बिचार

कोरोनाले दिएको अवसर- “छोडौं वैदेशिक रोजगारी सम्हालौं आफ्नै खेतबारी”

सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा छ । अबको बजेट परम्परागत र निर्वाहमुखी नभएर अग्रगामी छलाङ मार्ने हुनुपर्छ र त्यो छलाङ वैदेशिक रोजगारीको विकल्प मात्र हुनेछ किनभने कोरोना संक्रमणको महामारीले वैदेशिक रोजगारी धरापमा पर्ने लगभग निश्चित छ । नेपालका ४० लाख युवा वैदेशिक रोजगारीमा रहेको सन्दर्भमा त्यसको सामना गर्ने र मुलुकलाई आर्थिक रुपमा संकटग्रस्त हुनबाट बचाउने योजना बजेटले समेट्नु पर्दछ ।

विश्व अर्थतन्त्र तहसनहस पार्ने गरी फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले नेपाल जस्तो वैदेशिक रोजगारीले आयात धानेर चलिरहेको मुलुकका लागि नयाँ अवसरको रुपमा लिंदै कृषिमा युवाहरुलाई आकर्षित गर्ने प्याकेज ल्याउने पर्दछ । युवाहरु आफ्नो खेतबारी बन्धक राखेर विदेश जाने र त्यहीबाट आएको रकमले केही सुख पाएको अनुभूति गर्ने त्याग्नुपर्छ । अब वैदेशिक रोजगारी कि आफुनै खेतबारी भन्ने विकल्प उपस्थिति भएको छ ।

यसका लागि सरकारले स्पष्ट रणनीति बनाएर विदेशमा कमाएको ५० हजारभन्दा स्वदेशको २० हजार धेरै मूल्यवान हुन्छ भन्ने मान्यता स्थापित गराउनुपर्छ । वैदेशिक रोजगारीबाट भित्रिएको रकमले आयात धानिरहेको नेपालका लागि अब कृषि उत्पादन बढाउनुको विकल्प छैन । यसका लागि सोही अनुसारको रणनीति अहिले नै बनाउनु आवश्यक छ । कोरोना भाइरसको कहरले अझै कति वर्षसम्म विश्व अर्थतन्त्रलाई यसअघिको अवस्थामा पुग्न अबरोध गरिरहनेछ ? पत्तो छैन ।

निकट भविष्यमै आयातमा धानिएको अर्थतन्त्रको एउटा ठूलो हिस्सा बनेको वैदेशिक रोजगारी मात्रै धरापमा पर्ने छैन कि विदेशमा अध्ययन गर्न जाने ठूलो हिस्सा पनि समस्यामा परिसकेको छ । केही समयका लागि कलेज शुल्क तिरेर त्यसपछि स्वआर्जन गर्दै पढ्दै गरेकाहरुको रोजगारी गुम्ने अवस्था छ । विशेष गरी सानातिना रेष्टुरेन्ट तथा पसलहरुमा काम गरेर अध्ययनलाई निरन्तरता दिएकाहरुका लागि भावी दिन अति कष्टपूर्ण हुनेछ । त्यस्तै वैदेशिक रोजगारीमै भएकाहरु पनि अलपत्र पर्ने अवस्था आएको छ । यस्तोमा सरकारले वैदेशिक रोजगारीको साटो आफ्नै खेतबारी सम्हाल्ने नीतिगत निर्णय गराएर दिनुपर्ने सबै सुविधाको घोषणा गर्न ढिला गर्नु हुन्छ ।

नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुक जसको बजेटको ठूलो हिस्सा वैदेशिक सहायता तथा अनुदानमा चल्छ अनि खाद्यान्न समेत आयात गर्नुपर्ने बाध्यता रहेको स्थितिमा अब देशले कम्तिमा खाद्यान्नमा आत्मनिर्भर हुने बाटो अवलम्बन गर्नैपर्छ । जुन मुलुक खाद्यान्नमा आत्मनिर्भर छ त्यो मुलुक विश्वव्यापी आर्थिक संकटका बेला पनि सहज रुपमा टिक्न सक्छ । त्यसैले पनि कोरोना संक्रमणको महामारीलाई नेपालले आत्मनिर्भर बन्ने अवसरका लिनुपर्दछ ।

अहिले झण्डै आधाजस्तो कृषियोग्य भूमि बाँझो छ । केही समयअघि सार्वजनिक गरिएको तथ्यांक अनुसार कूल कृषियोग्य भूमिका ४० प्रतिशतको हाराहारीमा बाँझो रहेको छ । यी भूमिमा उब्जाउ गर्ने हो भने मुलुकको वार्षिक ३ खर्बभन्दा बढी रुपैयाँ विदेश जानबाट बच्ने मात्र छैन, आम जनताले सस्तोमा खाद्यान्न पाउनेछन् । त्यस्तै नेपालको व्यापार घाटाको ठूलो हिस्सा कम हुनेछ । यसका लागि सरकारले स्पष्ट योजना बनाउनु पर्दछ । किनभने अहिले पनि स्वदेशी उत्पादन कुहिएर जाने भारतबाट निर्वाह भित्रिने गरिरहेको छ । यसको अन्त्यका लागि सरकारले केही प्रभावकारी कदम चाल्नैपर्छ ।

