हामीले सामाजिक दूरी कायम गर्नुपर्छ, स्वच्छताको स्तर कायम गर्नुपर्छ, र मास्कको प्रयोग बढाउनु पर्छ” भन्नुभयो ।

चिन्ताका बाबजुद शनिबार स्पेनमा लकडाउन खुकुलो पारिएसँगै मानिसहरुमा खुशी छाएको थियो । सात हप्तादेखि सरकारले लगाएको कडा प्रतिबन्धका कारण घरभित्रै बस्न बाध्य नागरिकहरु व्यायाम गर्न र स्वतन्त्र रुपमा हिँडडुल गर्न पाउँदा खुशीले रमाएका थिए । कोरोनाभाइरसकै कारण स्पेनमा २५ हजारभन्दा बढी नागरिकको ज्यान गएको थियो ।

उता, संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसका कारण लकडाउनमा बस्न विवश नागरिकहरुले नेताहरुमाथि जनजीवनलाई सहज तुल्याउन दबाब दिइरहेका छन् । अमेरिकामा उद्योग व्यवसाय बन्द हुँदा करोडौं मानिस बेरोजगार भएका छन् भने लकडाउनको विरोधमा प्रदर्शनहरु भइरहेका छन् ।

हतियार सहितका केही प्रदर्शनकारीको भीडले न्यु ह्याम्पशायर र केन्टकीमा लकडाउन विरुद्ध चर्काे विरोध प्रदर्शन गरेको छ जबकि क्यालिफोर्नियाको हन्टिङ्टनको समुद्री बीचमा केही सर्फरहरूले स्थानीय सुरक्षाकर्मीको आदेशको समेत बेवास्ता गरेका थिए ।

“सर्फिङ यहाँको अत्यावश्यक व्यवसाय हो” २५ वर्षे टोडले एएफपीलाई बताए ।

संयुक्तराज्य अमेरिकामा विश्वमा सबैभन्दा बढी कोरोनाभाइरसका कारण मानिसको मृत्यु भएको छ र राष्ट्रपति डोनाल्ड ट्रम्प आर्थिक पीडा कम गर्न निकै उत्सुक देखिनु भएको छ ।

अमेरिकाका कतिपय क्षेत्रमा महामारीको असर कम हुँदै गएको देखिएको छ । न्यूयोर्कस्थित सेन्ट्रल पार्कमा निर्माण गरिएको आपतकालीन फिल्ड (अस्थायी) अस्पताल बन्द गर्न लागिएको छ ।

अमेरिकाका जेलमा संक्रमणको ठूलो लहर देखा परेको अधिकारीहरुले बताएका छन् । अमेरिकी कारागारमा हाल २३ लाख कैदीबन्दी छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.