सर्वप्रथम कृषिमा लाग्न चाहने युवालाई सरकारले प्रोत्साहन स्वरुप न्यून ब्याजमा विना धितो पनि ऋण दिने नीति ल्याउनु पर्दछ । यसो गर्दा आफ्नो जमीन नभएकाहरुले पनि अरुको जमिन भाडामा लिएरै कृषिकर्म गर्न सक्छन् । अर्को महत्वपूर्ण काम भनेको बजार व्यवस्थापन हो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिंदै सरकारले सहकारीमार्फत वा अन्य च्यानलबाट किसानको उत्पादन खरीद गर्ने प्रावधान राख्नुपर्छ । विशेष गरी तरकारी, फलफूल तथा दुध सरकारले नै खरीद गरी आम उपभोक्तासम्म पु¥याउने बन्दोबस्त गर्ने हो भने किसानदेखि उपभोक्तासम्म बिचौलियाको मारमा नपर्ने र उनीहरुको मेहेनतको उचित मूल्य पाउनेछन् ।

यी सबै किन भनिएको भने हरेक विपत्ति एउटा अवसरका रुपमा आउँछ । नेपाललाई अहिले वैदेशिक रोजगारीको विकल्प आफ्नै खेतबारी बनाउने अवसर छ र यसको उपयोग नै नेपालको दीर्घकालीन आर्थिक रणनीति हो । यसका लागि किसानलाई प्रोत्साहनदेखि बजारसम्मको जिम्मा सरकारले लिनैपर्छ । अहिले तरकारीमा ठूलो कार्टेलिङ छ । किसानको खेतबाट २० रुपियाँमा खरीद गरिएको कुनै तरकारी उपभोक्तासम्म पुग्दा ६० रुपियाँ पुग्छ । ४० रुपियाँ बिचौलियाको हातमा जान्छ भने मेहेनत गर्ने किसान सावा उठाउन पनि असमर्थ हुन्छन् । यस्तो स्थितिको अन्त्य नभैकन युवाहरु कृषिकर्ममा लाग्दै लाग्दैनन् ।

यसर्थ कोरोनाले निम्त्याएको विपत्तिलाई आर्थिक रुपान्तरणका अवसरका रुपमा लिएर हामीले नीति निर्माण गर्ने हो भने यसले प्राकृतिकदेखि मानवीय रुपमै उजाड बनेका गाउँघरमा हरियाली छाउने छ । अनि संगसंगै गाउँघरको रौनक दशकौं अघिकै जस्तो हुनेछ, जहाँ रोदी, मारुनी पुनः घन्किनेछन् । सत्यनाराणको पूजामा रातभर भजन–किर्तन हुनेछन्– जुन अहिले हराएको छ । किनभने गाउँघरमा युवा नै छैनन्, जन्ति र मलामी समेत वृद्धवृद्धा, महिला र बालबालिका मात्रै जानुपर्ने स्थिति छ । कोरोना संक्रमणको महामारीले हराउँदै गएको नेपाली मौलिक संस्कृत पुनःजागृत हुनेछ । डाँडाकाँडामा हरियाली छाउनेछ, देशले आर्थिक समृद्धिमा फड्को मार्नेछ ।

कृषिप्रधान मुलुक नेपालको केही दशक अघिसम्मको खाद्यान्न निर्यात गर्ने मुलुकको छवी पुनः स्थापित हुनेछ । यसका लागि संघीयदेखि स्थानीय सरकारसम्मले प्रभावकारी नीति लिनुपर्छ । कृषिभूमिलाई जोगाउने रणनीति बनाउनुपर्छ । अहिलेको समस्या के हो भने गाउँघरका खेतीयोग्य जमिन चाहे त्यो पहाड होस् वा तराईका फाँट हुन् डोजर कुदेका छन्, प्लटिङ गरिएका छन्, मासिएका छन् । यसलाई तुरुन्तै रोक्न सकिएन भने भोलिका दिनमा आफ्ना युवालाई रोजगारी दिने भूमि पनि अभाव हुने स्थिति आउन सक्छ । यो अहिलेको सर्वाधिक महत्वपूर्ण पाटो बनेको छ । युवालाई कृषिमा लगाउन प्रोत्साहन गर्नेदेखि कृषियोग्य जमिन जोगाउनेसम्मको कार्य तत्काल गर्न सकियो भने कोरोनाको विपत्तिले नेपालका समृद्धिमा नै साथ दिनेछ । यो एउटा अभूतपूर्व अवसर हुनेछ ।

किनभने २०७२ सालको भूमकम्पको विनाशपछिको समयलाई हामीले अवसरका रुपमा लिनै नसकेको वास्तविकता बुझेर त्योभन्दा सयौं गुणा डरलाग्दो विपत्ति ल्याइरहेको कोरोनाले ल्याउने विपत्तिको सामना गर्न मात्र हैन मुलुकलाई आत्मनिर्भर बनाउन पनि अब कृषिलाई कागजी घोडा बनाएर हैन खेतबारीमा हलो चलाएरै अघि बढाउने रणनीति आवश्यक छ । यो नै समयले दिएको अभूतपूर्व अवसर हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.